coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

दशैँ लक्षित खसीबोका बजार शुरु

रौतहट- ठाडो मूल्यमा ‘बिचौलिया’ हरूलाई खसीबोका बिक्री गर्दै आएका यहाँका किसान अब जोखेर मात्रै बिक्री गर्न थालेका छन्।     
गत वर्षसम्म मुखैका भरमा मोलमोलाई हुन्थ्यो। अहिले जोखेर नै बिक्री गर्न थालेको चन्द्रपुर नगरपालिका–२ रैयाटोलका किसानहरु बताउँछन्। पारिश्रमिक सामाजिक उद्यमी महिला कृषि सहकारी संस्था लिमिटेडले अहिले टोलकै संकलन केन्द्रमा जोख्ने उपकरण जडान गरिदिएपछि उनीहरुले पालेका खसीबोका जोखेर बिक्री गर्न थालेका हुन्।

सहकारी संस्था लिमिटेडमा आबद्ध २ सय ६८ जना महिला शेयर सदस्यहरूले पालेका खसीबोका हरेक मङ्गलबार लाग्ने रैयाटोल खसी बजारमा खसीबोका जोखेर नै बिक्री वितरण गर्दै आएका छन्।     

ठाडो मूल्यमा ‘बिचौलिया’ हरुलाई खसीबोका बिक्री गर्दा किसानहरु मारमा पर्ने गरेको कारण अब किसानहरुले जोखेर बिक्री गर्न लागेको सो संस्थाकी सचिव रिता थापाले जानकारी दिइन्।

यसैबीच सो संस्थाले नजिँकदै गरेको बडादशैँलाई लक्षित गरी खसीबोका बजार लगाएको छ। संस्थामा आबद्ध महिला सदस्यहरुले पालेको खसीबोका त्यही बजारमा बिक्रीका लागि ल्याउने गरेका छन्।     

महिलाहरुको जीविकोपार्जन र आर्थिक सशक्तीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले यहाँका महिलाहरु अहिले खसीबोका पालन व्यवसायमा जोड दिएका छन्। महिला सदस्यहरुले पालन गरेको खसीबोका बिक्रीका लागि लक्षित गरेर लगाइएको बजारमा व्यापारीहरु खरीद गर्न आउने गरेका छन्।

तीस किलोग्रामभन्दा कमको खसीबोकाको जीउँदो प्रतिकेजी ५ सय र ३० केजीभन्दा माथिको खसीबोकाको जीउँदो प्रतिकेजी ५ सय ५० रुपैयाँ बिक्री मूल्य तोकिएको सचिव थापाले बताए।     

दशैँ लक्षित लगाइएको बजारमा मङ्गलबार मात्र १ सय ६३ वटा बोकाको तीन हजार २ सय ५२ किलो, ४९ वटा खसीको एक हजार ४ सय २८ किलो, दुई वटा माउ बाख्रा र सात वटा पाठीको १ सय ३ किलो बिक्री भएको स्थानीय पशु प्राविधिक राजन थापाले जानकारी दिए।     

खसीबोका पाल्न थालेपछि यहाँका महिलाहरूको आयआर्जनमा समेत वृद्धि भएको छ। प्रत्येक महिला सदस्यले कम्तिमा दुई देखि पाँच वटासम्म खसीबोका र पाठी बेच्ने गरेका छन्। खसीबोकाको मुख्य बजार गौर, चपुर, वीरगञ्ज, जनकपुर, नारायणगढ र काठमाडौं हो।

स्थानीय खसीको माग बढेकाले उनीहरुलाई बिक्री नहुने चिन्ता पनि छैन। भन्सार विभागको तथ्यांक अनुसार २०७५ साउनमा दसैंलाई लक्षित गरी ३७ करोड २१ हजार रुपैयाँका ४५ हजार ७ सय ९८ खसीबोका आयात भएको थियो।

काठमाडौं उपत्यकामा मात्र वार्षिक ६ लाख र मुलुकभर १ करोड १८ लाख खसीबोका आवश्यक पर्ने तथ्यांक छ। रासस

प्रकाशित: ११ आश्विन २०७६ १३:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App