७ वैशाख २०८१ शुक्रबार
समाज

किंग्स कलेज–युनुस सेन्टर साझेदारी

काठमाडाैं– राजधानीको किंग्स बिजनेस कलेजले बंगलादेशको युनुस सेन्टरसँग साझेदारी गर्ने भएको छ । दुवै संस्थाले बंगलादेशको राजधानी ढाकामा साझेदारीसम्बन्धी सहमतिपत्रमा मंगलबार हस्ताक्षर गरे । सहमति अनुसार किंग्स कलेजले नेपालमा युनुस सामाजिक उद्यमशील केन्द्र स्थापना गर्नेछ ।

किंग्स कलेजका कार्यकारी निर्देशक नरोत्तम अर्याल र युनुस सेन्टरका अध्यक्ष नोबल पुरस्कार विजेता प्रोफेसर डाक्टर मोहमद युनुसले सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । सहमतिपत्रमा दुई संस्थाबीच साझेदारी र सहकार्यका लागि युनुस सामाजिक उद्यमशील केन्द्र स्थापना र विकास गर्ने तथा सहकार्यका उपाय पहिचान गर्ने उल्लेख छ । किंग्स कलेजअन्तर्गत स्थापना हुने उद्यमशील केन्द्रले सहमति र सहकार्यका आधारमा नेपालको गरिबी निवारणमा डाक्टर युनुसद्वारा प्रतिपादित सामाजिक उद्यमशिलताको अवधारणा कार्यान्वयन गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्नेछ ।

सहमति कार्यान्वयनमा किंग्स कलेजले आपसी हित प्रवद्र्धन गर्दै शिक्षा, अनुसन्धान, सूचनाको आदानप्रदान तथा कार्ययोजना विकासलगायत साझा विषयमा काम गर्नेछ । साथै व्यावसायिक तथा सामाजिक परिवर्तनलाई गति दिन एक अर्काका मूल्य मान्यता तथा संस्कृति बुझ्न प्रोत्साहन गर्ने जनाएको छ ।

बंगलादेशमा गरिबी निवारणमा डा युनुसका विकास अवधारणा र आर्थिक विकासका लागि अवलम्बन गरिएको प्रविधि तथा कार्यक्रमको प्रत्यक्ष अवलोकन एवं जानकारी दिलाउन दुई देशबीच विद्यार्थी तथा शिक्षकको आदानप्रदान र शैक्षिक भ्रमण गराइनेछ ।

सहमतिपत्रमा युनुस केन्द्र र किंग्स कलेजबीच सहकार्यमा सेतुको भूमिका निर्वाह गर्ने युनुस सामाजिक उद्यमशील केन्द्रले सामाजिक उद्यमशिलतासम्बन्धी विभिन्न कार्यक्रम, पाठ्यसामग्री, अनुसन्धान, प्रकाशन, सामाजिक उद्यम निर्माण तथा मूल्यांकन प्रयोगशाला, सम्मेलन, शैक्षिक कार्यशाला, इन्टर्नसिप तथा छात्रवृत्तीलगायत कार्यक्रम पनि सञ्चालन गर्नेछ ।

‘स्थापनादेखि नै कलेजले सामाजिक उद्यमशिलतामार्फत् देशको रुपान्तरण गर्न सकिने अटल विश्वास राखेको छ,’ कलेजका कार्यकारी निर्देशक अर्याल भन्छन्, ‘विश्वमा नै सामाजिक उद्यमशिलताको अवधारणा विकास गरी सफल परीक्षण गरेका प्रोफेसर युनुसको संस्थासँग सहकार्य गर्न पाउनु ठूलो उपलब्धि हो । यो सहकार्यबाट हामी सामाजिक उद्यमशिलतामार्फत् नेपाललाई रुपान्तरण गर्ने सपना साकार गर्न सक्छांैं भन्ने अपेक्षा राखेका छांै ।’
 

प्रकाशित: १० मंसिर २०७३ ०५:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App