५ वैशाख २०८१ बुधबार
अन्य

तिमी हामीलाई कता पुर्‍याउँदै छौ ?

सुनिता मैनाली

सुनिता मैनाली

ए दिदी तिमी कुन देशको ?
तुसारोको मातले लट्ठिएर भक्कानिएका औंलाको पीडाझैँ
मनभित्र दुख्ने गरी छेड्यो त्यो अनपेक्षित प्रश्नले
फेरि गुन्जियो त्यही अनुत्तरित प्रश्न
ए दिदी तिमी कुन देशको ?
महिनौँदेखि चप्पलमाथि टेक्दाको अनुभूति सँगाल्न नपाएको
खडेरीको गराझैं चिरिएको उसका दुवै पैताला
मलाई लुकी–लुकी चियाउँंदै थिए
पहिलोपटक कसैको पैतालाबाट म हेरिँदै थिएँ
फरक पृथ्वीको दिदीका खुट्टामा सजिएको
एक जोडी बुटको ब्रान्डले उसलाई हेर्दै थियो
किन बुझोस् त्यो ब्रान्डको भाका जोसँग उसको कुनै लेनदेन छैन
तर महसुस गर्दैथी त्यो ब्रान्डभित्रको तापक्रमलाई

हप्तौँदेखि पानीको स्पर्शले रोमाञ्चित हुन नपाएको
उसका पटपट फुटेका गालाहरूले
फेसवास र लोसनको विज्ञापन डिस्प्ले गर्दै गरेको मेरो अनुहार नियाल्दै
इष्र्याले आफैँसँग गनगन गर्दै
आफ्नै रूपविरुद्ध कुरूप शब्दजाल बुन्दै थिएँ
फेरि उही प्रश्न
ए दिदी तिमी कुन देशको ?

महिनौँदेखि ऐनामा आफ्नो प्रतिविम्ब नियाल्न नपाएकी
मेरो कालो चस्मामा एक टकले हेर्दै मिलाउँदै थिई ऊ
काइँयो डुल्न नपाएको त्यो निधार माथिको घना खरघारी
जहाँ अर्थुङ्गेका पोकाहरूले एकतृप्त पारेको थियो उसको कपाललाई
र औंलाहरूले हँसियाले झैँ साफ गर्र्दै थिए

मेरो हातको किताब उसको लागि
सपनाको तीतो समापन जस्तै थियो
सपनामा अक्सर बदमासहरूले लखेटिरहन्छन्
तर पटक्कै दौडन सकिन्न
बाँकी बस्छ त मात्र डर अनि लाचारीपन

घरमुनि करिब आधा घण्टा दूरीको विद्यालय
प्रायः ढाड सोझ्याउन पाएको बिरलै समय
उसको आँखा त्यतै टोलाइरहन्छ
उसका लागि कापी–कलम छुन पाउनु पनि
मैले चन्द्रमामा घर बनाउने सपना जस्तै होला

१० वर्षकी एक जिम्मेवार अभिभावक ऊ
भाइ–बहिनीको रेखदेखको आदेश शिरोपर गर्दै
बा–आमाको गरिबीको प्रयोगशालामा खारिँदै
यो देशको सपना र भविष्यलाई पनि काँधमा हालेर धर्मराउँंदै छे
अनि उसकै काँधमा झुन्डिँदै
जोखिमयुक्त यात्रा गरिरहेका ती सपना र भविष्यले
बडेमानको प्रश्न खडा गरिदिएका छन्
‘तिमी हामीलाई कता पु-याउँंदै छौ ?’

 

प्रकाशित: ११ आश्विन २०७६ ०९:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App