८ वैशाख २०८१ शनिबार
समाज

उजाडिँदै शान्ति बगैंचा

अर्घाखाँची– हरियाली बगैंचामा चराचुरुंगीको चिर्बिर । छेवैमा शिवालय मन्दिर । साथीभाइ र चिनजानका भेटिएर भलाकुसारी गर्ने शीतल छहारी । अनि, काठमाडौं जाने हरेक यात्रुले शीतल हावा खाँदै बस कुर्ने थलो ।

सदरमुकाम सन्धिखर्कस्थित शान्ति बगैंचा कुनै बेला बखान गर्न लायक थियो । सुन्दै मनमोहक र लोभलाग्दो बगैंचा पछिल्लो समय हेरचाह नपाउँदा फोहोर र उजाड बन्दै गएको छ । सन्धिखर्क प्रवेश गर्ने मूलद्वारका रूपमा परिचित यो उद्यान कुरूप बनेसँगै बजार घुम्न आउनेहरुलाई आराम स्थानको समेत अभाव हुन थालेको छ ।

‘आफ्ना वंशले भुरे राजाका पालामा स्थापना गरेको बताउँदै यहाँका कुमाल र मुखिया जातिले स्थानीय स्तरबाटै बगैंचा सुधार्ने माग राखेका छन्’

बगैंचा हेरचाह गर्ने जिम्मा सन्धिखर्क नगरपालिकाले लिएको छ । तर नगरपालिकाले बगैंचा संरक्षणमा कुनै चासो दिएको छैन ।

सन्धिखर्क नगरपालिका कार्यकारी अधिकृत रामजी जोशी स्थानीयले विरोध गरेका कारण नगरपालिकाले बगैंचाको स्याहार–सम्भार गर्न नसकेको बताउँछन् ।

‘आफ्ना वंशले भुरे राजाका पालामा स्थापना गरेको भन्दै यहाँका कुमाल र मुखिया जातिले स्थानीय स्तरबाटै बगैंचा सुर्धाने माग राखेका छन्, त्यसैले नगरपालिकाले बगैंचा संरक्षणका लागि कुनै योजना नबनाएको हो,’ उनले भने ।

गत वर्ष बगैंचा सुधार गर्न नगरपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको नेपाली कांगे्रसका जिल्ला नेता तथा महासमिति सदस्य वासुदेव आचार्य बताउँछन् । ‘विनियोजित रकम नगरपालिकाले केमा खर्च भयो भनेर खुलाएको छैन, हामीले त्यसबारे सम्पूर्ण विवरण मागेका छौं ।’

विनियोजित रकममध्ये केही रकम बगैंचामा नयाँ बिरुवा रोप्नमा खर्च भएको र बाँकी फ्रिज भएको अधिकृत जोशी बताउँछन् । तर, अहिले बगैंचामा नयाँ बिरुवा देखिँदैनन् । भएका पुराना रूख पनि संरक्षण अभावमा सुक्ने र ढल्ने अवस्थामा छन्  । बगैंचाको रेखदेख गर्ने निकायले चासो नदिएसँगै अहिले बगैंचा बीचबाट पैदलयात्रु हिँडडुल गर्न थालेका छन्, कतिले दिसापिसाब गर्छन् ।

बगैंचाभित्र ०३९ सालका सहिद विद्यार्थी नेता टंकप्रसाद भुसालको सालिक राखिएको छ, तर अहिले जीर्ण अवस्थामा छ । बगैंचाभित्र कार्यक्रम गर्ने दुई मञ्च पनि छन् । ती मञ्च पनि जीर्ण बन्दै गएका छन् । विगतमा जिल्लाका राजनीतिक नेताले यिनै मञ्चमा आमसभा गर्दै राजनीतिक क्रान्ति हासिल गरे । अहिले बगैंचा उजाड बन्दै जाँदा भने उनीहरूले संरक्षणमा कुनै चासो दिएका छैनन् ।

जीर्ण भएको भन्दै जिविस र राजनीतिक दलका नेताले अहिले मञ्चमा कार्यक्रम गर्न प्रतिबन्ध लगाएका छन् ।

‘शान्ति बगैंचा जिल्लाको धरोहर हो,’ कागे्रस नेता आचार्यले भने, ‘सबैले बगैंचाको प्रयोग मात्र गरे, तर यसको स्याहारसुसार गर्ने कोही भएन ।’

यो बगैंचालाई अर्घाखाँचीकोे चिनारीका रूपमा पनि लिइन्छ । जिल्लाको धरोहर जीर्ण बन्दै जाँदा जिल्लाको गरिमा नै गुम्न सक्ने बताउँछन्, चुत्राबेंसीका युवा विद्यार्थी नरेन्द्र चुदाली ।

उनी भन्छन्, ‘सन्धिखर्क नगरपालिकाको मुटुमै रहेको बगैंचा एकाएक उजाडिनु नगरपालिकाको बेवास्ता हो । यो बगैंचालाई संरक्षण गरेर पुरानै अवस्थामा फर्काउने हो भने पर्यटकीय रूपमा पनि फाइदा पुग्नेछ ।’
स्थानीयले बगैंचाको रातोमाटो समेत खनेर लैजान थालेका छन् । रातोमाटो निकालेपछि रूखका जरा बाहिरै देखिन थालेका छन् । सन्धिखर्कका विष्णु तिवारी सरोकार निकायले बगैंचा जोगाउनतर्फ ध्यान नदिएको गुनासो गर्छन् । उनी भन्छन्, ‘हामीले बगैंचा संरक्षणका लागि जिविस र नगरपालिकालाई बारम्बार घचघच्याउँदै आएका छौं, तर सम्बन्धित निकायले वास्तै गरेन ।’

प्रकाशित: १० मंसिर २०७३ ०६:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App