coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

५५ दरबन्दीमा ३२ रिक्त, कामकाजमा समस्या

कैलालीको धनगढीस्थित भौतिक पूर्वाधार विकास मन्त्रालय। तस्बिर: नागरिक

कैलाली - सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा दरबन्दीको आधाभन्दा कम कर्मचारी हुँदा दैनिक कामकाजमा समस्या परेको छ। उक्त मन्त्रालयमा रहेका ५५ कर्मचारी दरबन्दीमध्ये ३२ वटा रिक्त छन्। मन्त्रालयमा प्रशासन उपसचिव, सिँचाइतर्फ सिनियर डिभिजन इन्जिनियर उपसचिव, सहरी विकास बिएन्डआर डिभिजन इन्जिनियर, जनरल डिभिजन इन्जिनियर, हाइवे डिभिजन इन्जिनियर र सेनेटरी (खानेपानी) डिभिजन इन्जिनियरका एक/एक दरबन्दी रिक्त छन्। त्यसैगरी शाखा अधिकृतका तीन र इन्जिनियरका २३ दरबन्दी रिक्त छन्।

मन्त्रालयमा दरबन्दीअनुसारका कर्मचारी नहुँदा दैनिक कामकाजमा कठिनाइ हुने गरेको मन्त्रालयका नायब सुब्बा रामचन्द्र भट्टले बताए। ‘मन्त्रालयमा रहेको दरबन्दी संख्या ५५ हो तर २३ जनाले मात्रै काम गरिरहेका छौं।’ भौतिक पूर्वाधार विकास मन्त्रालय प्राविधिक कर्मचारीहरू हुने कार्यालय भएकाले पनि यहाँ प्राविधिक कर्मचारी अभाव हुँदा योजना बनाउन तथा काम गर्न समस्या हुने गरेको उनी बताउँछन्। ‘यहाँका प्रायः योजना प्राविधिक कर्मचारीले बनाउने हो,’ उनले भने, ‘उनीहरू नै नहुँदा काम गर्न गाह्रो छ।’

प्रत्येक विभाग हेर्ने डिभिजन इन्जिनियर नहुँदा प्रदेश सचिव एक्लैले सबै क्षेत्र हेर्नुपर्ने बाध्यता रहेको उनले सुनाए। ‘प्रदेश सचिव एक्लैले सबैतिरको काम हेरिरहनुभएको छ,’ उनले भने, ‘एक्लैले सबैतिरको काम गर्नुपर्दा समयमै गर्न नसकिने समस्या हुने गरेको छ।’ मन्त्रालयमा २६ इन्जिनियरको दरबन्दीमा तीनजना इन्जिनियरले काम गरिरहेको सुनाउँदै उनले भने, ‘प्रत्येक सेक्टरमा इन्जिनियर हुनुपर्नेमा यहाँ त तीनवटा मात्रै इन्जिनियरले काम चलाइरहनुभएको छ।’ प्राविधिक कर्मचारी नहुँदा उहाँहरूको प्रशासनिक काम अप्राविधिक कर्मचारीले गरे पनि प्राविधिक कुरा भने गर्न नसकिने उनी बताउँछन्। ‘कार्यालयको अप्राविधिक काम त हामी अप्राविधिक कर्मचारीले गरिरहेका छौं,’ उनले भने, ‘तर प्राविधिक कुरामा भने समस्या पर्ने गरेको छ।’

मन्त्रालयमा दरबन्दीअनुसारका कर्मचारी नहुँदा समस्या झेल्नुपरिरहेको बताउँदै भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रदेश सचिव इन्द्रदेव भट्टले भने, ‘हाम्रो मन्त्रालयमातहत जिल्ला र डिभिजन कार्यालयमा प्राविधिक कर्मचारी ५० प्रतिशत मात्रै पूर्ति भएको छ, बाँकी ५० प्रतिशत दरबन्दी अझै रिक्त छ। यसले कसरी काम गर्न सकिन्छ र ?’ तर पनि आफू र केही नजिकका डिभिजन कार्यालयका प्राविधिक कर्मचारीको सहयोग लिएर मन्त्रालयमा काम चलाइरहेको उनी बताउँछन्। आफूमातहतको मन्त्रालय प्राविधिक जनशक्तिबाटै सञ्चालन हुने भएकाले पनि दरबन्दीअनुसारका कर्मचारी नहुँदा समस्यामा परेको उनले बताए।

समयमै प्राविधिक कर्मचारी पठाइदिन भन्दै पटकपटक लिखित र मौखिक रूपमा संघीय सरकारलाई अनुरोधसमेत गरिएको उनले बताए। ‘कर्मचारी नहुँदा काम गर्न कठिनाइ भएको भन्दै हामीले पटकपटक संघीय सरकारलाई दरबन्दीअनुसारका कर्मचारी पठाइदिन अनुरोध पनि गरेका छौं,’ उनले भने। भौतिक पूर्वाधार विकास मन्त्रालय मात्रै नभई सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत मन्त्रालय कर्मचारी अभाव झेलिरहेका छन्।

प्रकाशित: १३ आश्विन २०७६ ०१:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App