coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

फूल खेतीबाट मनग्य आम्दानी

फूलखेतीमा रमाइरहेकी डाँडागुठकी यामसरी राई। तस्बिर : नागरिक

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान डाँडागुठ र गैरीगुठका महिलाले फूलखेतीबाट लोभलाग्दो आम्दानी गरिरहेका छन्। त्रि–धार्मिकस्थल हलेसी मन्दिरमा आउने आन्तरिक तथा बाह्य दर्शनार्थीले मन्दिरमा चढाउने गर्दा फूलको खपत बढ्दो छ।

फूलको खपत बढ्दै गएसँगै २०७५ वैसाखदेखि फूलखेती सुरु गरेका महिला हाल यही व्यवसायबाट आत्मनिर्भर बन्ने प्रयासमा छन्। सामान्य मेहनतमै थोरै जग्गामा विभिन्न प्रजातीका फूल तथा फूलका बेर्ना उत्पादनबाट राम्रो आम्दानी भइरहेको स्थानीय यामसरी राईले बताईन्। ‘१२ मिटर जग्गामा कति मकै फल्छ, कोदो कति नै फल्छ र,’ यामसरीले भनिन्, ‘तर त्यती जग्गाबाट नसोचेको आम्दानी भएको छ।’

हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको आस्थाको केन्द्रकारुपमा रहेको हलेसीमा दैनिक स्वदेशी तथा बिदेशी दर्शनार्थीको भीड लाग्छ। उनीहरुले भेटीसँगै मन्दिरमा फूल चढाउने गरेका छन्। तर, दैनिक दर्शनार्थीको भीड लाग्ने हलेसीमा चढाउने फूलको अभाव छ। यही कारण पुष्प व्यवसायको राम्रो सम्भावना देखिएपछि महिलाको उद्यमशिलताको विकासका लागि हलेसी तुवाचुङ नगरपालिकाको महिला लक्षित कार्यक्रमअन्तर्गत डाँडागुठ र गैरीगुठका महिलाले पुष्पखेती सुरु गरेका हुन्।

फूल तथा फूलका बेर्ना उत्पादन एवं बिक्रीबाट सन्तोषजनक आम्दानी भइरहेको गैरीगुठकी तारा राईले बताइन्। हलेसी आसपासमा फूल उत्पादन नहुँदा अधिकांश दर्शनार्थी भारतबाट ल्याइएका फूल चढाउन बाध्य बनिरहेको अवस्थामा हलेसी आसपासमै फूल उत्पादनका लागि नगरपालिकाले काठमाडौंबाट पहेंलो र रातो रंगको सयपत्री, गुलाफलगायत फूलका बिरुवा र बीउ खरिद गरेर ल्याएर स्थानीय महिलालाई खेती सुरुवात गराएको थियो। हाल डाँडागुठका १३ महिला र गैरीगुठका १० महिलाले पुष्पखेती लगाएका छन्।

हलेसीमा दर्शन गर्न आउने दर्शनार्थीले मन्दिरमा चढाउनका लागि फूल किन्ने भएकाले पुष्प व्यवसायको सम्भावना राम्रो देखिएको यामसरी बताउँछिन्। डाँडागुठ र गैरीगुठमा उत्पादित फूल बिक्री गर्न बजार पु-याइरहन पर्दैन। खरिद गर्नका लागि हलेसीबाटै व्ययसायी गाउँमै आउन थालेका छन्। कतिपय फूल नगरपालिका, वडा कार्यालय, संघसंस्थाको कार्यक्रममा अतिथिको स्वागतकाक्रममा खपत हुने गरेको उनीहरु बताउँछन्।

व्यवसायीकरुपमा पुष्पखेती गर्नका लागि महिलाको दुईवटा समूह दर्ता नै भएको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले बताईन्। ‘हलेसीमा दैनिक फूलको खपत हुन्छ। तर, सबै फूल भारतबाट आउँछ,’ उपमेयर राईले भनिन्, ‘हलेसीमा चढाइने फूल हलेसीमै उत्पादन गर्न सकियो भने महिलालाई स्वरोजगार बनाउन सकिन्छ भनेर हामीले महिलालाई फूलका बेर्ना र बीउ प्रदान गरेका थियौं। यसबाट दिदीबहिनीले राम्रो आम्दानी लिन थाल्नु भएको छ।’

प्रकाशित: १३ आश्विन २०७६ ०२:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App