८ वैशाख २०८१ शनिबार
समाज

सहचालकले चलाएको बस दुर्घटना, पाँचजना घाइते

दुर्घटनाग्रस्त बस।

धादिङ - धादिङको नीलकण्ठ नगरपालिका वडा नं १३ कैरौजामा यात्रुबाहक बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। घाइते मध्ये चार जनाको अवस्था चिन्ताजनक छ। नेत्रावती डबजोङ गाउँपालिकास्थित सेमजोङबाट धादिङबेसीतर्फ आउँदै गरेको बा ४ ख ५७९३ नम्बर यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट खसेको थियो। 

दुर्घटनामा नेत्रावती डबजोङ गाउँपालिका वडा न ५ का ५८ वर्षीय दलबहादुर तामाङ, ६९ वर्षीय हस्त कुमारी तामाङ, २० वर्षीय लक्ष्मी गुरुङ, ४५ वर्षीय चेन्डे दमाइ, ६० वर्षीय सान्त माया गुरुङ घाईते भएका छन्। घाइतेहरुको जिल्ला अस्पताल धादिङमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाणडौ पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

स्थानीय भीम तामाङको अनुसार बस सहचालकले चलाएका थिए।  तामाङ आफै पनि बसमा सवार थिए, तर बस सहचालकले चलाएपछि श्रीमतीसहित तामाङ बसबाट केही पहिले ओर्लिएका थिए। ‘दुर्घटनास्थल भन्दा एक किलोमिटर तलै ओर्लिएको थिए’, उनले भने, ‘ओर्लिएको केही बेरमा नै बस दुर्घटनामा परेछ।’

बसमा चालक सहचालकसहित जम्मा ७ जना यात्रु भएकाले धेरै क्षति हुन नपाएको स्थानीयले बताएका छन्। बसका चालक घाइते भएपनि उनीहरु घटनास्थलमा नदेखिएको र अस्पतालमा पनि उपचार गर्नको लागि नआएको तामाङले बताए।

चाडपर्व नजिकिदै जादाँ ग्रामीण भेगमा सवारी दुर्घटना बढी हुन थालेको छ। सवारी दुर्घटना न्यूनिकरणका लागि धादिङ प्रहरीले ‘सडक सभ्यता हाम्रो चाहना, सुरक्षित यात्राको सबैमा शुभकामना’ कार्यक्रम सुरु गरेको छ।
 

प्रकाशित: १२ आश्विन २०७६ ०६:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App