coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

मंगलबारदेखि सवारीमा सिल नहुने

चीनको केरुङमा सिल लगाएर बसेका कन्टेनर। तस्बिर : नागरिक

रसुवा – चीनको केरुङमा मंगलबारदेखि रेडिमेड सामग्रीमा सिल नहुने भएको छ। चीनमा एक साता सार्वजनिक बिदा परेकाले सिल नहुने भएको हो। स्याउमा भने अक्टोबर ३ तारिखसम्म सिल हुनेछ। मंगलबारदेखि सवारी साधनमा सिल नहुने भएपछि त्यहाँ रहेका नेपाली घर फर्कन थालेका छन्। एक सातासम्म बिदा भएपछि काम नहुने र दसैं सुरु भएकाले व्यापारी तथा व्यवसायी घर फर्कन थालेका हुन्।

सोमबार करिब एक सय ३० वटा गाडीमा सिल लगाइएको छ। सिल भएका मालबाहक कन्टेनर नियमित रूपमा नेपाल आउने छन्। चिनियाँ भन्सार तथा अध्यागमन एक सातासम्म बन्द हुने भएकाले नेपाली घर फर्कन थालेको व्यवसायी पुरुषोत्तम पौडेलले बताए।

उनका अनुसार अब दसैं मानेर मात्रै नेपाली काममा फर्कने छन्। दसैंका लागि आवश्यक सामग्री लोड भइसकेकाले ती सामग्री नियमित रूपमा आउने उनको भनाइ छ। दसैं तथा तिहारका लागि राखिएकामध्ये ९५ प्रतिशत सामग्री लोड हुनुका साथै नेपालसमेत आइसकेका छन्।

चीनको केरुङमा २७ वटा गोदाम सञ्चालनमा छन्। त्यहाँ लाखेमा, मुसा, जय श्रीरामा, मनकामना, जिम्बाब, डाडो, काडु, साइनो नेपाल र जय लक्ष्मीलगायत ट्रान्सपोर्टका गोदाम छन्।

चीनको केरुङमा रहेका व्यापारी फर्कने क्रम सुरु भएको छ। दसैं मनाउन नेपाल फर्कन थालेपछि व्यापारिक कारोबारमा कमी आएको छ। रसुवागढी नाका हुँदै चीनबाट तयारी कपडा, स्याउ, लेडिज सेन्डल, रबर, प्लास्टिकका जुत्ता–चप्पल, हाते झोला, छालाको जुत्ता, मोटरको ब्याट्री, युपिएस, प्लास्टिकका सामग्री आयात हुने गरेको छ।

नेपालबाट धातुको मूर्ति, काठका सामग्री, अम्रिसोको कुचो, बाँसको मुडा, मेहन्दी, दन्तमन्जन, शृंगार सामान, चाउचाउ, पास्ता, जुस, जाम, चकलेट, उनीका गलैंचा, कार्पेट, चुइगम, हेयर आयल, हेयर क्रिमलगायत चीन निकासी हुन्छ।

२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक दुई सय ५० भन्दा बढी सवारीसाधन आवतजावत गर्ने गरेका छन्। चीनले अन्तर्राष्ट्रिय नाकाको रुपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको छ। रसुवागढी नाकाबाट चीनको केरुङ २४ किलोमिटर पर छ।

प्रकाशित: १४ आश्विन २०७६ ०१:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App