८ वैशाख २०८१ शनिबार
समाज

नाम फेरेर बिहे अनि हत्या

लहान - २०६४ सालमा आपराधिक समूहबाट दाइको हत्या भएपछि कल्याणपुर नगरपालिका–४ का अक्षयकुमार यादवले २०६६ मा भाउजू गीतासँग विवाह गरे। गीताको पनि २०७० कात्तिक ९ गते हत्या भयो। पति सत्यनारायणको हत्यापछि देवर अक्षयसँग विवाह गरेकी गीताको हत्याले यादव परिवार स्तब्ध भयो। धारिलो हतियार प्रयोग गरी हत्या गरिएकी गीताको शव कर्जन्हा नगरपालिका–४ स्थित भेडवा खोलामा फेला परेको थियो।

घटनास्थलबाट प्रहरीले हिन्दी भाषामा हस्तलिखित पर्चा बरामद गरेको थियो। तत्कालीन माओवादी पार्टीका नाम लेखिएको सो हस्तलिखित पर्चामा ‘हमारा सूचना’ भनेर हत्याको जिम्मेवारी लिइएको थियो। यो पर्चाले प्रहरीलाई अलमलमा पारिदियो। घटनाको मुख्य योजनाकार पत्ता लगाउन प्रहरीले ६ वर्ष पर्खिनुप-यो।

कर्तव्य ज्यान मुद्दा दर्ता भई प्रतिवादी पर्खेर थन्किएको सो मुद्दाको फाइल २०७६ जेठ १७ गते सिरहा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका उमाप्रसाद चतुर्वेदीले खोले। उनी फाइलको सूक्ष्म अध्ययन गरी प्रतिवादी पहिल्याउन थाले। त्यो बेला प्रहरीलाई भ्रमित पार्न छरिएको प्रचार सामग्री नै यो घटनाको मुख्य प्रतिवादीसम्म पुग्ने सिंढी बन्यो। प्रहरीले शंका लागेकाहरूलाई नियन्त्रणमा लिएर पर्चामा रहेको अक्षरसँग अक्षर मिलाउँदै, नमिल्नेलाई छाड्दै गर्न थाल्यो।

अनुसन्धानकै क्रममा प्रहरीले अक्षयको अक्षर पनि मिलायो। उनको अक्षर पर्चामा रहेको हस्तलेखनसँग ठ्याकै मिल्यो। अनुसन्धान अधिकृतसामु अक्षयले लेखेको अक्षरको प्राविधिक प्रमाणीकरणका लागि केन्द्रीय विधिविज्ञान प्रयोगशाला पठाइयो। प्रयोगशालाको प्रतिवेदन अनुसार गीताको हत्या कबुल गरिएको पर्चाको अक्षरसँग अक्षयको अक्षर मेल खायो।

२०७६ भदौ २२ गते पक्राउ परेका अक्षयलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सिरहाबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको सिरहा प्रहरी प्रमुख (एसपी) चतुर्वेदीले बताए। अहिलेसम्मको प्रहरी अनुसन्धानबाट अक्षयको योजनाअनुसार गीताको हत्या भएको देखिन्छ,’ एसपी चतुर्वेदीले भने। घटना अन्तै मोड्न र आफू जोगिन अक्षयले त्यो पर्चा लेखेर घटनास्थलमा छरेको खुलेको छ।

बिहेपछि अक्षय र गीता कल्याणपुरबाट कर्जन्हा नगरपालिका–२ मा बसाइ सरेका थिए। २०७० पुस ९ गते उनीहरू मेला हेर्न मिर्चैया बजार गएका थिए। घर फर्किने क्रममा कर्जन्हा नगरपालिका–४ स्थित भेडवा खोलामा अक्षयले धारिलो हतियार प्रयोग गरी गीताको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। दाजुको मृत्युपछि अक्षयले भाउजूसँग सहमतिमै बिहे गरे पनि पछि उनले दाइजोमा ५० हजार नगद र मोटरसाइकल माग गर्न थालेको प्रहरी अनुसन्धानबाट खुलेको छ। दाइजो नदिएकै कारण आफूले गीताको हत्या गरेको अक्षयले प्रहरीसमक्ष बयान दिएका छन्। ‘पर्चामा लेखिएको अक्षर र प्रतिवादीले अनुसन्धान अधिकृतसमक्ष लेखेको नमुना अक्षर केन्द्रीय विधिविज्ञान प्रयोगशालाको प्रतिवेदनबाट मेल खाएको प्रमाणित भएको छ,’ एसपी चतुर्वेदीले भने, ‘हस्तलिपि मेल खाएको प्रतिवेदनका आधारमा उनलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएका छौं।’

