६ वैशाख २०८१ बिहीबार
अन्य

‘हाउ डेयर यु ?’

उनीहरूलाई त्यो दिन फुर्सद थिएन, बिहानैदेखि हतारमा थिए। त्यो दिनको तयारीमा उनीहरू केही दिनदेखि बेफुर्सदी थिए। उनीहरूले आफ्नै हातले कार्डबोर्डमा रंग पोतेर सकेसम्म आकर्षक र सूचनामूलक प्लेकार्ड बनाएका थिए, त्यो दिनका लागि विद्यालयबाट बिदा मिलाइसकेका थिए। अन्ततः त्यो दिन आयो। उनीहरू हुल बाँधेर म्यानहटनको फोले चोकमा भेला भए। उनीहरू जस्ता हजारौं अरू केटाकेटी पनि त्यहाँ भेला भइसकेका थिए। सबैले त्यो दिनको विशेष तयारी गरेका थिए। उनीहरूले बोकेको प्लेकार्डमा लेखिएको थियो– देयर इज नो प्लानेट बी  (अर्को ग्रह छैन )
केही अरुले बोकेका प्लेकार्डमा लेखिएको थियो, ‘समुद्र सतह पनि बढिरहेको छ र हामी पनि बढिरहेका छौैँ ’

स्कुले उमेरका केटाकेटीको सागर देख्दा कति मानिस चकित परे। कति उत्सुकताले अटेसमटेस आँखा बालबालिकाका सागरमा बिछ्याइरहेका थिए। पत्रकारहरू भ्याइनभ्याई यताबाट उता कुद्दै थिए।

सेप्टेम्बर २० अर्थात् गत २ असोजमा संयुक्त राज्य अमेरिकाको म्यानहटनमा भेला भएका दसौँ हजार ‘केटाकेटी’को सागरले फुटपाथमा हिँडिरहेका मानिसको मात्र होइन, मल्टी–मिडिया हुँदै संसारभरको ध्यान आकर्षित ग¥यो। किनभने, त्यस दिन जलवायुको ह्रासोन्मुख अवस्थाप्रति चिन्ता पोख्दै स्कुलमा बिदा मागेर सडक प्रदर्शन म्यानहटनमा मात्र भएको थिएन, संसारका १५० देशका चार हजार ५ सय सहरमा त्यस्ता प्रदर्शन भएका थिए।

    ‘के तपाईंहरूलाई उनीहरू (राजनीतिक नेताहरू)ले हाम्रो कुरा सुन्छन् जस्तो लाग्छ ?’ सहभागीहरू चिच्याए– लाग्दैन। अनि दृढ स्वरमा ग्रेटाले भनिन्, ‘हामी उनीहरूलाई हाम्रो कुरा सुन्ने बनाउँछौं।’

वास्तवमा त्यो दिन उनीहरूले आफ्नो भविष्यका लागि स्कुल छोडेर त्यहाँ भेला भएका थिए। अचम्म लाग्ला, स्कुल जानुपर्ने केटाकेटी स्कुल नगई चोकमा भेला भएर कस्तो भविष्य खोजिरहेका थिए त ? ती हजारौँ केटाकेटी त्यहाँ जलवायुको भयावह अवस्थाप्रति चिन्ता पोख्न भेला भएका थिए। आजको विश्व पर्यावरण यस्तो नाजुक अवस्थामा पुगिसकेको छ भने आफ्नो उमेरमा के पृथ्वी बाँच्न लायक ठाउँ रहिरहला ? पृथ्वीमा आज प्रकृतिले यति भयानक रौद्र रूप देखाइरहेको छ भने भोलिको दिन कस्तो होला ? के हामी सुरक्षित छौँ ? त्यो दिन विशेषतः केटाकेटीहरूले संसारका राजनीतिज्ञहरुलाई यस्तै प्रश्न गरे।

