coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेसमा नयाँ गुट

काठमाडौं – स्थापनादेखि नै गुटउपगुटमा विभाजित नेपाली कांग्रेसमा नयाँ गुटको उदय भएको छ। आधा दर्जन गुट सक्रिय रहेका बेला शुक्रबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलाई केन्द्रदेखि तल्लो तहसम्मका समितिमा स्थान दिएसँगै कांग्रेसमा शक्तिशाली अर्को गुटको उदय हुन पुगेको हो।

दुई वर्षअघि २०७४ कात्तिक २९ मा प्रतिनिधि र प्रदेशसभा निर्वाचन मुखमा नेपाली कांग्रेसमा समायोजित भएको तत्कालीन फोरम लोकतान्त्रिका ११ नेतालाई केन्द्रीय समितिमा ल्याउने निर्णय कांग्रेसले शुक्रबार गरेको छ। त्यसका साथै, कार्यसम्पादन, विभाग, प्रदेश समितिमा पनि समायोजनलाई ध्यानमा राखेर गच्छेदार नेतृत्वको समूहलाई पार्टीमा स्थान दिने कांग्रेसले निर्णय गरेको छ। दुई दर्शन जिल्लामा पदाधिकारीसहित कार्यसमितिमा महत्वपूर्ण स्थान दिनुका साथै तल्लो तहका निकाय र भ्रातृ तथा शुभेच्छुक संगठनमा समेत गच्छेदार समूहको उपस्थिति बाक्लो हुने देखिएको छ।

पार्टी उपसभापतिको जिम्मेवारी पाइसकेका गच्छेदार नेतृत्वको तत्कालीन फोरमलाई केन्द्रदेखि तल्लो तहसम्म समायोजन गरेर महत्वपूर्ण स्थान दिने पार्टी निर्णयसँगै उक्त गुट शक्तिशाली भएर आउने नेताहरूको बुझाइ छ। कांग्रेसमा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल दुई ठूला गुटको नेतृत्व गर्दै आएका छन्। देउवाले संस्थापन पक्षको र पौडेलले असन्तुष्ट पक्षको नेतृत्व गर्दै आए पनि त्यसभित्र पनि विभिन्न उपगुट र समूह सक्रिय छन्।

देउवा गुटभित्र उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, गोपालमान श्रेष्ठसहितका नेताहरू आ–आफ्नो ढंगबाट सक्रिय छन्। पूर्वमहामन्त्री खुमबहादुर खड्का नेतृत्वको समूहलाई पार्टीको प्रमुख भ्रातृ संगठन नेपाल तरुण दलको महाधिवेशनबाट गुटको मान्यता दिँदै कोषाध्यक्ष दिएको थियो। पूर्वमहामन्त्री खड्काको निधन भइसके पनि निकट नेताहरू अझै छुट्टै सक्रिय छन्।

त्यस्तै, पौडेल नेतृत्वमा रहेको असन्तुष्ट समुहभित्र आधा दर्शन उपगुट छन्। महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता रामशरण महत, शेखर कोइरालासहितका नेता पनि आ–आफ्नै ढंगबाट सक्रिय छन्। १३ औं महाधिवेशनबाट पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वमा तेस्रो धारकारुपमा उदाएको छ। १३औं महाधिवेशनबाट देउवालाई पार्टी नेतृत्वमा पु-याउन सिटौला नेतृत्वको तेस्रो धारको महत्वपूर्ण भूमिका रहेको कांग्रेस नेताहरुको बुझाइ छ।

पार्टी एकीकरण भएको दुई वर्ष बित्दासमेत सभापति देउवा र असन्तुष्ट पक्षको नेतृत्व गर्दै आएका नेता पौडेल दुवै पक्षमा गच्छदार खुलेका छैनन्। १४ औं महाधिवेशनमा पार्टीको नेतृत्व चयनका लागि गच्छदार समूहको महत्वपूर्ण भूमिका हुने विश्लेषण गर्न थालिएको छ।

प्रकाशित: १२ आश्विन २०७६ ०१:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App