coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

नेकपा कार्यकर्ताले बाटोमै रोकेपछि मीनेन्द्र रिजालले के भने?

काठमाडौं– नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजाललाई आइतबार तनहुँमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले अवरोधको प्रयास गरे। तनहुँको ऋषिङ गाउँपालिकाको भवन शिलान्यास गर्न जाने क्रममा नेकपालगायत दलका कार्यकर्ताले उनलाई कार्यक्रमस्थलमा जानै नदिइ सडकमै दुई घण्टा भन्दा बढी समय अवरोध गरे। 

तनहुँको भिमाद हुदै ऋषिङ गाउँपालिका–६ पोखरीभञ्ज्याङ्गमा गाउँपालिकाको भवन शिलान्यासको लागि जानेक्रममा ऋषिङको अइ्टी चौतारामा परिसरमा रिजाललगायतका कांग्रेसका नेताहरु रोकिएका थिए। यद्यपि लामो समय सडकमै रोकिएका रिजाल अवरोध पन्छाउँदै कार्यक्रममा सहभागी भए। 

घटनापछि नागरिकसँग कुरा गर्दै रिजालले लोकतन्त्रमाथि सरकार र त्यसका कार्यकर्ताबाट खतरा रहेको बताए। यसअघि जागरण अभियानका क्रममा बाँके सभापति किरण कोइरालाको हात भाँचिनु र अहिले आफूलाई रोक्ने प्रयास हुनुले सत्तारुढ दल र सरकारको अधिनायकवादी नियत देखिइसकेको उनको भनाई छ। 

अवरोधको स्थितीबारे रिजालले नागरिकलाई यसरी बताए

तनहुँको ऋषिङ गाउँपालिकाको भवन शिलान्यासको कार्यक्रममा जाँदै थियौं। बाटोमा नेकपाका कार्यकर्ताले जघन्य रुपमा आक्रमणको प्रयास गरे। बोतल र ढुंगामुडा पनि प्रहार गरियो। बाटोमा ट्याक्टरहरु, ढुंगा तेर्साएर घण्टौसम्म अवरोध गरियो।

सामान्य नागरिकले पनि कार्यक्रम गर्न पाउँछ। हामी पनि त्यसरी नै गएका थियौं। जाँदा खेरी सत्तापक्षका मान्छेले अवरोध गरेर लोकतन्त्र माथि नै प्रहार गरे। यो एउटा दुस्साहन जस्तो शासन गर्न खोजियो। अहिलेको लोकतन्त्रलाई अरु कसैबाट होइन वर्तमान सरकार र त्यसका कार्यकर्ताबाट खतरा छ। यो विभिन्न घटनाक्रमले देखाइसकेको छ। 

तिमीहरुले चुनाव जितेको ठाउँ भनेर अवरोध गरे। अवरोध पन्छाएर अघि बढ्यौं। सत्तापक्षको यो कदम यो घोर आपत्तिजनक कुरा हो। 

घटनापछि वरिष्ठ नेता रामचन्द्र पौडेल, पार्टीको केन्द्रीय कार्यालय र संसदीय दलले छुट्टा छुट्टै विज्ञप्ति जारी गरेर घटनाको भर्त्सना गरेका छन्। 

प्रकाशित: १२ आश्विन २०७६ १४:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App