त्यसको तीन दिनपछि (सेप्टेम्बर २३ बाट) संयुक्त राष्ट्र संघको महासभाअन्तर्गत जलवायु शिखर सम्मेलन सुरु हुँदै थियो। महासभामा सहभागी बन्न संसारभरका राजनीतिक नेताहरू न्युयोर्क भेला भइरहेका थिए। यो वर्ष महासभामा छलफल गरिने प्रमुख विषयमध्ये जलवायु परिवर्तन पनि समावेश थियो। महासभाको पूर्वसन्ध्यामा संसारभरि भएका प्रदर्शनले न्युयोर्कमा भेला भएका नीति–निर्माताहरूलाई जलवायुको विषयमा ठोस कदम (एक्सन) गर्न दबाब दिने लक्ष्य लिएको थियो।

नेतृत्वको उदय
सेप्टेम्बर २० को जलवायुसम्बन्धी विश्वव्यापी प्रदर्शनको नेतृत्व कुनै पाका वातावरणविद्, अनुभवी संरक्षणविद् वा अनुसन्धानमा तल्लीन वैज्ञानिक, कोही चर्चित राजनीतिज्ञले गरेका थिएनन्। संसारलाई नै चकित पार्ने १५० वटा देशमा फैलिएको प्रदर्शनको नेतृत्व एक १६ वर्षीया किशोरीले गरेकी थिइन्। निकै गम्भीर, भावुक, लजालु, कहिल्यै हाँस्न नजानेजस्तो, चिम्सेचिम्से आँखा भएकी र आँखीभौँले धेरै कुरा बोल्ने स्विडेनकी किशोरी ग्रेटा थनबर्गले यो आन्दोलनको नेतृत्व गरेकी थिइन्। अमेरिकाको न्यूयोर्कमा भेला भएका २ लाख ५० हजारभन्दा बढीको सभामा उनले त्यो दिन भाषण गरेकी थिइन्। सधैंजस्तो त्यो दिनको ग्रेटाको भाषण निकै बोझिलो र उत्साहप्रद थियो। सभामा सहभागी दसौं हजार बालबालिका र युवाहरूलाई ग्रेटाले प्रश्न गरिन्, ‘के तपाईंहरूलाई उनीहरू (राजनीतिक नेताहरू)ले हाम्रो कुरा सुन्छन् जस्तो लाग्छ ?’

सहभागीहरू चिच्याए– लाग्दैन। अनि दृढ स्वरमा ग्रेटाले भनिन्, ‘हामी उनीहरूलाई हाम्रो कुरा सुन्ने बनाउँछौं।
उनको यस्तो उत्साहप्रद कुरा सुनेर सहभागीहरू फेरि उत्साहित भएर चिच्याए।आफूलाई आदर्श मान्ने हजारौं आफूजस्ता किशोरकिशोरीबीच ग्रेटाले भनिन्, ‘हामी परिवर्तनका उभार हौं। एक साथ संगठित रूपमा हामीलाई कसैले रोक्न सक्नेछैन। हामी चुनौतीको सामना गर्नेछौं। यो संकटका लागि सबभन्दा जिम्मेवार मानिसहरूसँग हामी जवाफ माग्नेछौं। हामी संसारका नेतालाई (जलवायुबारे) काम (एक्सन) गराउनेछौं। हामी सक्छौं र हामी गर्छौं।’

जलवायु मुद्दाबारे चिन्ता गर्न थाल्दा ग्रेटा बालिका थिइन्। अहिले उनी किशोरी बनेकी छिन्। जलवायुबारे बोल्दै उनी एकजना संवदेनशील बालिकाबाट गम्भीर किशोरी बनेकी छिन्। टेडएक्स स्टकहोममा जलवायुबारे आफ्नो चासोको थालनीबारे बोल्ने क्रममा ग्रेटाले आफ्नो विगत कोट्याएकी थिइन्, ‘म त्यस्तै आठ वर्षकी छँदा मैले पहिलोपटक जलवायु परिवर्तन वा विश्व तापमान वृद्धिबारे सुनेकी थिएँ। हाम्रै जीवनशैलीकै कारण मानिसले त्यस्तो अवस्थाको सिर्जना गरेको प्रस्ट थियो। मलाई ऊर्जा जोगाउन बत्ती निभाउन भनियो र स्रोत जोगाउन कागत पुनः प्रयोग गर्न भनियो।

