coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

भरतमोहन अधिकारीः व्यक्ति एक, व्यक्तित्व अनेक

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले भरतमोहन अधिकारी व्यक्ति एक, व्यक्तित्व अनेक भएका नेताको रुपमा स्मरण गरेका छन्। भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले राजनीति मात्रै होइन, आर्थिक, सामाजिक, साङ्गठनिक र व्यावहारिक रुपमासमेत अधिकारीलाई प्रेरणादायी व्यक्तिको रुपमा स्मरण गरे।     
     
विसं २०४७ को संविधान निर्माणमा अधिकारीको योगदान अतुलनीय रहेको स्मरण गर्दै नेता नेपालले २०५१ सालमा तत्कालिन सरकारमा अर्थमन्त्रीका हिसाबले उनले ऐतिहासिक काम गरेको उल्लेख गरे। 'आफ्नो गाउँ आफैँ बनाऔँ, वृद्ध भत्ता मात्रै होइन के गर्दा जनतालाई राहत मिल्छ भनेर सधैं तल्लीन रहने व्यक्ति हुनुहुन्थ्यो, अर्थतन्त्र कसरी बलियो बनाउन सकिन्छ भनेर सोचिरहनुहुन्थ्यो', नेता नेपालले सम्झे।

पार्टीको आर्थिक विभाग प्रमुख रहँदा पनि उहाँले एक्लै नहिँडी सबैको सहकार्य र साझा भावनाका साथअघि बढेको स्मरण गर्दै नेता नेपालले त्यो बेला हरेक वर्ष उद्योगी व्यवसायीसँग पार्टीले छलफल चलाउँदै आएकाले उनीहरुसँग घनिष्ठ सम्बन्ध थियो भने। अहिले लामो समयदेखि यसरी व्यवसायीसँग छलफल हुन नसकेकोमा उनले चिन्ता प्रकट गरे।

कुनै पनि विवादमा नमुछिएका नेता अधिकारीको पार्टी एकीकरण, संविधान निर्माण, आर्थिक विकास, पार्टी सुदृढीकरण, अन्तर पार्टीबीचको कटुता अन्त्य गर्नमा भूमिका सधैँ सकारात्मक र समन्वयकारी रहेको नेता नेपालले बताए।     
     
कार्यक्रममा पूर्व मन्त्री राधाकृष्ण मैनालीले अधिकारीलाई विमती राख्दा राख्दै पनि सहमतिमा आउनसक्ने नेताको रुपमा स्मरण गर्दै वाममोर्चा निर्माणमा उनको महत्वपूर्ण योगदान रहेको बताए। डा. कृष्ण कोइरालाले पूर्वमा नेकपाको स्थान बलियो हुनुमा नेता अधिकारीको योगदानले काम गरेको उल्लेख गर्दै सादा जीवन उच्च विचारका नेता अधिकारी नयाँ दृष्टिकोणका साथ संयोजनकारी भूमिका खेल्न सक्ने गुण भएको र आजका नेताहरुले उनीबाट सिक्नुपर्नेमा जोड दिए।     
     
फाउण्डेसनका सल्लाहकार तथा नेता अधिकारीका बाल्यकालका साथि कमल कोइराला, गोविन्द थापालगायतले स्वर्गीय अधिकारीको योगदानको चर्चा गरेका थिए। नेता अधिकारीको स्मृतिमा गत भदौ २३ गते फाउण्डेशन स्थापना गरिएको थियो।

फाउण्डेशनबारे जानकारी दिन आजको भेटघाट कार्यक्रम आयोजना गरिएको फाउन्डेशनकी अध्यक्ष सविता अधिकारीले बताइन्। रासस

प्रकाशित: ११ आश्विन २०७६ १३:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App