६ वैशाख २०८१ बिहीबार
अर्थ

चीन निर्यात गर्न २५ प्रकारका कृषिजन्य सामग्री सिफारिस

रसुवा – नेपालमा उत्पादन हुने कृषिजन्य सामग्री चीन निर्यातका लागि प्रक्रिया अगाडि बढाइएको छ। रसुवागढी नाकाबाट कृषिजन्य सामग्री निर्यात गर्न प्लान्ट क्वारेन्टिन कार्यालय रसुवाले २५ प्रकारका सामग्री सिफारिस गरेर कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा पठाएको छ।

यसअघि मन्त्रालयसँगको समन्वयमा कार्यालयले ५२ प्रकारका सामग्रीको विवरण तयार पारेर पहल थालेको थियो। यसमा चिनियाँ पक्षले घटाउन आग्रह गरेपछि २५ मा सीमित गरिएको हो। चिनियाँ पक्षले पठाएको विवरणमा भने रक्तचन्दन तथा कस्तुरीसमेत रहेको थियो। तर, नेपालमा यसको बिक्री वितरण अवैध मानिन्छ।

कार्यालयले सिफारिस गरेका कृषि सामग्रीमा आँप, अकबरे खुर्सानी, अनार, अलैंची, बन्दा, बेसार, भन्टा, भिन्डी, भुइँकटर, चुकन्दर, धनिया, गाँजर, गोलभेंडा, हरियो मकै, करेला, केरा, खर्बुजा/तर्बुजा, सुकेको खुर्सानी, लप्सी, लिची, मेवा, रुखकटर, स्कुस, सुपारी र टिमुर रहेको छ।

दैनिकरूपमा सयौंका संख्यामा मालबाहक गाडीहरू सामग्री लिनका लागि सीमा क्षेत्रमा खाली नै जाने गरेको छ। यहाँबाट कृषि उपज निर्यात गर्न सक्षम भएमा समग्र राज्यको ढुकुटीलाई फाइदा पुग्ने वरिष्ठ बाली संरक्षण अधिकृत तथा कार्यालय प्रमुख कुलदीप घिमिरेले बताए।

चीनमा नेपाली उत्पादनको माग भएको र मूल्यसमेत उच्च भएको कार्यालयले जनाएको छ। यहाँ उत्पादित कृषि उपज निर्यात गर्न सकिए कृषक तथा व्यापारीलाई उल्लेख्य फाइदा हुने उनको भनाइ छ।

पशुको आहारामा प्रयोग हुने छ्वाली, पराल, उखुको बागासे, सुख्खा घाँसजस्ता वस्तुको चीनमा उच्च माग छ। यसकारण यहाँ उत्पादित सामग्री त्यहाँ नियमित रूपमा निर्यात गर्न सकिने सम्भावना छ। नेपाली उत्पादन चिनियाँ बजारमा पठाउन सकिए यहाँ खेर जाने वस्तुको सदुपयोग हुने देखिन्छ।

‘कृषि उपजको निकासी नभई यहाँका कृषक र देशको कल्याण छैन, उनले भने, ‘यसका लागि उत्पादन प्रतिस्पर्धी बनाउनु पर्छ। साथै विभिन्न निकायले यसमा सहयोग गर्नुपर्छ,’ उनले थपे।

चीनबाट सामग्री आयात गर्दा बिरुवा स्वस्थताको प्रमाणपत्र (फाइटोस्यानेटरी सर्टिफिकेट) अनिवार्य गरिएको छ। रसुवागढी नाकाबाट कृषि तथा वनजन्य सामग्रीको आयात बढ्दै गएको भए पनि निर्यातमा भने सुधार हुन सकेको छैन।

नाकाबाट ०७१ देखि नियमित रूपमा कृषि तथा वनजन्य सामग्री निर्यात हुँदै आएको छ। रसुवागढी नाका हुँदै अम्रिसोको कुचो, काठको क्यारझुल, ह्यान्डिक्राफ्ट, काठका विविध सामग्री, बाँसको नाङ्लो, बुद्धचित्त माला र रुद्राक्ष निर्यात हुने गरेको छ।

प्रकाशित: १४ आश्विन २०७६ ०१:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App