७ वैशाख २०८१ शुक्रबार
अर्थ

‘फोरजी’ टेलिकमको दसैं उपहार

काठमाडौं - नेपाल टेलिकमले देशका मुख्यमुख्य सहर र सदरमुकामका ग्राहकलाई यो दसैंमा उपहारस्वरुप फोरजी सेवा दिने तयारी गरेको छ।  चौथो पुस्ताको मोबाइल सेवा विस्तारलाई तीव्रता दिएको कम्पनीले दसैंसम्ममा देशका ३२  जिल्लाका मुख्यमुख्य स्थानमा सेवा पु¥याउने जनाएको छ।

कम्पनीले आगामी माघभित्र देशभर फोरजी सेवा पु¥याउने लक्ष्यअनुरुप काम गरेको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन्। पहिलोपटक २०७३ पुसबाट परीक्षणका लागि काठमाडौं र पोखराबाट फोरजी सेवा सुरु गरेको टेलकमले गत माघदेखि देशभर विस्तारको काम अघि बढाएको थियो।

‘अहिलेसम्म विस्तारको काम कोर नेटवर्कतिर ८० र रेडियो एक्सेस नेटवर्क (¥यान) तिर ५० प्रतिशत  सम्पन्न भएको छ,’ वैद्यले भनिन् ‘यो नयाँ पुस्ताको प्रविधि भएकोले त्यसको अनुभव लिनको लागि टेलिकमका ग्राहक आतुर रहेको पाएका छौं, लक्षित समयमै काम सम्पन्न गर्न खटिरहेका छौं।’ उनले अहिले देशका विभिन्न स्थानमा काम सम्पन्न भई परीक्षण भइरहेको बताइन्।

ग्रामीण क्षेत्रमा डाटामार्फत इन्टरनेट सेवा लिने संख्या बढ्दै गएकोले यसको प्रभावकारिता झनै बढी हुने वैद्यको भनाइ छ। टुजी, थ्रिजीको तुलनामा यसको स्पिड बढी हुने हुनाले द्रुत सेवा लिन चाहने सेवाग्राहीका लागि यो राम्रो विकल्प हुने उनको भनाइ छ।

आफ्ना सेवाहरु प्रभावकारी बनाएको टेलिकमले दाबी गरे पनि बेलाबेलामा गुणस्तरबारे गुनासा आउने गरेका छन्। ‘कहिलेकहीँ समस्या आउँछ, नेटवर्क विस्तार निरन्तर प्रक्रिया हो। यसले हामीमा प्रविधि परीक्षणमा अनुभव बढाउँदै जाने पनि हो,’ प्रवक्ता वैद्यले भनिन्, ‘यसकै लागि निरन्तर अप्टिमाइजेसन गर्ने काम गरिएको हुन्छ, जहाँसम्म गुणस्तरको कुरा छ, यसमा धेरै कुराले प्रभाव पारेको हुन्छ।’

उनले ग्राहकले प्रयोग गर्दै आएको मोवाइल सेट तथा कुन नेटवर्कमा कुरा गरिएको छ र  उताको प्रविधि लगायत कुराले पनि प्रभाव पार्ने बताइन्। उनले भूकम्पपछि चाहेको ठाउँमा योजना अनुसार बिटिएस राख्न नसकिएकोले पनि मोबाइल इन्टरनेट सेवामा सोचे जस्तो सुधार ल्याउन नसकेको बताइन्। उनले भनिन्, ‘हामीले चाहेको ठाउँमा बिटिएस राख्न पाएका छैनौं, आवश्यक लोकेसनमा राख्न नपाउँदा त्यसको रेन्जमा पनि प्रभाव पर्छ र गुणस्तरमा समेत असर पुग्छ।’

भौगोलिक कारणले पनि यसको सेवा पु¥याउन कठिन भएको उनको तर्क छ। ‘भौगोलिक अवस्थालाई हेर्दा पहाडी र उच्च पहाडि भेगमा शतप्रतिशत सेवा पु¥याउनु एकदमै गाह्रो काम हो,’ उनले भनिन्, ‘नेटवर्क विस्तार गर्दै जाँदा त्यो कुरामा सुधार पनि हुँदै जान्छ। गुणस्तर वृद्धि गर्ने कुरा हाम्रो नियमित कार्य हो।’ उनले कहाँको अवस्था कस्तो छ भन्नेमा ग्राहकको सुझावको पनि महŒवपूर्ण भूमिका हुने बताइन्।

‘कति ठाउँमा आफ्नै किसिमले पनि अप्टिमाइजेसन गरिन्छ भने कति ठाउँमा सुझाव र गुनासाका आधारमा सुधार गर्दै जाने गरिन्छ,’ वैद्यले भनिन्, ‘हामीले सेवाग्राहीको सुझावलाई सम्बोधन गर्ने कुरालाई प्राथमिकता दिएका छौं।’

फोरजी विस्तार गर्दै जाँदा थ्रिजी र टुजीको स्तरीकरण र सुधारमा पनि कुनै कमी आउन नदिने उनले बताइन्। उनले भनिन्, ‘प्रयोगकर्ताले यसको फरकफरक अप्सनमा स्विच गर्ने सुविधा हुने हुनाले आवश्यकता अनुसार प्रयोग गर्न सक्ने भएपछि जुनसुकै सेवा प्रभावकारी हुनु आवश्यक हुन्छ।’

वैद्यले सेवाग्राहीलाई सकेसम्म सस्तो दरमा सुविधा उपलब्ध गराउन कम्पनी सधैं प्रयासरत रहेको बताइन्। उनले भनिन्, ‘हाम्रो सेवा प्रतिएमबी तीन पैसासम्म छ। अन्य प्रतिस्पर्धीभन्दा हाम्रा सेवा आधासम्म सस्तो छ।’

अबको फोरजीको अधिकतम स्पिड १३० एमबिपिएस हुने टेलिकमले जनाएको छ। अहिले काठमाडौं र पोखरामा रहेको फोरजीमा अधिकतम स्पिड ३२ एमबिपिएस छ। फोरजी नेटवर्कमार्फत डाटा मात्र नभई डाटा नेटवर्कमा बसेर भ्वाइस सेवा समेत उपभोग गर्न सकिने सुविधा छ।

प्रकाशित: १२ आश्विन २०७६ ०१:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App