६ वैशाख २०८१ बिहीबार
अर्थ

पर्यटन वर्षलाई लक्षित गरी मेघौलीमा होमस्टे थपिँदै

होमस्टेमा आउने पाहुनाको स्वागतमा थारु पहिरनमा तयार महिला।तस्बिर : सविता/नागरिक

चितवन – वेदकुमार महतो १० वर्ष वैदेशिक रोजगारीमा मलेसिया बसे। मलेसियाबाट गएको माघमा घर फर्किएपछि उनी विदेश जान चाहेनन्। घर फर्केर र खेतीपाती मात्र गर्दा उनलाई चित्त बुझेन। त्यसैले आर्थिक आम्दानी हुने केही काम गर्न चाहन्थे।

गाउँमा यसअघिदेखि नै होमस्टे सञ्चालनमा रहेकाले उनले पनि यसमा रुची देखाए। होमस्टे नै बनाउने योजना बनाएर उनले सोही अनुसारको पूर्वाधार तयार गरे। नयाँ वर्ष सुरु भएपछि घरमा पाहुना भित्र्याएर सत्कार गर्न सुरु गरेका उनी अहिले होमस्टेमा आउने पाहुनाबाट हुने आम्दानीले सन्तुष्ट छन्।

उनले आफू बस्ने घरसँगै आठ लाख रुपैयाँ खर्च गरेर पाहुना बस्ने र खाने घर बनाएका छन्। खेतीपातीसँगै होमस्टेमा पाहुनाको सत्कार गर्न उनको दैनिकी बित्ने गरेको छ। ‘परिवारसँग बसेर सबै मिलेर पाहुनाको स्वागत सत्कारमा खटिन्छौं,’ उनले भने, ‘भर्खर सुरु भएको छ, अहिलेसम्म सन्तुष्ट नै छु।’ उनको ७ नम्बर होमस्टेमा विदेशीभन्दा स्वेदशी पाहुना नै धेरै आएका छन्। होमस्टेमा आउने पाहुनाले थारु संस्कृति, खानपिन र स्थानीय वातावरण रुचाएका छन्।

मेघौलीमा थारु समुदायले २०६७ माघ १० गतेदेखि होमस्टे सुरु गरेका हुन्। पाँच घरबाट सुरु भएको होमस्टे अहिले आठवटा घरमा सञ्चालित छ। भरतपुर महानगरपालिका वडा नं २७ को मेघौलीका जीवन चौधरीले सुरुदेखि नै होमस्टे चलाएका हुन्। पुख्र्यौली पेसा खेतीपातीसँगै होमस्टे चलाउन खासै समस्या नभएको उनको अनुभव छ। ‘पहिलो दुई–तीन वर्षसम्म त पर्यटक खासै आएनन्, सिक्दैमा समय लाग्यो,’ उनी भन्छन्, ‘पछिल्लो केही वर्षयता पर्यटक बढेका छन्, आम्दानी पनि राम्रै भएको छ।’

आठवटा घरमा रहेको होमस्टेबाट अहिले करिब ४५ जना पाहुनालाई सेवा दिन सकिने व्यवस्था रहेको थारु सामुदायिक होमस्टे मेघौलीका अध्यक्ष सोमलाल महतो बताउँछन्। पछिल्लो एक वर्षको अवधिमा होमस्टेमा तीन हजार सात सय १४ स्वदेशी र ९५ विदेशी पर्यटक आएको उनले जानकारी दिए। अहिले तत्काल दुईवटा घरमा होमस्टे थप गरेर १० वटा घरबाट पाहुनाको सत्कार गर्ने तयारी गरिएको उनले बताए।

भएका होमस्टे र नयाँ थप गरिने होमस्टेबाट एक पटकमा ८० पर्यटकलाई सेवा दिन सकिने उनले बताए। होमस्टे सुरु गर्ने बेलामा जिल्ला विकास समितिले प्रत्येक घरलाई १५ हजार रुपैयाँ सहयोग गरेको थियो। त्यही रकमले भएका पुराना घर नै लिपपोत गरेर र सरसफाइ गरेर होमस्टे सुरु गरिएको अध्यक्ष महतो बताउँछन्। होमस्टेबाट आम्दानी हुन थालेपछि केहीले थारु बस्तीका घर झल्किने गरी होमस्टे बनाएको उनले बताए।

