coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

खसीबोकाको मासु प्रतिकेजी ५५० रुपैयाँ निर्धारण

काठमाडौं– सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत बिक्री गर्ने खसी, बोका तथा च्याङ्ग्राको बिक्री मूल्य निर्धारण गरेको छ। कम्पनीले बिक्री गर्ने जीउँदो खसी, बोकाको मूल्य प्रतिकिलो ५५० रुपैयाँ र च्याङ्ग्राको मूल्य प्रतिकिलो ७३० रुपैयाँ निर्धारण गरिएको छ।

उपभोक्तालाई खसी, बोका तथा च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ सहुलियत दिई उक्त मूल्य निर्धारण गरिएको कम्पनीका महाप्रबन्धक योगेन्द्र गौचनले जानकारी दिए। 

कम्पनीले आजदेखि साविकको खाद्य संस्थानको थापाथलीस्थिति बाग्मती अञ्चल कार्यालयबाट खसी, बोका तथा च्याङ्ग्राको बिक्री शुरु गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयको समन्वयमा ती खसी, बोका तथा च्याङ्ग्राको मूल्य निर्धारण गरिएको हो। 

सरकारले दशैँका समयमा उपभोक्तालाई थारै भए पनि राहत दिन विगतमा झै यसपटक पनि खसी, बोका तथा च्याङ्ग्रा बिक्री गरेको हो। सरकारी मूल्य निर्धारणले बजारमा मूल्य हस्तक्षेप गर्न सहयोग मिल्ने उहाँले बताए। 

यसवर्षका लागि कम्पनीले काठमाडौँ उपत्यकामा करीब तीन हजारको सङ्ख्यामा खसी, बोका तथा च्याङ्ग्रा बिक्री गर्ने तयारी गरेको छ। त्यसका लागि एक हजार ९२० च्याङ्ग्रा र करिब एक हजार खसी, बोका राजधानी ल्याइँदै छ। 

केही खसी, बोका तथा च्याङ्ग्रा काठमाडौँ आइसकेका छन्। अरु एक/दुई दिनभित्र ल्याइने महाप्रबन्धक गौचनले जानकारी दिए। कम्पनीले बिक्री गर्ने सहुलियतको खसी, बोका तथा च्याङ्ग्रामा व्यापारीको प्रवेश निषेध गरिएको छ। सम्भव भएसम्म एक परिवारलाई एक खसी, बोका तथा च्याङ्ग्रा बिक्री गरिने उनको भनाइ छ। 

घाटा खाएर उपभोक्तालाई राहत

सरकारले खसी, बोका तथा च्याङ्ग्रा बिक्रीमा घाटा खाएर उपभोक्तालाई  राहत दिएको छ। खरिद मूल्यभन्दा कममा उपभोक्तालाई बिक्री गर्न लागिएको महाप्रबन्धक गौचनले जानकारी दिए। कम्पनीले खसी, बोका ढुवानीबाहेक जीउँदो प्रतिकिलो ५७० र दाङबाट प्रतिकिलो ५३५ मा खरिद गरेको छ। 

त्यस्तै च्याङ्ग्रा जीउँदो प्रतिकिलो ५६० मा खरिद गरिएको छ। कम्पनीले च्याङ्ग्रा मुस्ताङबाट खरिद गरेर ल्याएको हो। ती च्याङ्ग्रा चार दिन हिँडाएर ल्याएको बताइएको छ। कम्पनीले मुस्ताङबाट एक हजार ९२० च्याङ्ग्रा र मकवानपुर तथा दाङबाट एक हजार खसीबोका खरिद गरेको हो। 

अहिले राजधानीका अन्य खसी बजारमा जीउँदो खसी बोका ६५० र च्याङ्ग्रा ७५० प्रतिकिलोमा बिक्री भइरहेको छ। सम्बन्धित जिल्लास्थित प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको खरिद समितिले गरेको मूल्यका आधारमा ती खसी, बोका तथा च्याङ्ग्रा किसानसँग खरिद गरिएको कम्पनीले जनाएको छ। रासस

प्रकाशित: १३ आश्विन २०७६ ०८:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App