७ वैशाख २०८१ शुक्रबार
खेल

मनाङ टाइब्रेकरमा स्तब्ध

झापा- प्रतियोगिताकै बलियो मानिएको टोली लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दीलाई बिहीबार टाइब्रेकरमा ४–३ ले स्तब्ध पार्दै रुपन्देही–११ सहारा सुरुङ्गा गोल्डकप फुटबलको फाइनल पुगेको छ। रुपन्देहीले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरीको एपिएफ क्लबसँगप्रतिस्पर्धा गर्नेछ। एपिएफले पनि टाइब्रेकरमै विजय पाएको थियो।

बिहीबार पूरै खेल नियन्त्रणमा राखे पनि प्राप्त अवसर उपयोग गर्न नसक्नु अनि पेनाल्टी सुटआउटमा भरपर्दा खेलाडीको प्रहार विफल हुनु मनाङले नतिजा रुपन्देहीलाई सुम्पने मुख्य कारण बन्यो।

मलेसियामा नेपाललाई एएफसी सोलिडारिटी कपको उपाधि दिलाउन निर्णायक भूमिका निर्वाह गरेका मनाङका सुजल श्रेष्ठको पेनाल्टी गोलमा परिणत हुन सकेन। पेनाल्टी प्रायोजनकै लागि अन्त्य समयतिर  मैदान पठाइएका निराजन मल्ल पनि चुके। दुई महŒवपूर्ण खेलाडीको पेनाल्टी चुक्नु नै मनाङउपाधि यात्राबाट विमुख बन्ने कारण बन्यो।

राजधानीका कहलिएका टोलीहरूको दबदबा रहेको प्रतियोगितामा रुपन्देही मोफसलकोसफल टोली दरिएको छ। प्रतियोगितामा सहभागी ८ मध्ये मोफसलबाट झापाका दुई र रुपन्देही गरी तीन टोलीमात्रै सहभागी थिए।

निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि सोझै टाइब्रेकरमार्फत नतिजा खोजिएको थियो। सोलिडारिटी कपको सेमिफाइनलमा लाओस खेलाडीको दुई सुरुआती प्रहार बचाएर नेपाललाई फाइनल पुर्‍याएका भरपर्दा गोलरक्षक किरण चेम्जोङले रुपन्देहीको पहिलो प्रहार विफल तुल्याएर मनाङलाई उत्साही पारेका थिए।

रुपन्देहीका विजय धिमालको प्रहार किरणले बचाए। त्यसपछिभने कुनै चमत्कार गर्न सकेनन्। रुपन्देहीका चारवटै प्रहार गोलमा परिणत भयो।  रुपन्देहीकालागि विक्रम लामा, रजिन धिमाल, विमल घर्तीमगर र गोलरक्षक  दिलीप क्षेत्रीको प्रहार गोलमा परिणत भयो । मनाङको तर्फबाट अनिल गुरुङ, हेमन गुरुङ र गोलकिपर किरण चेम्जोङको पेनाल्टी गोलमा परिणत भएको थियो। तर सुजल श्रेष्ठको प्रहार रुपन्देहीका गोलकिपर दिलीपले रोके। वैकल्पिक खेलाडी निराजनको प्रहार बाहिरिएको हो।

'हामी टाइब्रेकरमा अभागी रह्यौं,' रुपन्देहीलाई नतिजा सुम्पेपछि मनाङका कप्तान अनिल गुरुङले भने, 'खेलभर छाएर पनि नतिजा फरक आयो।'

अनिलको सुस्केरा किन पनि जायज थियो भने मनाङले खेलभर धेरैपटक शक्तिशाली आक्रमण गरेको थियो। मनाङ आक्रमण गरेको गर्‍यै गर्ने अनि रुपन्देही जोगाएको जोगायै गर्ने सिलसिला सुरुदेखि अन्तिमसम्म चल्यो। तर, फुटबलमा निश्चित गोल मात्रैले सफलता दिलाउँछ, जुन मनाङको अग्रपंक्तिले गरेर देखाउन सकेन। संकटासँगको  पहिलो खेलमा  निर्णायक गोल गरेका मनाङका विदेशी खेलाडी ओलावालेले पहिलो हाफको १९ औं मिनेटमा पेनाल्टी बक्सभित्रबाट गरेको प्रहाररुपन्देहीका डिफेन्डर रजिन धिमालले गोललाइनबाट बचाए। लगत्तै ३२ औं मिनेटमा हेमनको अर्को प्रहार गोलरक्षक दिलीप क्षेत्रीले पञ्च गर्दै बाहिर फ्याँकेका थिए।

दोस्रो हाफकोसुरुमै मनाङका विश्वास श्रेष्ठको प्रहार पोस्टमाथिबाट बाहिरियो। त्यसबीचमा अनिल गुरुङले पनि केही अवसर खेर फ्याँके। ४० औं मिनेटमा ओलावाले 'वान भर्सेस वान' को अवसर सदुपयोग गर्नबाट चुके। रुपन्देहीका अरु सबै खेलाडी बिट भइसकेको अवस्थामा उनले बललाई पोस्ट बाहिर पठाए। राष्ट्रिय टोलीका आधा दर्जन स्टार खेलाडीसहित मैदानमा उत्रेको मनाङका स्ट्राइकर अनिल गुरुङ, विश्वास श्रेष्ठ, सुजल श्रेष्ठ खेलमा खासै चल्न सकेनन्। बिहीबारमात्रै रुपन्देहीको जर्सीमा मैदान ओर्लिएका विमल घर्तीमगर पनि खेलमा फिका साबित देखिन्थे। रुपन्देहीले विमलसँगै विक्रम लामालाईसेमिफाइनलदेखि मैदान ओरालेको हो।

खेलमा फिफा रेफ्री लव खत्रीले ५ खेलाडीलाई पहेँलो कार्ड देखाए। म्यान अफ दी म्याच रुपन्देहीका बिक्रम लामा भए। उनलाई आयोजकले १५ हजार मूल्य बराबरको स्मार्ट फोन उपलब्ध गरायो।

प्रतियोगितामा पहिलो गोल गर्ने अनिल गुरुङ (पेनाल्टी) र राष्ट्रिय टोलीबाट खेलेर सोलिडारिटी कपमा विजेता बनाउन योगदान पुर्‍याउने किरण चेम्जोङ र सुजल श्रेष्ठलाई नगद पुरस्कार दिइएको थियो।

प्रकाशित: १० मंसिर २०७३ ०६:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App