७ वैशाख २०८१ शुक्रबार
समाज

अनुगमन प्रक्रिया सिकाउँदै विगतका निकाय

ताप्लेजुङ - प्रशासनले नेतृत्व गर्दै आएको बजार अनुगमन कार्य स्थानीय सरकारको हातमा पुगेपछि यसअघि बजार नियमक संस्थाहरुले स्थानीय तहलाई अनुगमनका जिम्मेवारी सुम्पिँदै पद्धति र प्रक्रियाका बारेमा न्यूनतम जानकारी गराउन थालेका छन्।

ताप्लेजुङमा त्यसको सुरुआत सिदिङ्वा गाउँपालिकाबाट भएको छ। जिल्ला प्रशासन कार्यालय र जिल्ला घरेलु कार्यालयबाट पुगेको टोलीले सिदिङ्वा गाउँपालिकाको केन्द्र भञ्ज्याङ पुगेर सचेतनामूलक बजार अनुगमन गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी केशव खतिवडाको अगुवाइको पुगेको टोलीले भञ्ज्याङमा रहेका बजार÷पसलको अनुगमन गर्दै अब उप्राप्त गाउँपालिका आफैंले अनुगमन गर्ने बताएका थिए।

सहायक प्रजिअ खतिवडाले पसलहरु स्थानीय सरकार, आन्तरिक राजस्व कार्यालय र घरेलुसहितका निकायमा दर्ता भए÷नभएको, प्यान लिए/नलिएको, उपभोग्य मिति नाघेका अखाद्य वस्तु भए/नभएको र मूल्यसूची तथा साइनबोर्ड भए÷नभएको जस्ता विषय तालिका बनाएर अनुगमन गर्न गाउँपालिकालाई आग्रह गरिएको जानकारी दिए। उनले भञ्ज्याङ बजार अनुगमन गर्दा गाउँपालिकाका निर्वाचित जनप्रतिनिधि र प्रशासकीय अधिकारीलाई समेत सँगै लिएर गएको बताउँदै यो नै अनुगमनका विधि र प्रक्रियाको अनुशिक्षण रहेको बताए।

जिल्ला घरेलु कार्यालयका निमित्त प्रमुख निर्जा भट्टराईले अनुगमनका जिम्मेवारी स्थानीय सरकारसम्म पुगेको अवस्थामा यसअघिका नियमनको जिम्मेवारी पाएका निकायबाट क्रमैसँग जिम्मेवारी हस्तान्तरणको प्रक्रिया सुरु भएको जानकारी दिइन्। उनले अनुमगनका क्रममा उपभोक्ता अधिकार विपरीतका कार्य नहोस् र वैधानिक प्रक्रिया पूरा गरेर बजार÷पसलहरु सञ्चालन भएको होस् भन्ने हुनुपर्ने आफूहरुले सुझाएको जानकारी दिइन्। सहायक प्रजिअ खतिवडाले गाउँपालिकाले नेतृत्व गरेको अनुगमन कार्यमा सहयोग मागेमा स्थानीय प्रशासनले जुनसुकै बेला सहजीकरण गर्ने समेत जानकारी दिए।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को २(ञ)ले मा अब बजारसहित वस्तु तथा सेवाको वितरण प्रणालीको अनुगमन कार्यविधि बनाएर अब सम्बन्धित स्थानीय सरकारले आफैं गर्ने अधिकार प्रदान गरिएको छ। सिदिङ्वा गाउँपालिका अध्यक्ष नरबहादुर कडरियाले अनुगमनको जिम्मेवारी आफ्नो हातमा आए पनि यो आफ्ना लागि नौलो प्रयोग भएको भन्दै सिकाइका लागि विगतका नियमक निकायहरुसँग सहजीकरणको माग गरिएको जानकारी दिए।

गाउँपालिका उपाध्यक्ष जीवन ताम्लिङले बजार, पसल र पालिकाक्षेत्रबाट प्रदान भएको वस्तु तथा सेवाको प्रभावकारिताको अनुगमनले कायम रहेका त्रुटि सच्याउने भएकोले गाउँपालिकाले कार्यविधि बनाएर अनुगमनलाई नियमित गर्ने बताए। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकप्रसाद फागोका अनुसार गाउँपालिकाको बजार अनुमगन निर्देशिका तयारीको क्रममा रहेको छ।

निर्देशिकामा अनुगमन टोलीको गठन, अनुगमन प्रक्रिया, दण्ड र जरिवाना, अनुगमन आचारसंहितासहितका सबै विषय सम्बन्धित कार्यपालिकाले तय गरे अनुसार हुनेगरी मापदण्ड बनाउन सक्ने व्यवस्था छ।

प्रकाशित: १३ आश्विन २०७६ ०७:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App