८ वैशाख २०८१ शनिबार
अर्थ

भ्रमण लक्ष्य फेला पर्नेमा शंका

चितवनकाे मेघाैलीस्थित हाेमस्टेमा थारू संस्कृतिमा रमाउँदै विदेशी पर्यटक। तस्बिरः सविता श्रेष्ठ/नागरिक

काठमाडौं – २० लाखको संख्यामा विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेर सरकारले आगामी वर्षलाई ‘नेपाल भ्रमण वर्ष २०२०’ घोषणा गरेको छ। यो वर्षको पर्यटन आगमन र सरकारको तयारी हेर्दा लक्ष्य हासिल हुनेमा शंका देखिएको छ। 

भ्रमण वर्ष सुरु हुन तीन महिना बाँकी रहँदा नेपाल आउने पर्यटकको संख्या अघिल्लो वर्षका तुलनामा १० प्रतिशत पनि बढ्न सकेको छैन। अध्यागमन विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यो वर्ष आठ महिनामा सात लाख ४२ हजार पर्यटक नेपाल आएका छन्। यो गत वर्षभन्दा ६१ हजार मात्र बढी हो।

सरकारी अधिकारीहरु चालु वर्षको आठ महिनामा ६१ हजार मात्र बढेको तथ्यांकले आगामी वर्ष २० लाख पर्यटक आउने सम्भावना निकै न्यून भएको बताउँछन्। उनीहरुका अनुसार यो वर्षको नौ प्रतिशत वृद्धिदरलाई शतप्रतिशतभन्दा माथि पु-याउनु निकै चुनौतीपूर्ण छ। विभागका अनुसार यस वर्ष एसियालगायत युरोपका केही देशबाट नेपाल आउने पर्यटकको संख्यामा कमी आएकोे छ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले पर्यटन प्रवद्र्धनका लागि गरिएका प्रयास हेर्दा अहिले २० प्रतिशत हाराहारीमा  आगमन बढ्नुपर्ने बताए। अहिले सरकारले सोचेअनुरुप पर्यटक आगमन नबढेको उनी बताउँछन्। ‘निर्माणका कारण रातिको समयमा अन्तर्राष्ट्रिय उडान–अवतरण नहुनु पनि पर्यटक संख्या उल्लेख्य नबढ्नुको एक कारण हो,’ उनले आइतबार नागरिकसँग भने, ‘बन्द भएको जेट एयरवेजको ठाँउमा अर्काे कम्पनीको उडान सुरु भएन र केही महिना पर्यटकीय सिजनअन्तर्गत नपर्ने भएकाले सोचे अनुरुप पर्यटक आउन सकेनन्।’

सरकारी अधिकारीहरु चालु वर्षको आठ महिनामा ६१ हजार मात्र बढेको तथ्यांकले आगामी वर्ष २० लाख पर्यटक आउने सम्भावना निकै न्यून भएको बताउँछन्। उनीहरुका अनुसार यो वर्षको नौ प्रतिशत वृद्धिदरलाई शतप्रतिशतभन्दा माथि पु-याउनु निकै चुनौतीपूर्ण छ।

पर्यटन उद्योग पूर्वाधार विकासमा आधारित रहने भएकाले संसदको विकास समितिले पनि भौतिक योजना तथा निर्माण मन्त्रालयलाई पर्यटकीय सडक सुधार गर्न आग्रह गरेकाले केही अझै आशा बढेको उनको भनाइ छ।

‘नेपाल वायुसेवा निगमले जापान उडान सुरु गरेको छ। अब जापानबाट पनि पर्यटक संख्या बढ्दै जानेछ,’ उनले भने। नेपाल भ्रमण वर्षबारे संसारका धेरै देशमा प्रवद्र्धन भइरहे पनि अहिले आएर युरोपका देशमा प्रवद्र्धनमा जोड दिएको उनको भनाइ छ। ‘हामीले मध्यपूर्वमा राम्रो प्रयास गरेका छौं,’ उनले भने, ‘दक्षिणपूर्वी एसियाका देशमा पनि नेपाल भ्रमण वर्षको प्रवद्र्धन भइरहेकाले चाँडै ती देशबाट उल्लेख्य पर्यटक नेपाल आउनेमा आशावादी छौं।’

