coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

देवुको आँखामा खुसी

नृत्य निर्देशक देवु वोरा।

सुदूरपश्चिमबाट चम्किएका नृत्य निर्देशक देवु वोराले काठमाडौंका दर्शकलाई मन्त्रमुग्ध बनाएका छन्। वोराको प्रतिभाको सम्मान गर्न हिमाल डेन्टल अस्पतालले बुधबार प्रज्ञा प्रतिष्ठानमा उनको एकल नृत्य कार्यक्रम गरेको थियो।

कार्यक्रममा उनले प्रथम डेउडा गायक परिमल स्नेहीदेखि अन्य चर्चित गायक/गायिकाका कालजयी १३ गीतमा नृत्य प्रस्तुत गरेर दर्शकको मन जिते। सुदूरपश्चिमका सांस्कृतिक अध्येता हेमन्त विवशको प्रस्तावमा अस्पतालले कलाकार वोराको एकल नृत्य साँझको चाँजो मिलाएको हो।

कार्यक्रममा अस्पतालका अध्यक्ष डा. राजेन्द्र भट्टले उनलाई पचास हजार नगदसहित सम्मान गरेका थिए। एकल प्रस्तुति दिन पाउँदा कलाकार वोराको आँखामा खुसी छचल्किएको देखिन्थ्यो।

काठमाडौंमा बसेर नृत्य प्रशिक्षणसँगै ठाउँठाउँमा प्रस्तुति दिँदै आएका वोरा तीन दशक भन्दा लामो समयदेखि कलामा समर्पित छन्। धनगढीमा कक्षा ५ मा पढ्दैदेखि उनी केही विद्यालयमा नृत्य सिकाउन थालिसकेका थिए।

डोटीमा ०५७ मा भएको नाटक महोत्सवमा प्रेम बिकले निर्देशन गरेको ‘नारीको आवाज’ शीर्षक नाटकमा अभिनय गर्न देबुले निम्तो पाए। संयोगले त्यही उनको भेट भयो डा. तुलसी भट्टराई र नीर शाहसँग। देबुको नृत्यबाट प्रभावित बनेका शाहले उनलाई काठमाडौं आउन निम्तो दिए। अनि २२ वर्षको उमेरमा काठमाडौं आए उनी। शाहले उनलाई पज्ञाप्रतिष्ठानमा जागिर मिलाइ दिए।

प्रतिष्ठानको पाँच वर्षे जागिरे जीवनमा उनले मालती मंगले, सहनशीला सुशीला, अम्बरसिंह जस्ता नाटकमा खेल्ने अवसर पाए। पछि उनले आफ्नो शरीरभरि ५१ वटा मैनबत्ती बालेर नृत्य प्रस्तुत गरेर सबैलाई चकित पारिदिए।

त्यसबाट प्रभावित भएर नेपाल पर्यटन बोर्डले उनलाई सिगांपुर र कोरिया पु-यायो। त्यहाँ पनि आफुले मैनबत्ती नृत्य गरेको उनी सुनाउँछन्।
यसरी निरन्तर नेपाली लोकनृत्य संरक्षणमा लागेका वोरा भन्छन्, ‘बाँचुञ्जल नेपाली धर्तिमा कला पस्केरै बाँच्छु।’

प्रकाशित: १३ आश्विन २०७६ ०१:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App