coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

प्रदर्शनकारीमाथि पानीको फोहोरा, अश्रुग्यास र रबरको गोली प्रहार

हङकङको दंगा प्रहरीसँग झडप भएपछि सरकारविरोधी प्रदर्शनकारीले लगाएको आगो। तस्बिर ः एजेन्सी

हङकङ – हङकङमा आइतबार भएको सरकाविरोधी प्रदर्शनमा सहभागी भएका प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहोरा, रबरका गोली र कैयौं सेल अश्रुग्यास प्रहार गरेको छ।

तीन महिनाभन्दा लामो समयदेखि तनाबग्रस्त हङकङमा आइतबार भएको सरकारविरोधी प्रदर्शन हालसम्मकै हिंस्रक भएको बताइएको छ। प्रदर्शनकारीले प्रहरीलाई लक्षित गर्दै पेट्रोल बम प्रहार गरेपछि प्रहरीले आत्मरक्षाका लागि दर्जनौं सेल अश्रुग्याससहित पानीको फोहोरा र रबरका गोली प्रहार गरेको बताइएको छ। प्रहरीले सहरको विधायिकी परिषद्को भवनबाट प्रदर्शनकारीलाई अश्रुग्यास प्रहार गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन्।

आइतबार वान चाई बार क्षेत्रस्थित कजवे बे सपिङ जिल्ला र केन्द्रीय सरकारका कार्यायलहरु रहेको एड्मिराल्टी जिल्लामा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।ती क्षेत्रमा प्रदर्शनकारीले शनिबार रातिदेखि नै सडकमै आगो बालेर प्रदर्शन गरेको समेत बताइएको छ। मुख्यभूमि जनवादी गणतन्त्र चीनको ७० औं स्थापना दिवस अर्थात् अक्टोबर १ आउनै लाग्दा हङकङमा थप प्रदर्शनको तयारी भइरहेको बताइएको छ।

हङकङ प्रदर्शनको ट्रेडमार्क अनुहार छोप्ने कालो मास्क लगाएका अधिकांश प्रदर्शनकारीले प्रहरीले प्रहार गरेको अश्रुग्याससँग बच्नका लागि आफूले बोकेको छाताको सहायता लिएका थिए भने केहीले प्रहरीमाथि नै अश्रुग्यास टिपरे फालेका थिए।

प्रदर्शनकारीले अन्य भग्नावशेष, कुच्चिएका क्यान र ट्रलीको सहायताले प्रहरीको अश्रुग्यासबाट बच्नका लागि बार पनि बनाएका थिए। एकजना प्रदर्शनकारीले वान चाई मेट्रो स्टेसनमा रहेका प्रहरीमाथि एउटा पेट्रोल बम प्रहार गरेपछि स्थिति तनाबग्रस्त भएको थियो। ती प्रदर्शनकारीले प्रहार गरेको पेट्रोल बमका कारण सो क्षेत्रमा आगलागी सुरु भएको थियो।

प्रदर्शनकारीमध्ये केहीले भने सो क्षेत्रमै रहेको बैंक अफ चाइनाको एटिएममा रहेका क्यामेरा तोडफोड गर्ने प्रयास गरे पनि त्यो सफल हुन नसकेपछि क्यामेराको स्क्रिनमा रंग छ्यापेका थिए।

प्रदर्शनकारीले प्रहार गरेको मध्ये कम्तीमा पनि एउटा पेट्रोल बम केन्द्रीय सरकारी कार्यालयको कम्पाउन्डमा प्रवेश गरेको थियो, जसका कारण कार्यालयका झ्यालका सिसा फुटेको छ। त्यसैगरी हेन्नेस्से सडकको प्रमुख क्षेत्रमा पनि प्रदर्शनकारीले लगाएको आगो अबेरसम्म बलेको थियो।