म ११ वर्षकी हुँदा बिरामी परेँ, डिप्रेसनमा परेँ। मैले कसैसँग कुरा गर्न छोडेँ, खान पनि छोडिदिएँ। दुई महिनामा मेरो १० किलो तौल घट्यो। पछि मलाई एस्परजर्स सिन्ड्रोल ओसिडी र स्वेच्छिक मौनतासम्बन्धी रोग लागेको पत्ता लाग्यो। त्यसको अर्थ म आवश्यक भएका बेला मात्र बोल्ने गर्छु।’

संसारभरको पर्यावरणमा देखिएको परिवर्तनले उनलाई निकै सताउन थालेको थियो। सबैले यो विषयमा बोलिरहेका थिए, कसैले पनि केही परिणाममुखी काम गरिरहेका थिएनन् भन्ने विषयमा उनको असन्तोष थियो। जीवाश्मको घनत्व भएको इन्धनको प्रयोगले संसारको पर्यावरणमा नकारात्मक प्रभाव पारिरहेको र त्यसले मानिसको अस्तित्वलाई धरापमा पार्न सक्ने सम्भावना बुझ्दाबुझ्दै मानिसले यसको रोकथामका निम्ति कुनै एक्सन नलिएकोमा ग्रेटाको आक्रोश थियो।
उनले यथास्थितिविरुद्ध विद्रोहको थालनी भने घरबाट गरिन्। ग्रेटाकी आमा मलिना इर्नमान अपेरा गायिका हुन्। उनका पिता स्भान्टे थनबर्ग अभिनेता हुन्। दुवैजना कामको सिलसिलामा विदेशमा धाइरहनुपथ्र्यो। जुन दिनबाट ग्रेटाले जीवाश्म इन्धनको प्रयोगले पृथ्वीलाई पारिरहेको असरबारे बुझ्ने भइन्, उनले आफ्नै आमा र बुवालाई त्यस्ता सवारी साधनको प्रयोग नगर्न कर गरिन्। त्यसो गर्नु मलिनाका लागि आफ्नो करिअर त्याग्नु जस्तै थियो। सुरुमा यो एउटा अस्वाभाविक विषय भए पनि ग्रेटाका आमाबुवाले अन्ततः छोरीको भावनाको सम्मान गरे।

‘तपाईंहरूले दिइरहेको धोका आजको पुस्ताले बुझेका छन्। भावी पुस्ताको आँखा आज तपाईंहरूमा छ। तपाईंहरूले हामीलाई असफल बनाए हामी तपाईंहरूलाई कहिल्यै माफी गर्नेछैनौं। म यहाँ हुनुपर्थेन। म महासागर पारिको विद्यालयमा पढिरहेको हुनुपर्ने हो। तर, म यहाँ छु। मलाई तपाईंहरूले यहाँ आउन बाध्य पार्नुभयो। तपाईंहरूले मेरो पढाइ र बाल्यकाल खोस्नुभयो। तपाईंहरूको कत्रो आँट !’

तर, त्यत्तिमा चित्त बुझाउने पक्षमा थिइनन् उनी। सन् २०१८ को अगस्ट महिनाको एक शुक्रबार बिहान उनी विद्यालय नगई स्विडेनको संसद भवन बाहिर वातावरण जोगाउन आह्वानमा केही अक्षर लेखिएको कागजको बोर्ड बोकेर बसिन्। त्यतिबेला उनको साथमा आफ्नो छायाबाहेक कोही पनि थिएन। उनी १५ वर्षकी थिइन्। सन् २०१८ को डिसेम्बरमा काटोविसमा संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनिओ गुटरेजसँगको एउटा बैठकमा ग्रेटाले ती दिन सम्झँदै भनेकी थिइन्, ‘केही मानिसले मलाई त्यहाँ त्यसरी बस्नुभन्दा विद्यालय जान सल्लाह दिए। केही मानिसले राम्ररी पढेर वातावरण वैज्ञानिक बन्नुपर्ने सुझाव पनि दिए, ताकि मैले जलवायु संकट समाधान गर्न सकुँ। तर, जलवायु संकट समाधान के हो भन्ने सबैलाई थाहा भइसकेको छ। हामीसँग सबै तथ्य र समाधान हातमा आइसकेको छ। ...अब आवश्यकता छ त एक्सनको।’

