coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

अरुपणमा टेक्सचर विधिका कला

काठमाडौँ - राजधानी वरपरका आर्ट ग्यालरीमा राखिएका चित्रकलाले विभिन्न आकृतिको बयान गरिरहेका हुन्छन् । प्राय चित्रकलामा गहिरो अर्थ पाइन्छ । चित्रकार तथा कला समीक्षक रमेश खनालको लाजिम्पाटस्थित अरुपण ग्यालरीमा झुण्डाइएका चित्रकलाहरु टेक्सचर विधिको प्रयोग गरिएका छन् ।

अमूर्त कलाको लागि परिचित चित्रकार खनालले टेक्सचर विधि (खस्रो सतह) प्रयोग गरेर बनाइएका पहाड, आकाश र बादललगायत चित्रहरुको गत भदौ २८ देखि अरुपण आर्ट ग्यालरीमा राखिएका छन् । उनको एकल चित्रकला प्रदर्शनीमा टेक्सचर विधिबाट बनाएका २८ वटा कलाहरू राखिएका छन् । विदेशमा लोकप्रिय मानिने टेक्सचर विधि नेपालमा भने पहिलोपटक प्रयोगमा आएको दाबी चित्रकार खनालले गरेका छन् ।

पाँच दशकदेखि चित्रकलामा सक्रिय उनले बनाएका चित्रकलामा कुनै सिमा तोकिएका छैनन् । हेर्दा माछा, गोही, हिमाल, बुट्टावाला फूल र चरा उडेकोजस्तो कलात्मक आकृतिले केहीबेर गम्भिर भएर सोच्न बाध्य बनाइरहेका छन् । करिब दुई वर्षअघि अमेरिका जाँदा चित्रकार खनालले टेक्सचर विधिबारे बुझ्ने अवसर पाएका थिए । प्रदर्शनीमा राखिएका चित्रकलालाई गुणात्मक र सौन्दर्य प्रदान गर्न टेक्सचर विधि महत्वपूर्ण मानिन्छन् ।

टेक्सचर विधिको लागि उनले बालुवा, काठको धुलो, काइयो, बोरा र ब्रसको प्रयोग गरेका छन् । बोरामाथि गोल्डेन रंगलाई कलात्मक शैलीमा प्रयोग गरेका छन् । ‘चित्रकलामा नयाँपन ल्याउन टेक्सचर विधिको प्रयोग गरेको हुँ । यसले मानिसको भाव बोल्नेमात्र नभएर दर्शकलाई नयाँपनको आभास दिलाउँछ,’ उनले भने । यो उनको ३४ औं एकल प्रदर्शनी हो ।

उनले चित्रकलामा कालो, निलो, हरियो, सेतो, पहेँलो र सुनौलो रंगको प्रयोग गरेका छन् । चित्रमा प्रयोग भएको रंगले खुसी, दुःख र विभिन्न भावको प्रतिनिधित्व गरेको छ । ‘अरुपण आर्टको कुनै रुप हुँदैन । जसले जुन मुडअनुसार हेर्छ त्यो त्यस्तै देखिन्छ । नेपालका आर्ट ग्यालरीमा टेक्सचर विधिका खासै प्रयोग भएको पाइन्न्, उनी भन्छन्,‘अमूर्त चित्र भावनात्मक रूपमा बुझ्न सहज हुने गर्छन् ।’ प्रदर्शनी आगामी असोज २८ सम्म चल्नेछ ।

प्रकाशित: १३ आश्विन २०७६ ०१:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App