coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बढी भाडा लिने १४७ जना यातायात व्यवसायीलाई कारबाही

काठमाडौं - महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक सातामा एक सय ४७ जना यातायात व्यवसायीलाई कारबाही गरेको छ। सादा पोसाकमा खटिएका प्रहरीले तोकेभन्दा बढी भाडा लिने व्यावसायीलाई कारबाही गरेको हो।

नजिकिँदै गरेको दसैं तिहार र छठ पर्वलाई लक्षित गरेर प्रहरी महाशाखाले यातायत व्यवसायीलाई उच्च निगरानीमा राखेको छ। यात्रुहरुका लागि समेत कडा सुरक्षा व्यवस्था गरेको छ। सादा पोसाकमा प्रहरीलाई खटाई यात्रुबाट बढी भाडा लिइएको पाइए यातायात व्यवसायीलाई कारबाही गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए।

‘हामीले उपत्यकाभित्र पर्यप्त मात्रामा सादा पोसाकका प्रहरी खटाएका छौं,’ उनले नागरिकसगँ भने, ‘एक सातामा एक सय ४७ बढी भाडा लिने व्यावसायी तथा यातायात कर्मचारीलाई कारबाही गरेका छौं।’ निगरानी जारी रहने उनले बताए। उनका अनुसार उपत्यकाका तीनवटै जिल्लामा रहेका विभिन्न यातायात कम्पनीका टिकट काउन्टरहरुको निगरानीको लागि सादा पोशाकका प्रहरी खटिएका छन्। उनीहरुले यात्रुबाट बढी भाडा असुल्ने गरेको पाइए व्यवसायी तथा टिकट काउन्टरका कर्मचारीलाई कारबाही गरिनेछ।

ढकालले आइतबार मात्रै बल्खुबाट ३ जना र कोटेश्रबाट २ जना यातायात व्यावसायीका कर्मचारीलाई कारबाही गरिएको बताए। उनले भने, ‘पर्व नजिकिँदै गरेकाले विभिन्न ठाउँमा प्रहरीलाई खटाएका छौं। यात्रुका गुनासा सुन्नका लागि १४ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरेका छौं। यात्रुको सुरक्षाको लागि हामी लागि परेका छौं।’

उनका अनुसार महाशाखाले उपत्यकाका बल्खु, नयाँ बसपार्क, कलंकी, चावहिल, गौशाला, कोटेश्वरलगायत भक्तपुरमा रहेका टिकट काउन्टरहरुमा निगरानी बढाएको छ। उपत्यकाका टिकट काउन्टरमा भाडादर टाँस्न र सार्वजनिक यातायातमा जनचेतनाको लागि अडियोसहित ९ सय वटा पेनड्राइभ महाशाखाले वितरण गरेको छ। लामोदुरीको यात्रामा दुई जना चालक नराखेका अवस्थामा एक सातामा ९ जना चालकलाई कारबाही गरिएको उनले बताए। ‘लामो दुरीको यात्रामा दुई जना सवारी चालक राख्नुपर्छ,’ उनले भने, ‘तर मनोमानी ढंगले दुई जना सवारी चालक नराखेको पाइएपछि कारबाही गरेका हौं।’

उनका अनुसार एक सातामा उपत्यकामा तीव्र गतिमा सवारी चलाउने १२ जनालाई कारबाही गरिएको छ। उपत्यकाभन्दा बाहिर ओभरलोड, बढी यात्रु बोक्ने र छतमा मालसामान राख्ने ३६ वटा सवारी साधनलाई कारबाही गरिएको छ। मादक पदार्थ सेवन गरी सवारीसाधान हाँक्ने करिब ६ सय जनालाई कारबाही गरिएको छ।

त्यस्तैगरी नागढुंगा सडकखण्डमा बिग्रिएका ६८ वटा सवारी साधनलाई र्याकरले तानेर सडक सुचारु गरिएको छ। ढकालले नागढुंगा सडक खण्डमा स्थलगत अवलोकन समेत गरेकाले अहिले सवारी जाम नभएकोे बताए। उनका अनुसार महाशाखामा अग्रिम टिकट नपाएको, टिकटमा उल्लेख भए अनुसार गाडी नम्बर फरक परेको, सरकारले तोकेभन्दा बढी भाडा लिएको जस्ता यात्रुहरुले गुनासो गरेका छन्।

महाशाखाले नयाँ बसपार्कबाट उपत्यकाबाट बाहिरिने बसहरुको यान्त्रिक परीक्षण कार्यलाई पनि प्रभावकारी रुपमा जारी राखेको छ। छुट्ने बसको इन्जिन, चेसिस र ब्रेकको अवस्था, सीट क्षमताअनुसार यात्रुको चेकजाँच गरी पठाइने गरेको छ। त्यस्तैगरी टिकट काउन्टरका कर्मचारीलाई अनिवार्य परिचयपत्र र पोशाक लगाउनुपर्र्नेे व्यवस्था गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रवीकुमार पौड्यलले दसंैतिहारलाई लक्षित गरेर यात्रुका लागि यातायात व्यवस्था विभागको समन्वयमा चाडपर्वमा हुनसक्ने विभिन्न दुर्घटना, ठगी र गैरकानुनी कार्यलाई रोक्न लागि परेको बताए।

एक सातामा ७५ हजार बस बाहिरियो
महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक सातामा काठमाडौं उपत्यकाबाट ७४ हजार ५ सय ७५ वटा दसैंतिहार लक्षित सवारी साधन बाहिरिएको जनाएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार एक हप्तामा ७० हजार ३० वटा सवारी उपत्यकामा भित्रिएका छन्।

‘दसैं तिहार मनाउने यात्रु बोकेर दैनिक आठ हजार बसहरु बाहिरिने गरेका छन्,’ प्रमुख एसएसपी भीमप्रसाद ढकालले भने, ‘एक सातामा ७४ हजार ५ सय ७५ वटा सवारी साधन बाहिरिएको छ। अझै धेरै संख्यामा यात्रु बस बाहिरिने छन। हामीले ती यात्रु सुरक्षाको लागि पनि पहल गर्दै आएका छौं।’ एक सातामा बढी भाडा लिने, मादक पदार्थ सेवन गर्ने, तीव्र गतिमा चलाउनेलगायतका ९ हजार आठ सय ९५ सवारी साधनलाई कारबाही गरेको बताए।

प्रकाशित: १३ आश्विन २०७६ ०१:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App