८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

‘ह्वाइट हाउसले ट्रम्पको फोनवार्ताको विवरण लुकायो’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्य राष्ट्रका नेताहरुसँग गरेको फोनवार्ताको टिपोटमा ह्वाइट हाउसले लुकाएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

अधिकारीहरूका अनुसार रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र साउदी युवराज मोहम्मद बिन सलमानजस्ता नेतासँग ट्रम्पले फोनमा गरेको कुराकानीको विवरण ह्वाइट हाउसले नियमित तरिकाले राखिएको छैन।

सूचना नचुहियोस् भनेर ट्रम्पका सहयोगीहरुले ती टिपोटहरु जसले पायो त्यसले हेर्न नमिल्ने गरी राखेका ती अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।

युक्रेनका राष्ट्रपतिसँग ट्रम्पले गरेको कुराकानी आपत्तिजनक भएको भन्दै उजुरी परेपछि विपक्षी डेमोक्र्याटिक दलले ट्रम्पविरुद्ध महाभियोगको प्रक्रिया सुरु गरिसकेको छ। त्यसपछि सार्वजनिक भएका यी दाबीबारे ह्वाइट हाउसले भने कुनै टिप्पणी गरेको छैन।

आगामी राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक दलबाट उम्मेदवार बन्ने अनुमान गरिएका जो बाइडनविरुद्ध ट्रम्पले युक्रेनमा भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्न त्यहाँका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई दबाब दिएको आरोप उजुरीमा परेको छ। ह्वाइट हाउसले पछि सार्वजनिक गरेको वार्ताको लिखित प्रतिलिपिमा त्यसलाई पुष्टि गर्ने आधार देखिएको छ। उजुरीपछि डेमोक्र्याट सांसदहरुले ट्रम्पविरुद्ध संसदीय समितिमै अनुसन्धान सुरु गराएका छन्।

ह्वाइट हाउसले शुक्रबार उक्त फोनवार्ताको टिपोट अतिगोप्य सूचना भएकाले छुट्टै प्रणालीमा राखिएको पुष्टि गरेको थियो। विभिन्न अमेरिकी सञ्चारमाध्यमले उद्धृत गरेका अधिकारीहरुका अनुसार राष्ट्रपति ट्रम्पले विदेशी नेताहरुसँग गरेका केही फोनवार्ताको टिपोट हेर्न नदिने नीति एक वर्षभन्दा अघिदेखि सुरु भएको हो। सन् २०१७ मा ट्रम्प र अस्ट्रेलियाका तत्कालीन प्रधानमन्त्री माल्कम टर्नबुलबीच भएको संवाद सार्वजनिक भएपछि नेताहरुको वार्ताको विवरण चुहिन नदिन ह्वाइट हाउसका अधिकारीहरूले त्यस्तो निर्णय गरेका थिए। रुसका विदेशमन्त्रीसँग भएको कुराकानीको विवरण पनि समाचारमा आएपछि झन् कडाइ गरिएको थियो।

त्यसपछि फोनवार्ताको टिपोटको प्रतिलिपि दिइने व्यक्तिको संख्या पनि घटाइनुका साथै केही फोनवार्ताका विवरण गोप्य सूचना भण्डारण गर्ने विशेष प्रणालीमा छुट्टै राख्न थालिएको थियो। उक्त प्रणाली विदेशमा गरिने गुप्तचरी र गुप्त अभियानबारे सूचना राख्न छुट्याइएको हो। नियमित प्रणालीमा जस्तो त्यसमा नेसनल सेक्युरिटी काउन्सिलका अधिकारीहरूको पहुँच हुँदैन। उदाहरणका लागि राष्ट्रपतिको फोनवार्ताको टिपोटको प्रतिलिपि प्रायः हेर्न पाउने सहयोगी र अधिकारीहरूले ट्रम्प र साउदी युवराज तथा साउदी राजपरिवारका अन्य सदस्यबीच के कुरा भएको थियो त्यसको विवरण हेर्न पाएनन्।