ग्रेटाले स्विडेनको संसद् भवनअघि धर्ना बस्दा बोकेको प्लेकार्डमा स्विडिस भाषामा लेखिएको थियो, ‘जलवायुका लागि विद्यालय हडताल।’ नौ कक्षा पढ्दै गरेकी एक किशोरी एउटा प्लेकार्ड बोकेर स्विडेनको संसद्मा धर्ना बस्दा सुरुमा धेरैले ध्यान दिएनन्। ग्रेटा स्कुल नगई धर्ना बस्न थालिन्। क्रमशः उनको धर्नाप्रति मानिसले चासो राख्न थाले। सञ्चारमाध्यमका क्यामरा उनीतिर तेर्सिन थाले। त्यही वर्षको सेप्टेम्बर ९ मा स्विडेनमा चुनाव हुन लागेको थियो। चुनावसम्म उनीले त्यसरी नै हडताल गर्ने निधो गरिन्। ७ सेप्टेम्बरको दिन उनले आफ्नो धर्नाको स्वरूपमा केही फेरबदल गरिन्। उनले हरेक शुक्रबार धर्नालाई निरन्तरता दिने घोषणा गरिन्।

त्यतिन्जेल उनलाई समर्थन गर्ने केही मानिस भइसकेका थिए। शुक्रबारे धर्नाको नामकरण गरिएको थियो, ‘फ्राइडे फर फ्युचर अर्थात् भविष्यका लागि शुक्रबार।’ अब भने ग्रेटाको साथमा आफ्नो छाया मात्र रहेन। संसारको ध्यान उनीतिर क्रमशः तानियो। ग्रेटा आफ्नो लक्ष्यमा प्रस्ट थिइन्– सन् २०१६ मा फ्रान्सको राजधानी पेरिसमा जलवायु सम्मेलनमा भएको सहमतिअनुसार स्विडेनले जीवाश्म इन्धनको प्रयोगमा कटौती। विश्वको औसत तापक्रम वृद्धि २ डिग्री सेल्सियसभन्दा कम राख्न र जलवायु परिवर्तनका खतरा र प्रभावलाई दीर्घकालीन रूपमा कम गर्न तापक्रमलाई १.५ डिग्री सेल्सियसभन्दा कम राख्न पेरिस जलवायु सम्झौतामा उल्लेख छ।

विकासशील देशको पक्षधरता
ग्रेटाले आफ्नो अभियानको थालनी स्विडेनमा तापमान घटाउन माग गर्दै सुरु गरेकी थिइन्। तर, जलवायु परिवर्तन कुनै एउटा देशसँग मात्र जोडिएको विषय होइन, सिंगो पृथ्वीसँग समान रूपमा सरोकारको विषय हो। देश र महादेशलाई सिमानाले बारेको छ, सागर र भूमिलाई भूगोलले, आकाश र धर्तीलाई दूरीले अलग बनाएको छ। तर, जे छन् सबै पृथ्वीभित्रै छन्। एउटै डुंगामा यात्रा गरिरहेका यात्रीहरू जस्तै। समस्या स्विडेनको मात्र होइन, अमेरिका, अफ्रिका, ल्याटिन अमेरिका, एसिया, एन्टार्टिका र भूमध्यरेखा छेउछाउका देशहरूको पनि हो। जलवायु परिवर्तनको असरबाट अछुतो भूमि नै आज कहाँ छ र ?