गत वर्षको तुलनामा बंगलादेशबाट नेपाल आउने पर्यटकको संख्या १८ प्रतिशतले कमी आएको छ। गत वर्ष १७ हजार सात सय १६ पर्यटक नेपाल आएकोमा अहिले १४ हजार पाँच सय १४ पर्यटक मात्र नेपाल आएका छन्। त्यस्तै, पाकिस्तानबाट ११ प्रतिशत पर्यटक कम आएको तथ्यांकले देखाउँछ। गत वर्ष पाकिस्तानबाट तीन हजार तीन सय ५८ पर्यटक आएका थिए भने यो वर्ष दुई हजार नौ सय ६५ पर्यटक नेपाल आएका छन। युरोपको बेल्जियमबाट मात्रै गत वर्ष चार हजार ८६ पर्यटक नेपाल आएका थिए। यो वर्ष उक्त संख्या ६ प्रतिशतले घटेर तीन हजार आठ सय २४ मा सीमित भएको छ।

डेनमार्कबाट पोहोर दुई हजार सात सय ८६ पर्यटक आएकामा योे वर्ष दुई हजार ६ सय ४० मात्र आए। न्युजिल्यान्ड, नर्वे, स्विजरल्यान्ड लगायत देशबाट आउनेको संख्या पनि घटेको छ।

विभागका अनुसार यो वर्ष भारतबाट एक लाख ४२ हजार दुई सय ८६ पर्यटक आए। गत वर्ष एक लख ३४ हजार ५२ भारतीय आएका थिए।

त्यस्तै, चीनबाट पाहोर ९६ हजार पाँच सय ५० आएकामा यो वर्ष बढेर एक लाख ६ हजार ५० पुगेको छ। ताइपेईबाट गत वर्ष पाँच हजार नौ सय ७० आएकोमा यसपालि ४९ प्रतिशतले बढेर आठ हजार नौ सय २५ पुगेको छ।

गत वर्ष २५ हजार दुई सय पाँच थाई पर्यटक आएमा यसपालि ३५ हजार १० जना आए। तथ्यांकअनुसार गत वर्ष श्रीलंकाबाट ३७ हजार दुई सय २५ जना आएकामा यस वर्ष ४४ हजार चार सय २८ आएका छन्।

पोहोर जापानबाट १७ हजार ६० आएकोमा यो वर्ष १९ हजार दुई सय ४४ आए। मलेसियालीको संख्या ११ हजार नौ सय ४० बाट बढेर १२ हजार २० पुगेको छ।

सिंगापुरबाट गत वर्ष चार हजार तीन सय ६८ पर्यटक आएकामा यसपालिचार हजार आठ सय ९४, दक्षिण कोरियाबाट २२ हजार चार सय १७ आएकामा यसपालि २२ हजार सात सय सातजना नेपाल आए।

त्यस्तै, अस्ट्रेलियाबाट यो वर्ष दुई हजार पाँच सय ८० जना आएका छन्। गत वर्ष उक्त संख्या दुई हजार पाँच सय ५९ थियो। चेक रिपब्लिकबाट पोहोरको १५ सय ५९ बढेर यसपालि दुई हजार एक सय सात पुगेको छ।

फ्रान्सबाट १६ हजार तीन सय २४ जना आए। गत वर्ष यो संख्या १५ हजार नौ सय ११ थियो। जर्मनीबाट गत वर्ष १९ हजार एक सय ६१ आएकामा यसपालि २० हजार तीन सय ६२ आएका छन्।

इटालीबाट पोहोर आठ हजार चार सय ७४ आएकोमा यसपालि नौ हजार एक सय ९६ आए। नेदरल्यान्डका पर्यटकको संख्या गत वर्षको सात हजार आठ सय ६० बाट आठ हजार सात सय दुई पुगेको छ।

रसियाबाट पोहोर ६ हजार दुई सय ६२ आएकामा यो वर्ष ६ हजार तीन सय ७४ आएर। स्पेनिसको संख्या यो वर्ष ११ हजार ६ सय १३ पुगेको छ, जुन पोहोर ११ हजार पाँच सय चार थियो।

बेलायतबाट यसपालि ३६ हजार नौ सय ७२ आएका छन्। पोहोर त्यहाँबाट ३६ हजार ६ सय ३५ जना आएका थिए।
क्यानडालीको संख्या पाहोरको १० हजार ४३ बाट बढेर १० हजार चार सय ८० पुगेको छ। अमेरिकाबाट पोहोर ५५ हजार चार सय एक रहेकोमा यो वर्ष ५८ हजार ६ सय २१ जना आएका छन्।

अस्ट्रेलियाबाट यसपालि २० हजार आठ सय १९ पर्यटक आएका छन्। पोहोर यो संख्या १९ हजार दुई सय ६४ थियो। न्युजिल्यान्ड, स्विडेन, स्विजल्यान्ड, पोल्यान्ड, नर्वे लगायत देशबाट पनि झिनो प्रतिशतले पर्यटक आगमन बढेको छ।

प्रकाशित: १३ आश्विन २०७६ ०३:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App