त्यस्तै सुखीपुर नगरपालिका–७ घर भई गोलबजार नगरपालिका–६ मा डेरा गरेर बस्दै आएकी २३ वर्षीया मञ्जु रायको डेरानजिकै इलियास मियाँ डेरा गरी बस्थे। इलियास र मञ्जुबीच देखादेख भयो। इलियासले मञ्जुलाई मन पराउन थाले। तर मञ्जुसँगको प्रेमसम्बन्ध प्रगाढ बनाउन उनले आफ्नो परिचय (नाम) नै फेरे। इलास मियाँबाट उनी राजेश पासवान भए र मञ्जुसँग विवाह गरे। बिहेपछि उनीहरू गोलबजार नगरपालिका–६ मा डेरा गरी बस्ने थाले। बिहेपछि मन्जुले छोरी जन्माइन्। छोरी जन्मेपछि राजेश भन्ने इलियासले आफ्नो बच्चा नभएको भन्दै मञ्जुलाई यातना दिन थाले। २०७५ फागुन २१ गते डेरामै मन्जुको रहस्यमय मृत्यु भयो। पाँच महिने काखे छोरी रोएपछि छरछिमेकले घटनाबारे थाहा पाएका थिए।

घटनापछि राजेश भन्ने इलियासले सासूलाई मन्जुको मृत्यु भएको खबर सुनाए। उनी डेरा गरी बसेको घर र ससुराली घर पाँच सय मिटरको दूरीमा छ। प्रहरीले मन्जुको शव परीक्षण गर्न लहानस्थित रामकुमार उमाप्रसाद मुरारका (राउ) स्मारक अस्पताल पठायो। त्यहाँ पोस्टमार्टम गरियो। रिपोर्टमा आत्महत्या वा विष सेवन गरेको नपाइएपछि शव पुनः परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइयो। त्यहाँ पनि मृत्युको कारण विष वा मदिरा सेवन गरेको नपाइएपछि मञ्जुको मृत्यु रहस्यमय बनिरह्यो।

प्रहरीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दोस्रो शव परीक्षणबारे अर्को पत्र लेख्यो, जसको जवाफमा प्रतिष्ठानले हत्यालाई नकार्न सकिँदैन भन्ने व्यहोराको प्रतिवेदन आयो। शव परीक्षण प्रतिवेदन आधारमा नाम फेरेर मञ्जुको हत्या गरी उम्किने दाउमा रहेका राजेश भन्ने इलियासलाई २०७६ भदौ १५ गते पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सिरहाबाट म्याद थप लिएर अनुसन्धान अघि बढाइएको एसपी चतुर्वेदीले बताए। प्रहरीले घटनाको सम्पूर्ण अनुसन्धान गरी रायसहितको प्रतिवेदन अदालतमा पेस गरेको छ।

प्रदेश २ अन्तर्गत भएका हिंसाका यी पछिल्लो घटनाले तराई–मधेसको समाज खलबलिएको छ। महिलाहरू दाइजो र आवेशका कारण आफ्नै पतिबाट हत्याको निशाना बन्दै छन्। भ्रम फैलाएर हत्या घटना गुमनाम बनाउने, नाम फेरेर महिलासँग सम्बन्ध स्थापित गर्ने अनि हत्या गरेर अर्को ठाउँमा पुरानै नामबाट नयाँ जीवन सुरु गरी घटना गुमनाम बनाउन खोज्ने तथ्यले सुरक्षामा नयाँ चुनौती थपिएको छ। एक प्रहरी अधिकृतका अनुसार ‘अनुसन्धान अधिकारीले सूक्ष्म अनुसन्धान नगरे हत्याका घटना या त गुमनाम हुन्छन् या भवितव्य ज्यान भनेर ओझेलमा पर्छन्।’

प्रकाशित: १२ आश्विन २०७६ ०१:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App