जलवायु अभियन्ताका रूपमा संसारमा प्रसिद्धि कमाइसकेकी ग्रेटाले जलवायु संकट कुनै सीमित भूगोलको समस्या मात्र नभएको बुझेपछि अभियानलाई अझ व्यापक बनाउन जरुरी ठानिन्। उनी अब सबैले चिन्ने अनुहार भइसकेकी थिइन्। सामाजिक सञ्जालमार्फत उनका अन्तर्वार्ता र भाषण हेर्ने संसारभरका करोडौँ दर्शक भइसकेका थिए। धेरै मानिसलाई उनले भाषणमा व्यक्त गर्ने सटीक तर्कले निःशब्द बनाउने गर्छ। धेरै अन्तर्राष्ट्रिय मञ्चमा उनका तर्कपूर्ण र मनै छुने भाषणले समयहीन ताली पाइरहेको छ। भाषण गर्दा उनका शब्द जति गम्भीर हुन्छन्, उनको अनुहार पनि त्यही मात्रामा गम्भीर बनेको हुन्छ। त्यसले उनीप्रतिको आकर्षण क्रमशः विस्तार हुँदै गएको छ।

ग्रेटाको चिन्ता स्विडेन जस्तो विकसित देशको सन्दर्भमा मात्र सीमित छैन। उनले आफ्ना अधिकांश भाषण र अन्तर्वार्तामा भारत, नाइजेरिया, कोलम्बियाजस्ता विकासशील देशका सन्दर्भ पनि उकाउने गर्छिन्। स्विडेन जस्तो पूर्वाधारले सम्पन्न बनिसकेका देशले पनि अझै जीवाश्म इन्धनको प्रयोग नरोक्ने हो भने भारत, नाइजेरिया र कोलम्बियाजस्ता देशले पूर्वाधार निर्माणका क्रममा गर्ने जीवाश्म इन्धनको प्रयोगले संसारमा अझ बढी जलवायु संकट आइपर्नेछ। टेडएक्स स्टोक होममा दिएको आफ्नो भाषणमा उनले भनेकी छिन्, ‘भारत वा नाइजेरियाजस्ता देशहरूबाट हामीले जलवायु संकटबारे केही हुने आशा कसरी गर्ने जब कि हामीले उनीहरूका बारेमा एक क्षण पनि नसोची सबै काम गरिसकेका छौँ। पेरिस सम्झौतामा हामीले गरेका सबै प्रतिबद्धताबारे हामीले किमार्थ सोचेनौँ। त्यसकारण हामी किन हाम्रो उत्सर्जन रोकिरहेका छैनौं ? हामीले गर्ने उत्सर्जन किन बढिरहेको छैन ? के हामी जानाजान मानव जातिको उन्मूलनको बाटोमा लागिरहेका छौं ? के हामी दुष्ट हौँ ?

नाफाखोर विरुद्ध ग्रेटा
सन् २०१६ मा भएको पेरिस जलवायु सम्मेलनको समझदारीबाट सन् २०१७ को जुन महिनामा संयुक्त राज्य अमेरिकाले आफ्नो समर्थन फिर्ता लियो। समझदारीको पालना गर्दा अमेरिकाको अर्थतन्त्रमा क्षति पुग्ने भन्दै राष्ट्रपति ट्रम्पले अमेरिकी व्यापारी र उद्योगपतिको सल्लाहमा त्यसो निर्णय गरेका थिए। अमेरिकाले सो समझदारीबाट हात झिकेपछि पेरिस जलवायु समझदारीको भविष्य नै संकटमा पर्ने हो कि भन्ने चिन्ता अद्यापि व्याप्त छ। युरोपेली देशहरू, चीन लगायत संसारका अधिकांश देशले सो समझदारीलाई जोगाउन प्रतिबद्धता जनाउँदै आएका छन्। जलवायु सम्बन्धमा आजसम्मकै सबभन्दा प्रगतिशील मानिएको पेरिस सम्मेलनको गम्भीर कार्यान्वयन हुन नसक्दा पृथ्वीमा थप भयावह जलवायु संकट आएको वातावरणविद्को भनाइ छ। संसारकै विकसित देशहरूको संगठन जी ७ का नेताहरूबीच पेरिस सम्मेलन समझदारीबारे पटकपटक विवाद भएको छ।

