७ वैशाख २०८१ शुक्रबार
राजनीति

कार्यक्रममा हिँडेका रिजाललाई नेकपा कार्यकर्ताले बाटोमै रोके

तनहुँ– तनहुँको ऋषिङ गाउँपालिकाको भवन शिलान्यास गर्न जाने क्रममा नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाललाई नेकपाका कार्यकर्ताले अवरोध गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लगायतका दलका कार्यकर्ताले उनलाई कार्यक्रमस्थलमा जानै नदिइ सडकमै दुई घण्टा भन्दा बढी समय अवरोध गरेका हुन्।

तनहुँको भिमाद हुदै ऋषिङ गाउँपालिका–६ पोखरीभञ्ज्याङ्गमा गाउँपालिकाको भवन शिलान्यासको लागि जानेक्रममा उनलाई ऋषिङको अइ्टी चौतारामा परिसरमा रिजाललगायतका कांग्रेसका नेताहरु रोकिएका हुन्। लामो समय सडकमै रोकिएका रिजाल कार्यक्रमस्थलमा पुगेर कार्यक्रममा सरिक भएको ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए।

ऋषिङ गाउँपालिकाको भवन निर्माण गर्ने विषयमा ऋषिङमा नेकपालगायतका राजनीतिक दलले असन्तुष्टी जनाउदै आइतबार ऋषिङ गाउँपालिका बन्दको आव्हान गरेका थिए। उनीहरुले ऋषिङ्ग गाउँपालिकाका ८ बटै वडा कार्यालयमा तालावन्दी समेत गरेका छन्।

नेकपा ऋषिङ्ग गाउँपालिका इञ्चार्ज गञ्जसिंह गुरुङले आफूहरुको माग बमोजिम ढुंगाडेमा केन्द्र तय नगरी पोखरीभज्याङ्गमा तय गर्न लागिएको भन्दै विरोधस्वरुप बन्द गरिएको बताए। ‘ढुंगाडे सबैलाई पायक पर्ने स्थानमा भएकाले यहाँ नै गाउँपालिका भवन बनाउनुपर्छ भन्ने हाम्रो अडान हो,’ उनले भने।

गतवर्ष गाउँपालिकाको गाउँसभाले पोखरीभज्याङ्गमा कार्यपालिका भवन बनाउने निर्णय गरेको रिसिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए। गाउँपालिकाले भवन शिलान्यास तोकेकै दिन कार्यक्रममा अवरोध गर्ने गरी नेकपालगायतका दलले गाउँपालिका बन्द आह्वान गरेका थिए।

नेकपाका सचिवालय सदस्य हरिराज कँडेलले सबैका लागि पायक पर्ने ठाउँमा भवन नबन्ने देखेपछि आफूहरु विरोधमा उत्रिएको बताए। ‘अहिले भवन निर्माण गर्ने स्थान पायक पर्ने स्थानमा छैन् त्यसैले हाम्रो विरोध हो,’ उनले भने।

गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले गाउँसभाले पारित गरिसकेको र सर्वदलीय सहमति भइसकेको विषयलाई राजनीतिक फाइदाका लागि उचालिएको बताए। गाउँपालिकाका सबै सिटमा कांग्रेसबाट जनप्रतिनिधि छन्।

प्रकाशित: १२ आश्विन २०७६ १२:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App