१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ठूलाबडालेनै गरेनन् स्वास्थ्य बिमा

जिल्ला अस्पताल रोल्पा। तस्बिरः दिनेश नागरिक

रोल्पा — रोल्पाका प्रदेश सांसद दिपेन्द्र पुनले स्वास्थ्य बिमा गरेका छैनन्। स्वास्थ्य बिमा बारे खासै नबुझेका उनी भन्छन् ‘गर्नुपर्ने चाहि हो। गर्नुपर्छ त भन्दै थिए, अब गर्नुपर्ला।’ त्यसो त रोल्पा उद्योग बाणिज्य संघका अध्यक्ष विश्वकुमार चन्दले पनि स्वास्थ्य बिमा नगरेको बताए। स्वास्थ्य बिमाबारे जानकारीनै नभएर नगरेको उनले बताए।’ उता १० स्थानीय तह रहेको रोल्पामा गाउँपालिका स्तरिय बिमा समितिकै अध्यक्ष अर्थात ७ वटा गाउँपालिकाका अध्यक्षहरुले समेत स्वास्थ्य बिमा गरेका छैनन्।

यतिबेला रोल्पामा स्वास्थ्य बिमा प्रवाभहिन बनेको छ। ठूलो महत्वाकांक्षी योजनाका साथ ल्याइएको बिमा कार्यक्रम यो वर्षदेखि असफल जस्तै बनेको हो। दुई लाख २४ हजार बढी जनसंख्या रहेको रोल्पामा १८ हजार ४ सय १४ जना सक्रिय रहेकोमा अहिले ३ हजार ६ सय ३२ जनाले मात्र नविकरण गरेको दर्ता अधिकारी सागर पौडेलले बताए। उनले भने ‘सेवा प्रदायक निकायमा गतिलो सेवा नहुनु मुख्य कारण हो। त्यस्तै जनचेतनाको कमी र समाजमा बिद्यमान बौद्धिक जगतनै बिमाप्रति सकारात्मक हुन नसक्नु अर्को समस्या रहेको छ।’

पौडेलले भने जस्तै जिल्लामा बौद्धिक भनेर चिनिएको ठूलो जमातले स्वास्थ्य बिमा गरेका छैनन्। नेपाली कांग्रेस रोल्पाका सभापती तथा पुर्वमन्त्री अमरसिंह पुन, जलजला बहुमुखी क्याम्सका प्रमुख बिष्णु आचार्य, रेडक्रस सोसाईटी रोल्पाका सभापती डीबी घर्ती, पत्रकार महासंघका सस्थापक अध्यक्ष काशिराम डागि लगायतले आफ्नो स्वास्थ्य बिमा नगरेको बताए। उनीहरुले नबुझेरभन्दा पनि सेवा प्रभाकारी नदेखेका कारण बिमा नगराएको दाबी गरे। त्यसो त १० स्थानीय तह रहेको यहाँ रोल्पा नगरपालिकाका प्रमुख र माडि गाउँपालिकाका अध्यक्षले मात्र स्वास्थ्य बिमा गरेका छन्। सुनछहरी र रुन्टीगढी गाउँपालिकाका अध्यक्षहरुले बिमा गरेको भए पनि नबिकरण चाहि गरेका छैनन्।

सुरुमा प्राय धेरै जसो जनप्रतिनिधिले स्वास्थ्य बिमा गरेको भए पनि नबिकरण गरेका छैनन्। बिमितलाई निःशुल्क सेवा प्रदान गरिने भनिएको सुलिचौर र होलेरी प्राथमिक स्वास्थ्य केन्द्रमा फार्मेसी नहुँुदा पनि सेवा प्रबाहमा समस्या छ। ७२ वडामा ७२ जना दर्ता सहयोगीले काम गरिरहेको भए पनि स्थानीयहरु स्वास्थ्य बिमाप्रति आर्कषित छैनन्। ५ जनाको एउटा परिवारलाई प्रतिवर्ष ३ हजार ५ सय शुल्कले एक लाख सम्मको निशुल्क उपचार सुविधा भए पनि प्रभावकारी भएको छैन।

कडा रोगी, ७० वर्षभन्दा माथिका र अति गरिवलाई निशुल्क स्वास्थ्य बिमा भनिए पनि उनिहरुको समेत बिमा गरिएको छैन। जिल्लामा कडा रागी, ७० वर्षभन्दा माथिका र अति गरिबको संख्याभन्दा कम संख्याले मात्र स्वास्थ्य बिमा गरेको तथ्याङ्क देखिएकाले रोल्पामा यो योजना पुर्ण रुपमा असफल भएको देखिन्छ।

स्वास्थ्य बिमाको फाइदाका बारेमा स्थानीय तहाका जनप्रतिनिधि नै बेखबर छन्। उनिहरु आफैले यसका बारेमा गतिलोसंग नबुझेपछि अरुलाई प्रस्ट्याउन सक्दैनन्। त्यस्तै स्थानीय स्तरका शिक्षक, बुद्धिजिवी, राजनीतिकर्मी कोहिले पनि यो कार्यक्रमका बारेमा छलफल समेत गर्दैनन्। स्वास्थ्य बिमाका लागि खटाइएका सहजकर्ताले पनि जिम्मेवारी बोध नगरेका कारण समस्या आएको देखिन्छ। ‘स्वास्थ्य बिमाको बारेमा स्थानीय स्तरसम्म जानकारी पुग्न नसक्नु दुर्भाग्य हो। यो योजना पनि अन्य सरकारी योजना जस्तै सुस्तको भयो।’ पत्रकार महासंघका सस्थापक अध्यक्ष काशिराम डागीले भने ‘राम्रो हुँदाहुँदै पनि कार्यक्रम सफल हुन सकेको देखिदैन।’

नियमावली अनुसार राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत परिवारका ५ जनासम्मले ३ हजार ५ सय रुपैयाँ तिरेर एक वर्षका लागि बिमाअन्तर्गत उपचार सेवा लिन सक्छन्। यसअघि २ हजार ५ सय रुपैयाँको प्रिमियम तिरेर ५ जनाको परिवारले स्वास्थ्य बिमाअन्तर्गत ५० हजार रुपैयाँ बराबरको स्वास्थ्य सेवा पाउने प्रावधान थियो। यसलाई बढाएर यसपालीदेखि एक लाख पु-याइएको छ।

प्रकाशित: १३ आश्विन २०७६ ०३:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App