८ वैशाख २०८१ शनिबार
विचार

दसैँको सार्थकता

कुनै पनि कार्यालयमा कुनै काम लिएर गयो कि दसैँपछि आउनोस् भन्न थालिएको छ। कसैले कसैलाई तिर्नु पैसा माग्यो कि दसैँपछि भन्ने बहाना सुरु भइसकेको छ। कुनै पनि काम फत्ते गर्ने मिति नजिकै आइसक्दा पनि त्यसलाई टार्नेहरू दसैँलाई नै भजाएर अब दसैँ सकिएपछि भन्न थालेका जताजतै सुनिन्छ। भनाइको मतलव सबै नेपालीलाई यतिबेला दसैँको चटारोले छोइ नै सक्यो भन्दा हुन्छ। बस÷हवाईजहाजको टिकट लिन होस् वा घर पोत्न, खसी÷बोका किन्न होस् वा कपडा जोहो गर्न, सातुसामल जोकाड गर्न होस् वा मरमसला, सबैलाई दसैँले चटारोमा पारेको त यतिबेला।

मुलुक संघीय गणतन्त्रमा रूपान्तरण भएको छ। जनताका आकांक्षा राजनीतिकरूपमा पूरा भए पनि यसले व्यावहारिक मार्ग समात्न सकेको छैन। खासगरी महँगी घट्ने र व्यापारीको चरम शोषण समाप्त हुने आशमा बसेकाहरू अहिले पनि निराशामै बाँच्न विवश छन्। एकसरो राम्रो लाउन र एक पेट टन्न खाने आशमा बसेकाहरूको इच्छा यसपालि पनि पूरा नहुने निश्चित छ। त्यसैले दसैँ सबै नेपालीको महान् चाड भइकन पनि यो चाडले सबैको मुहारमा चमक ल्याउन भने सकेको छैन। यही कारण कतिपयका लागि दसैँ चाहेर पनि पर्व हुन सकेको छैन अर्थात दसाबाट माथि उक्लन नसक्नु विडम्बना हो।

खासगरी भूमिहीन, सुकुमबासी, भूमि अधिकारबाट वञ्चितहरू चरम गरिबीबाट गुज्रिरहेका छन्। दसैँ उनीहरूका लागि पनि आएको हो। तर व्यवहारमा नियालेर हेर्दा दसैँ उनीहरूका लागि कहिल्यै पनि खुसी लिएर आएन।

दसैँ त आयो तर बाध्यता बनेर। ताकि सके पनि नसके पनि, छिमेकीकै लागि भए पनि र आफन्तकै अगाडि आँसु नझार्नका लागि भए पनि मनाइदिनुपर्ने अवस्था। जसले खुसी हैन, ऋण बोकाएर बिदा हुने गर्छ हरेक वर्ष। यस वर्ष पनि यो कुनै हालतमा पनि पृथक छैन। यही बडो दुःखको विषय बनेर बल्झिरहेको छ आज पनि।

कम्तीमा पनि महँगी नियन्त्रण गर्न सकिन्थ्यो। पसलैपिच्छे हुने भाउलाई एकतमास गर्न सकिन्थ्यो। चरम गरिबीबाट गुज्रिरहेकालाई सरकारीतवरबाट थोरै नै किन नहोस्, दसैँ खर्च उपलब्ध गराउन सकिन्थ्यो। केही कपडा वितरण गर्न सकिन्थ्यो। सामूहिकरूपमा दसैँ मनाइदिने मेलो अपनाउने विकल्प पनि थियो। सरकारले १२ वर्ष तलव खाने कर्मचारीलाई दसैँ खर्च दिन हतार ग¥यो तर एक दिन पनि सरकारी अन्न मुखमा नपरेका गरिबलाई भने केही दिन आवश्यक ठानेन। त्यसैले दसैँ पनि हुनेखानेको मात्र बन्न पुग्यो। अर्थात यसलाई सबैलाई अपनत्व महसुस गर्न सकेनन्।

त्यसैले दसैँलाई वास्तवमै राष्ट्रिय चाड बनाउने हो, साँच्चै गर्वलायक संस्कृतिमा रूपान्तरण गर्ने हो र सबै नेपाली जोड्ने सेतुका रूपमा विकास गर्ने हो भने दसैँ लक्षित केही कार्यक्रम घोषणा गर्नुपर्छ ताकि खासगरी गरिब र भूमिहीन÷सुकुमबासीले उनीहरूको हैसियतका आधारमा केही राहत पाउन्। केही सुविधा पाउन्। यस्तो अवस्थामा मात्र दसैँ सबैको हुन सक्छ। सबैले मनाउने दसैँमात्र सार्थक हुन सक्छ। तब न राष्ट्रिय पर्वको मान्यता पाउँछ दसैँले।

प्रकाशित: १३ आश्विन २०७६ ०३:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App