७ वैशाख २०८१ शुक्रबार
कला

हिमालय कला महोत्सव सुरु

काठमाडौं – काठमाडौं बबरमहस्थित नेपाल आर्ट काउन्सिलमा पाँच दिने हिमालय कला महोत्सव सुरु भएको छ। आइतबारदेखि सुरु भएको कला महोत्सवमा चित्रकला, मूर्तिकला, फोटोग्राफी र मिक्समिडियालगायतका नेपाली चित्रकला राखिएका छन्।

महोत्सवमा एक सय ५० जना कलाकारका दुई सय हाराहारीका कलाकृतिहरु प्रदर्शनीमा समेटिएका छन्। पाँच दिनसम्म चल्ने महोत्सवमा कला प्रदर्शनीसँगै म्युजिकल कार्यक्रम, आर्टसम्बन्धी अन्तक्र्रियालगायत कार्यक्रमलाई समेटिएको आयोजक आशा डंगोलले बताए। ‘नेपाली कलाको प्रवद्र्धन गर्न यो महोत्सवको आयोजना गरेका हौं। दसैंअगाडि कलामाथि बहस गराउन महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्नेमा आशावादी छौं,’ उनले भने।

उनले बनाएको ‘द वर्थफुल हिमालयन’ नामक चित्रकलामा हिमालको आवेगलाई प्रस्तुत गरिएको छ। अर्को ‘नयाँ सुरुवात’ नामक चित्रकलामा विनासकारी भूकम्पपछिको अवस्थाको चित्रण गरिएको छ। प्रदर्शनीमा राखिएको चित्रकार एरिना ताम्राकारको ‘थर्ड आइ’ नामक चित्रकलामा महिलाको विषयवस्तुलाई प्राथमिकता दिइएको छ। महिला शक्तिको विषयलाई उजागर गरिएको चित्रकलाबारे बोल्दै चित्रकार ताम्राकारले भनिन्, ‘पुरुषको तुलनामा महिलाले भोग्नुपर्ने पीडा र वेदना धेरै हुन्छन्। भगवानको तेस्रो आँखा र शक्ति महिलाको लागि आवश्यक छ।’

चित्रकार जस्मिन राजभण्डारीको ‘ओन म्यान सप’ नामक नामक चित्रकलामा विभिन्न हरियाली तरकारीलाई चित्रण गरिएको छ। चित्रकार समुन्द्रसिंह श्रेष्ठले चित्रकलामा भने गौतम बुद्धको कलाकृति समावेश गरिएको छ। चित्रकार सुष्मा शाक्यले प्रिन्ट मेकिङको माध्यमबाट आफ्नो कलामा मानिसको जीवनमा नभई नहुने पञ्चतत्वलाई समेटेकी छन्। विभिन्न आकृतिलाई प्रिन्टमार्फत प्रस्तुत गरेकी शाक्य भन्छिन्, ‘पञ्चतत्वको सन्तुलन भएको खण्डमा हाम्रो जीवन राम्रोसँग अगाडि बढ्न सक्छ। जीवन सफल हुन सक्छ।’ चित्रकार आशेष डंगोलको कलामा भने हाम्रो नेपाली समाजका ढुङ्गा र माटोमार्फत बनेका पुराना पुराना घरहरु देख्न सकिन्छ। ‘ड्रिम रियालिटी’ शिर्षक राखेर प्रदर्शन गरिएको उनको कलामा नेपाली संस्कृति र ग्रामिण समुदायको रहनसहनलाई पाउन सकिन्छ।

नेपाली समाजको परिवर्तन र आधुनिकतामाथि व्यंग्य गर्दै चित्रकार पृथ्वी श्रेष्ठले ‘फिदर’ नामक कलालाई प्रदर्शनमा समेटेका छन्। समय परिवर्तनको विषयलाई उड्दै गरेको चरामार्फत देखाइएको सो कलाबारे चित्रकार श्रेष्ठ भन्छन्, ‘हामीले बच्चादेखि लगाउँदै आएका चिजविजहरु अहिले पाइँदैन। समयअनुसार समाज परिवर्तन भयो। तर, हाम्रा बालापनको चिजविजहरु सबै दिमागमा कायम छन्, समाजमा पाइँदैन।’ महोत्सव आगामी असोज १६ सम्म चल्नेछ।

प्रकाशित: १४ आश्विन २०७६ ०१:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App