प्रदर्शनकारी आक्रामक भएपछि प्रहरीले बल प्रयोग गर्ने चेतावनी लेखिएको ब्यानर देखाएको थियो। प्रहरीको चेतावनीयुक्त ब्यानरको पनि अटेर गर्दै प्रदर्शनकारी आक्रामक भएपछि उनीहरुलाई प्रहरीले पानीको फोहोरा, अश्रुग्यास र रबरका गोली प्रहार गरेको थियो। यो समाचार तयार पार्दासम्म कोही सख्त घाइते भएको समाचार प्राप्त भएको छैन।

मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्नेबारे सरकारले विधेयक ल्याएपछि सुरु भएको प्रदर्शनका कारण   तीन महिना भन्दा बढी अवधिदेखि हङकङमा सरकारविरोधी प्रदर्शन जारी रहेको छ।

हङकङको प्रमुख नेतृत्वले प्रदर्शनकारीका मागमध्येको एउटा प्रमुख माग ‘मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्ने’ सम्बन्धी विधेयक फिर्ता लिए पनि प्रदर्शनकारीले १६ सातादेखि निरन्तर प्रदर्शन गरिरहेका छन्।

हङकङकी प्रमुख कार्यकारी क्यारी लामले तीन साताअघि विवादास्पद सुपुर्दगी विधेयक फिर्ता लिने घोषणा गरेकी थिइन्।सुरुमा सुपुर्दगी विधेयक फिर्ता लिनका लागि दबाब दिने उद्देश्यले प्रदर्शन आयोजना गरिएको भए पनि हाल आएर हङकङ प्रदर्शन बृहद् प्रजातान्त्रिक सुधार र स्वतन्त्रता कम हुँदै गएको प्रति लक्षित भएको छ। यति मात्रै नभई प्रदर्शनकारीले हङकङकी नेत्री लामको राजीनामाको मागसमेत गर्दै आएका छन्।

एसियाली हब हङकङमा भइरहेको पछिल्लो प्रदर्शन स्वतन्त्रता र स्वायत्तताको मागतर्फ अघि बढिरहेको छ। कुनैबेला बेलायतको उपनिवेशका रूपमा रहेको हङकङ हाल ‘एक राष्ट्र, दुई प्रणाली’ अन्तर्गत चीनको एक महŒवपूर्ण अंगका रूपमा रहेको छ। यही व्यवस्थाका कारण हङकङमा मुख्यभूमि चीनमा भन्दा बढी स्वतन्त्रता, छुट्टै कानुनी व्यवस्था र आफ्नै न्याय प्रणाली रहेको छ। विदेश र रक्षा नीतिबाहेकमा चीन सरकारले हङकङलाई स्वायत्तता प्रदान गरेको छ।

यसैबीच, पछिल्लो पटक प्रदर्शनकारीका माग विशेषतः चारवटा प्रमुख मुद्दामा केन्द्रित रहेका छन्। जसमा, प्रशासनले प्रदर्शनलाई ‘दंगा’ भनेर परिभाषित गरेकाले सो फिर्ता हुनुपर्ने, पक्राउ परेका सबैलाई माफी दिइनुपर्ने, प्रदर्शनकारीमाथि प्रहरीद्वारा गरिएको बल प्रयोगको जाँचबुझका लागि स्वतन्त्र आयोग गठन गर्नुपर्ने र हङकङको प्रमुख कार्यकारी र विधायन परिषद्को निर्वाचनका लागि विश्व स्वीकारोक्ति हुनुपर्ने  रहेका छन्।

आउँदो अक्टोबर १ का दिन जनवादी गणतन्त्र चीन स्थापनाको ७० औं वार्षिकोत्सव रहेको छ। वार्षिकोत्सव आउन केही दिनमात्रै बाँकी रहेको अवस्थामा पनि हङकङको अवस्था सामान्य हुन सकिरहेको छैन। हङकङमा १७ सातादेखि प्रदर्शन जारी छ।
 

 

प्रकाशित: १३ आश्विन २०७६ ०१:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App