काठमाडौं– सरकारले संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गराएपछि मधेसी मोर्चाले आफ्नो एक घटक संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादलाई संशोधनका पक्षमा उभ्याउन पहल गर्ने भएको छ ।
यादवले सहमति नगरिकन संशोधन प्रस्ताव ल्याए त्यसको पक्षमा उभिन नसक्ने बताएका छन् ।संशोधन प्रस्तावबारे यादवले व्यक्त गरेका धारणाले मधेसी मोर्चाबीचमै अविश्वासको वातावरण सिर्जना गरेको छ ।
मोर्चाका अन्य घटकले सरकारले संशोधन प्रस्ताव ल्याएपछि यसबारे यादवसँग गम्भीर छलफल गर्ने तयारी गरेका छन् । ‘एक पटक उहाँ (उपेन्द्र यादव) सँग गम्भीर छलफल गर्छौं । त्यसपछि हाम्रो र उहाँको बाटो फरक–फरक पनि हुन सक्छ । एउटै पनि हुन सक्छ’, मोर्चाका एक नेताले भने ।
‘एक पटक उहाँ (उपेन्द्र यादव) सँग गम्भीर छलफल गर्छौं, त्यसपछि हाम्रो र उहाँको बाटो फरक–फरक पनि हुन सक्छ, एउटै पनि हुन सक्छ’
अंगीकृत नागरिकताको सवालमा पनि यादवले मोर्चाका अन्य घटकसँग फरक धारणा राख्दै आएका छन् । अंगीकृत नागरिकताको मुद्दा उठाउन नहुने यादवले बताउँदै आएका छन् । मोर्चाका अन्य नेताले वैवाहिक अंगीकृत नागरिकताबारे सरकार लचिलो हुनुपर्ने माग राखेका छन् ।
त्यस्तै मोर्चामा प्रदेश विषमा पनि मतभेद देखिएको छ । यादव दस प्रदेशको अडानमा कायमै छन् । मोर्चाका अन्य नेताले मधेसमा दुई प्रदेश भए र झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरको समस्या सामधान भए अहिलेकै सात प्रदेशमा पनि जान सकिने बताउँदै आएका छन् ।
यादवबाहेक मोर्चाका अन्य नेताले संविधान संशोधन प्रस्ताव संसद्बाट पास गर्न सरकारलाई सहयोग गर्ने बताउँदै आएका छन् । यादवले भने निकासबिना ल्याइने संशोधन प्रस्तावको विरोधमा मोर्चा उभिने बताएका छन् । राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले सरकारले संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गरेपछि त्यसबारे मोर्चाको बैठकमा छलफल हुने बताए । ‘संशोधन प्रस्ताबारे मोर्चाकै नेताहरूबाट फरक–फरक धारणा आएका छन् । यसबारे पनि मोर्चाको बैठकमा छलफल हुने छ’, झाले भने ।
प्रकाशित: १० मंसिर २०७३ ०२:३९ शुक्रबार