coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लिगलिगे राजा अब ‘एम्बेस्डर’ पनि

फाइल फोटो

गोरखा– हरेक वर्ष हुँदै आएको गोरखाको ऐतिहासिक लिगलिगे राजा छान्ने दौड यस वर्ष असोज १६ गते हुने भएको छ। दौडमा पहिलो हुनेलाई राजा घोषणा गर्दै श्रीपेचको साथमा ६० हजार एक सय रुपैयाँ पुरस्कार सँगै ‘लिगलिग एम्बेस्डर–२०७६’ घोषणा गरिने आयोजकले जनाएको छ। 

‘राजा घोषण गरेर एक दिन लिगलिगकोटमै राख्छौँ’ पालुङटार नगरपालिकाका प्रमुख इन्जिनियर दिपकबाबु कंडेलले भने ‘यस वर्ष देखि एक वर्षका लागि लिगलिगकोटको ‘एम्बेस्डर’ बनाउनेछौँ।’ दौड जितेर राजा हुने ब्यक्तीले लिगलिगकोटको प्रचार प्रसारमा सघाउ पुर्याउने अपेक्षाले एम्बेस्डर घोषणा गर्न लागिएको उनले बताए।

हरेक वर्ष राजा हुनेलाई घोषण गर्ने योजना यस वर्षदेखि नगरपालिकाले अगाडी सारेको हो। एक दिन राजा घोषित भएर श्रीपेच लगाएपछि अन्यत्र पनि यहाँको प्रचार गर्न सक्छ भन्ने अपेक्षा रहेको नगरप्रमुख कंडेलले बताए। 

लिगलिगकोटमा शनिवार पत्रकार सम्मेलन गर्दै आयोजक लिगलिग कोट बिकास अभियानले यो वर्ष दशौँ दौड प्रतियोगिता गर्न लागेको जानकारी गराएको हो।

प्रतियोगितामा दोस्रो हुनेलाई नगद ३५ हजार एक सय, तेस्रो हुनेलाई २५ हजार एक सय, चौँथोलाई १५ हजार एक सय हुँदै १० औँ समेतलाई पुरस्कार दिईनेछ। श्रीपेच, पगरी सहित पहिलो हुनेलाई बाजागाजा सहित पालुङटार नगरपरिक्रमा गराईने र अन्यलाई नगद सँगै मेडल प्रमाण पत्र पुरस्कार दिईने लिगलिगकोट बिकास अभियानका अध्यक्ष पूर्णबहादुर रानाले बताए। 

 बिसं १९१६ सालमा द्रब्यशाह राजा बनेपछि हुन छाडेको दौड गोरखाको ईतिहास जगर्नेना गर्न २०६५ सालदेखि हुँदे आएको छ। हरेक वर्ष बिजयादशमीको अवसर पारेर गरिँदै आएको प्रतियोगितामा सहभागीहरुले चेपे र मर्स्याङ्दीको दोभानबाट दौड सुरु गरेर १३ दशमलव ८ किलोमिटर दुरी दौडेर गिललिग कोट सम्म पुग्नुपर्छ।

जो पहिले पुग्छ उसले पहिलो पुरस्कारको साथमा राजा घोषणा हुँदै श्रीपेच पहिरिनेछ। त्यस्तै महिलाहरुको खुल्ला र लिगलिगबासीहरुको लागि पाँच किलोमिटर दौड प्रतियोगिता पनि गरिने छ। बिजेतलाई २० हजार एक सय रुपैयाँ पुरस्कार छ।

छात्र/छात्रा र भेट्रान (४०वर्ष माथि) बिच पनि दौड प्रतिसप्रर्धा हुनेछ। लिगलिगकोट र आसपासको क्षेत्रको संरक्षण र प्रर्वद्धनका लागि लोपहुने अवस्थामा पुगेको लिगलिगे दौड पुन सुरु गरिएको हो।

दौडका लागि नेपाली सेनाले पुरस्कारमा लाग्ने रकम सहयोग गर्ने भएको छ। सेनाको रणसिंह दल गण गोरखाका गणपति उज्वल केसीले पुरस्कारमा खर्च हुने दुई लाख ६९ हजार सहयोग गर्ने बताए। नेपालको ईतिहास झल्कने लिगलिगकोट, गढी, धार्मीक ऐतिहासिक पिठको संरक्षणमा सेनाले चासो दिएर सहयोग गरेको हो। २३ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ।

पर्यटन बोर्ड र खेलकुद परिषदले पाँच–पाँच लाख स्थानीयको श्रमदान र बाँकी नगरपालिका, बिभिन्न संघ संस्थाको सहयोगमा रकम जुट्ने लिगलिगकोट बिकास अभियानले जनाएको छ। गत वर्षको दौडमा एक सय १७ जना सहभागी भएका थिए। 

 

प्रकाशित: ११ आश्विन २०७६ १२:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App