मेघौलीको पर्यटन प्रवर्द्धनमा उवासंघ
उद्योग वाणिज्य संघ चितवन मेघौलीको पर्यटन प्रवद्र्धनमा सहभागी हुने भएको छ। उद्योग वाणिज्य संघ र थारु सामुदायिक होमस्टेबीच पर्यटकीय विकासका विषयमा सम्झौता भएको छ।

सम्झौताअनुसार होमस्टेको पूर्वाधार थप्नका लागि संघले सहयोग गर्नेछ। यससँगै सांस्कृतिक भेषभूषा र आभूषण, साउन्ड सिस्टम र बाजागाजासमेत उपलब्ध गराउने सम्झौता भएको छ। यस्तै, व्यवसायिक र व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्न तालिम प्रदान गर्ने सम्झौता भएको उद्योग वाणिज्य संघका पर्यटन प्रवद्र्धन समितिका संयोजक अशोक अधिकारी बताउँछन्।

होमस्टे प्रवद्र्धनमार्फत ग्रामीण क्षेत्रमा स्वरोजगार सिर्जना गरी आम्दानी वृद्धिमा टेवा पु-याउन होमस्टे विस्तारको सम्झौता गरिएको उनले बताए। सम्झौताले स्थानीय संस्कृति र प्राकृतिक सम्पदाका माध्यमबाट ग्रामीण पर्यटनको विकास, प्रवद्र्धन, व्यवस्थापन र व्यवसायीकरणमा योगदान पुग्ने उनको भनाइ छ। यसले नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गरेर मेघौलीमा धेरै पर्यटक भिœयाउन सहयोग गर्ने उनी बताउँछन्। उद्योग वाणिज्य संघसँगको सहकार्यले होमस्टेको विकास र विस्तारमा सहयोग पुग्ने अध्यक्ष महतोले बताए। 

चितवनका अन्य पर्यटकीय गन्तव्यको तुलनामा मेघौलीमा कम पर्यटक आउने गरेका छन्। आएका पर्यटक बस्नका लागि ठूला होटल महँगा छन्। घरेलु वातावरणको होमस्टेको प्रवद्र्धन गर्न सके पर्यटक र होमस्टे सञ्चालक दुवैलाइै फाइदा हुने उनले बताए। होमस्टेमा आउने स्वदेशी र विदेशी पर्यटकलाई थारु संस्कृति र परम्परासँग परिचित गराउने गरिएको छ। थारु समुदायको कला, संस्कृति, परम्परा, भेषभूषाको जानकारी लिँदै थारु परिकारको स्वादसमेत लिन सकिन्छ। यससँगै जंगल सफारी, डुंगा सफारी गरेर पनि पर्यटकले रमाइलो लिन सक्छन्।

चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु अवलोकन, राप्ती र नारायणी नदीको संगमस्थल गोलाघाटबाट देखिने सूर्यास्त हेर्न सक्छन्। मेघौलीमा आइसकेपछि यहाँको खाना के कस्तो छ, यहाँको संस्कृति कस्तो छ भन्नेबारे बुझ्न सकिने मेघौली पर्यटन विकास समितिका अध्यक्ष हरिचन्द्र महतो बताउँछन्। पर्यटकलाई सजिलै र सस्तोमा सेवा सुविधा दिन होमस्टेले योगदान दिएको उनको भनाइ छ। होमस्टे विस्तार हुँदा आउने भ्रमण वर्षमा धेरै पर्यटकलाई मेघौली भिœयाउन सकिने उनले बताए। मेघौलीमा पर्यटन प्रवद्र्धन गर्न मेघौलीमा रहेको विमानस्थल सञ्चालन र जंगल सफारी गर्ने बाटो मर्मतसम्भार गर्ने योजना अघि बढाएको छ। स्थानीय पर्यटन व्यवसायीसँग समेत सहकार्य गरिएको उनी बताउँछन्।

प्रकाशित: १३ आश्विन २०७६ ०१:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App