coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘सन्दुकको जीवन रोचक रहेछ’

काठमाडौं – ‘आँखा सर्जन डा. सन्दुक रुइतले मानिसको जीवनमा ज्योति प्रदान गरेर नयाँ ऊर्जा दिएर वास्तवमै उत्कृष्ट काम गरेका छन् । उनको जीवन अन्वेषण, संघर्ष, साहस र समर्पणले भरिएको रहेछ,’ लेखक खगेन्द्र संग्रौला भन्दै थिए ,‘यस्ता उत्कृष्ट मानिसको जीवन कथा अनुवाद गर्दाका क्षण मेरो जीवनका सुखद र सार्थक क्षणहरु हुन् ।’

आँखा सर्जन डा. सन्दुक रुइतको जीवनी विमोचन कार्यक्रममा बोल्दै उनले पुस्तक अनुवाद गर्दाको रोचक पक्षको स्मरण गरेका थिए । शनिबार राजधानीमा आयोजित कार्यक्रममा तोपबहादुर शर्माले डा. रुइतको पुस्तक विमोचन गरेका थिए ।

अस्ट्रेलियन पत्रकार अली ग्रिपरले लेखेको सो पुस्तकलाई लेखक संग्रौलाले नेपालीमा अनुवाद गरेका हुन् । लेखक तथा पत्रकार विजयकुमारले डा. रुइत जीवनमा संघर्ष र सफलताले भरिएको बताए ।

त्यस्तै डा. रुइतले पुस्तकमा आफू र परिवारले तिलगंगा आँखा अस्पतालको लागि गरेको संघर्ष र सफलताको कथा समेटिएको बताए ।

‘अंग्रेजीमा लेखिएको मेरो जीवनीको नेपाली अनुवाद आएकोमा हर्षित भएको छु । मेरो पुस्तकले कसैलाई परोपकारमा लाग्न प्रेरित ग¥यो भने मेरो जीवनी सार्थक भयो भन्ने ठान्नेछु,’ उनले भने । पुस्तक अस्ट्रेलियन प्रकाशन गृह एलेन एन्ड अनविनले अंग्रेजीमा प्रकाशन गरेको छ । सो प्रकाशन गृहसँग अनुवाद अधिकार लिएर फाइनप्रिन्टले नेपाली भाषामा प्रकाशन गरेको हो ।

फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत नीरज भारीले भने, ‘परोकारका प्रतीक डा. रूइतको जीवनी प्रकाशन गर्न पाउनु हाम्रा लागि ठूलो सौभाग्य हो ।

यो हामीले उनलाई गर्न सक्ने सम्मान पनि हो । मलाई लाग्छ, जोन उडको माइक्रोसफ्टदेखि बाहुँनडाँडासम्मले जस्तै यो पुस्तकले पनि वैभव र विलासको जीवन त्यागेर संसारलाई असल बनाउने उदात्त कर्ममा लाग्न हामीलाई प्रेरित गर्नेछ ।’ सो पुस्तकमा लाखौं मानिसलाई आँखाको ज्योति प्रदान गर्न डा. रूइतको प्रेरणादायी जीवन कथा समेटिएको छ ।

प्रकाशित: १२ आश्विन २०७६ ०६:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App