‘द न्युयोर्क टाइम्स’का अनुसार साउदी पत्रकार जमाल खसोग्जीको गत वर्ष हत्या भएपछि साउदी युवराजले ट्रम्पलाई फोन गरेका थिए। एक अधिकारीले उक्त पत्रिकालाई राष्ट्रपति अनुचित काममा संलग्न भएको कुनै प्रमाण नभएको बताएका थिए।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको कम्तीमा एउटा फोनवार्ताको टिपोट पनि सामान्य प्रणालीमा नराखिएको बताइएको छ। तर ती फोनका टिपोटहरू विशेष प्रणालीमा राखिएको छ कि छैन भन्ने विवरण भने स्पष्ट नभएको बिबिसीले उल्लेख गरेको छ।

उता, गत जुलाई २५ मा भएको ट्रम्प–जेलोन्स्की संवादबारे अमेरिकी संसदीय समितिले छानबिन गर्दैछ। गत महिना दर्ता गरिएको एउटा उजुरीमा अमेरिकी गुप्तचर निकायभित्रकै एक गोप्य सूचनादाताले राष्ट्रपतिले आफ्नो पदीय शक्ति प्रयोग गरेर सन् २०२० को निर्वाचनमा विदेशी हस्तक्षेप निम्त्याएको व्यवहोरा उल्लेख गरेका थिए। त्यसैले यो अतिमहत्वको विषय भएको उनको दाबी थियो।

ट्रम्प–जेलोन्स्की संवादबारे ह्वाइट हाउसले सार्वजनिक गरेको टिपोटको खेस्रामा ट्रम्पले नवनियुक्त युक्रेनी राष्ट्रपतिलाई जो बाइडन र उनका छोरा हन्टर बाइडनविरुद्ध लागेको भ्रष्टाचारको आरोपको छानबिन गर्न आग्रह गरेको देखिन्छ। गत जुलाईमा ट्रम्पले युक्रेनलाई दिइने सैन्य सहायता रोकिदिएका थिए। त्यही बेला उनले युक्रेनी समकक्षीसँग बाइडन बावुछोरासँग सम्बन्धित कुरा गरेको खुलेको छ। तर उनले युक्रेनलाई दबाब दिन त्यसो नगरेको दाबी गरेका छन्।

ट्रम्पले बाइडनलाई बदनाम गर्न अवैधानिक रूपमा विदेशी सहयोग लिन खोजेको डेमोक्र्याटहरुले आरोप लगाएका छन्। जो बाइडन राष्ट्रपति निर्वाचनमा डेमोक्र्याट दलका तर्फबाट उम्मेदवारहरूको अग्रपंक्तिमा छन्।

राष्ट्रपति ट्रम्पले कुनै गलत काम नगरेको भन्दै आफूविरुद्ध लगाइएका आरोपहरू ‘जाली’ भएको दाबी गरिरहेका छन्। आरोप ‘आफूलाई हतोत्साहित बनाउने दुराशय’ भएको उनको जिकिर छ।

गत शुक्रबार संसदीय समितिहरूले विदेशमन्त्री माइक पोम्पेओलाई सरकारले युक्रेनसम्बन्धी विषय र दस्ताबेजको विषयमा आफैँ उपस्थित भएर जानकारी दिन निर्देशन दिएका थिए भने सोही दिन नै युक्रेनका लागि अमेरिकाका विशेषदूत कर्ट भोल्करले राजीनामा दिएका थिए।

अमेरिकी संविधानअनुसार ‘देशद्रोह, घुसखोरी वा अन्य ठूला अपराध र मिस्डिमिनर भनिने अलि कम गम्भीर प्रकृतिको अपराधमा’ राष्ट्रपतिलाई महाभियोग लगाउन मिल्छ। संसद्का दुवै सदनबाट महाभियोग पारित भए राष्ट्रपति पदमुक्त हुने संवैधानिक व्यवस्था रहेको छ। कंग्रेसको अनुसन्धान ट्रम्पले राष्ट्रपतीय अधिकार दुरुपयोग गरे वा गरेनन् तथा विदेशी सहयोगमा बाइडनलाई कमजोर पारेर आफू पुनः निर्वाचित हुन खोजेका हुन् वा होइनन् भन्ने विषयमा केन्द्रित हुने बताइएको छ।

प्रकाशित: १३ आश्विन २०७६ ०१:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App