coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सम्पदा छन्, सडक छैनन्

भक्तपुर– भक्तपुरको पर्यटकीय आकर्षण केन्द्रको चर्चा हुने बित्तिकै आउँछ नगरकोटको नाम। तर सडक हिलाम्य भएका कारण नगरकोटसम्म सहजै पुग्न कठिन छ।

भक्तपुरको कमलविनायक भत्केको पाटीदेखि नगरकोटसम्म पुग्ने १६ किलोमिटर लामो सडक खण्डको विस्तार कार्य वर्षौदेखि हुँंदै आए पनि अझै सकिएको छैन। आव ०७२/७३ मै सकिनुपर्ने सडक विस्तार सम्पन्न नहुँदा त्यहाँ पर्यटक चाहेर पनि पुग्न सकेका छैनन्।

फलस्वरुप त्यहाँ पुग्न चाहने पर्यटक धुलिखेललगायत क्षेत्र घुम्न जाने गर्छन्। नगरकोट नाल्दुम पर्यटन विकास समितिका उपाध्यक्ष धनबहादुर लामा भ्रमण वर्षको नाराले मात्रै केही नहुने बताउँंछन्।

‘पर्यटकीय स्थलसम्म सहज रुपमा पुग्ने सडक र बस्ने वातावरण सिर्जना गर्नु महत्वपूर्ण हो,’ उनले भने, ‘आधारभूत भौतिक पूर्वाधार निर्माण नगरी केही पनि हुनेवाला छैन।’ नगरकोट सडक विस्तार सम्पन्न नगरी नगरकोटमा पर्यटक आउनै नसक्ने भन्दै उनले नगरकोटवासीका लागि यो पटकको नेपाल भ्रमण वर्ष हर्ष न विस्मात रहने बताए।

नगरकोट सडक विस्तार योजना कछुवा गतिमा भइरहेकाले यथाशक्य छिटो सकाउन पहल गर्न कयौं पटक राजनीतिक उच्च तहसम्म पुगेर ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएको भन्दै उनले दुखेसो पोखे।

 
समितिको तथ्यांकअनुसार नगरकोटमा रहेका करिब चार दर्जन ठूला–साना होटलले मौसममा दैनिक करिब ५० लाख रुपैयाँसम्म कारोबार गर्छन्। तर सडकको दूरवस्थाले अहिले उक्त कारोबार आधा कमी आएको समितिले जनाएको छ।

नगरकोटका होटलले दैनिक करिब आठ सय पर्यटक त्यहाँ बसाउने क्षमता राख्छन्। भक्तपुरकै अर्काे पर्यटकीय आकर्षण केन्द्र चाँगुनारायणको पनि हालत यो भन्दा पृथक छैन।

विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण क्षेत्र पुुग्ने कालोपत्रे सडक भए पनि सबैतिर खाल्डाखुल्डी परेका छन् । सडक साँंघुरो छ। पर्यटकका लागि बस्ने राम्रो होटलको व्यवस्था छैन। 

चाँगुनारायण नगरपालिका वडा नं ४ चाँगुनारायणका वडाध्यक्ष बुद्धीनारायण महर्जनले मन्दिर पुनर्निर्माण सके पनि आसपासका पाटी, सम्पदा पुनर्निर्माण अझै बाँकी रहेको बताए।

‘जुन हेर्न आउने हो, त्यो नै भूकम्पले भत्केको अवस्थामा भएपछि पर्यटक के हेर्न यहाँ आउँंछन् ? उनले प्रश्न गरे। यातायात सुविधा नभएका कारण पनि पर्यटकलाई त्यहाँसम्म ल्याउन अप्ठेरो भएको उनले सुनाए।

साथै बस्ने राम्रो होटलको अभावमा पर्यटक हतारहतारमा फकर्नुपर्ने बाध्यता भएको उनले बताए। ‘पर्यटकका लागि बस्नलायक तारे होटल छैनन्। सामान्य होटलमात्रै छन्,’ उनले भने।   

पर्यटक बढी ओइरिने भक्तपुर नगर क्षेत्र भने पुरानो सहर हो। त्यसकारण यहाँका सडक इँटाले छापिएका छन्। पुरानो परम्परा कायम गर्न भनी भक्तपुर नगरपालिकाले बजारका मुख्य सडकमा इँटाको ठाउँमा ढुंगा छपाइको काम धमाधम गरिरहेको छ।

विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार क्षेत्र यहाँको मुख्य पर्यटकीय आकर्षण केन्द्र हो। पाँचतल्ले मन्दिर, ५५ झ्याले दरबार, दतात्रय क्षेत्र यहाँका मुख्य पर्यटकीय आकर्षणका केन्द्र हुन्। 

यीबाहेक भक्तपुरमा अनगिन्ती पर्यटकीय आकर्षण केन्द्र छन्, तर आवश्यक पूर्वाधारको अवस्था राम्रो छैन। छालिंगको त्रिसुलडाँडा, नगरकोटको तेलकोट, सूर्यविनायकको घयाम्पेडाँडा, नंखेलको काँक्राबारी, मध्यपुर थिमिको निलबाराही, नगरकोटकै महादेव पोखरीलगायत क्षेत्र पुग्ने सडकको अवस्था राम्रो छैन।

यीबाहेक सूर्यविनायकको सूर्यविनायक गणेश मन्दिर, कटुञ्जेको अनन्तलिंगेश्वर, सूर्यविनायककै पाइलटबाबा, सिपाडोलको डोलेश्वर महादेव पुग्ने सहज सडक भए पनि बस्न राम्रो होटलको अभाव छ। 

 

प्रकाशित: १२ आश्विन २०७६ ०६:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App