रामेछाप - जिल्लाको लिखु तामाकोसी गाउँपालिका–२ सैपुका शमशेर तामाङ ९० वर्षका भए। उनी धानबालीमा बाँदरले आतंक नमच्चाओस् भनी दिनभर खेतछेउमा गएर बस्छन्। केटाकेटी सबै स्कुल जाने र परिवारका अन्य सदस्य पनि गाईबस्तु र घरधन्दामै व्यस्त रहने भएकाले बाँदर धपाउने जिम्मा उनले लिएका हुन्।
उनी खेतको छेउमा बसेर बाँदरको रखबारी गरेर मात्रै दिन गजार्दैनन्, बाँसको चोयाबाट आफैंले बनाएको मान्द्रोको छहारीमा बसेर दिनभर मान्द्रो नै बुनिरहन्छन्। उनी आफूले धेरै मान्द्रो बुन्न सके गाईगोठ बार्न हुने बताउँछन्। ‘जाडो मौसम आउन थाल्यो। आफूलाई बस्न त हुने नै भयो, त्यसले गोठ बारबेर गरे गाईबस्तुलाई पनि न्यानोमा राख्न सकिन्छ कि भन्ने लागेको छ,’ उनी भन्छन्, ‘त्यत्तिकै बस्नुभन्दा सकेको जानेको काम गरे समय बितेको पनि पत्तै पाइन्न।’
तन्नेरी हुँदा बल पर्ने अनेक काम गर्दा पनि केही नभएको सम्झँदै तामाङ हिजोआज भने मान्द्रो बुन्दा पनि औंला बाउँडिने गरेको सुनाउँछन्। ‘अब त बूढो भइएछ, घरको कुनै काम गर्न सक्दिनँ। त्यसैले खेतबारीमा पुगेर बाँदर हेर्दै मान्द्रो बनाउँदै दिन बिताउँदै छु।’
उमेरले ९० वर्षका भए पनि तामाङ स्वस्थ छन्। घरमा दिनभर टोलाएर समय काट्नुभन्दा परिवारलाई पनि सहयोग हुने भएकाले उनी दैनिक खेतमै गएर बस्ने गरेको बताउँछन्। बाँसको बाहिरी भागलाई मिलाएर बुट्टे शैलीमा बनाइएको मान्द्रो बलियो हुने उनको भनाइ छ। ‘त्यसरी बुनिएको मान्द्रोमा मान्छे बस्न पनि हुन्छ,’ उनी भन्छन्, ‘गाईवस्तुलाई चिसोबाट बचाउन पनि सकिन्छ।’
प्रकाशित: १३ आश्विन २०७६ ०१:४६ सोमबार