जलवायु संकटको मूल जड पत्ता लगाउन ग्रेटालाई उनको कलिलो उमेरले रोकेन। २४ सेप्टेम्बरबाट सुरु भएको संयुक्त राष्ट्र सङ्घीय जलवायु शिखर सम्मेलनका एकजना प्रमुख आकर्षक वक्ता थिइन्, गे्रटा। न्युयोर्कमा भएको शिखर सम्मेलनमा भाग लिन उनी कुनै विमानमा आएकी थिइनन्। उनले पूरै एटलान्टिक सागर एउटा इन्धनको प्रयोग नगरिने जहाजमा पार गरेकी थिइन्। विमानमा यात्रा गर्दा जीवाश्म इन्धनको प्रयोग हुँदा जलवायुमा पर्ने प्रभावबारे उनी सचेत थिइन्। जलवायु संकटप्रति ग्रेटाको जिम्मेवारी र गम्भीरता उनको यो यात्राले पुष्टि गरेको थियो।

न्युयोर्कको शिखर सम्मेलनमा आएका संसारभरका विभिन्न देशबाट सम्मेलनमा सहभागी नेताहरू, पत्रकार र अन्य पर्यवेक्षक उनका कुरा सुन्न आतुर थिए। सम्मेलनमा ग्रेटाले निकै ओजपूर्ण र भावुक भाषण गरेकी थिइन्। उनका आँखा आक्रोश र आँसुले भरिएका थिए। उनले गुलाबी रंगको लुगा लगाएकी थिइन्। आक्रोशले उनको अनुहार पनि पूरै गुलाबी भएको थियो। आफ्नो पूरा भाषणमा उनले जलवायु संकटप्रति बेवास्ता गर्ने नेतालाई लक्षित गरी अनेकन् चुनौती दिइन्। उनले भावी पुस्ताको भविष्यलाई बेवास्ता गरे अहिलेको विश्व हाँकिरहेका मानिसलाई नयाँ पुस्ताले माफी नदिने बताइन्। विज्ञान कम्तीमा ३० वर्षदेखि जलवायु संकटबारे प्रस्ट हुँदाहुँदै पनि किन कुनै एक्सन लिइएन भन्ने उनको आक्रोश छ। विश्वका नेताहरूलाई लक्षित गरी उनले संयुक्त राष्ट्र संघमा आएर संकट समाधानका लागि मनग्य काम गरिसकेको बताए पनि राजनीतिक तहले लिनुपर्ने कुनै पनि कदम अझै नचालिएकोमा दुःख पोखिन्।

‘तपाईंहरूले दिइरहेको धोका आजको पुस्ताले बुझेका छन्। भावी पुस्ताको आँखा आज तपाईंहरूमा छ। तपाईंहरूले हामीलाई असफल बनाए हामी तपाईंहरूलाई कहिल्यै माफी गर्नेछैनौं,’ उनले भनिन्, ‘म यहाँ हुनुपर्थेन। म महासागर पारिको विद्यालयमा पढिरहेको हुनुपर्ने हो। तर, म यहाँ छु। मलाई तपाईंहरूले यहाँ आउन बाध्य पार्नुभयो। तपाईंहरूले मेरो पढाइ र बाल्यकाल खोस्नुभयो। तपाईंहरूको कत्रो आँट !’

संसारकै सबभन्दा शक्तिशाली मानिएको अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको लागि आज ग्रेटा विषालु आँखाको कसिङ्गर बनेका छन्। जलवायु सम्मेलनको क्रममा ट्रम्प जस्ता नेतालाई नै संकेत गर्दै उनले भनिन्, ‘हामीलाई आर्थिक विकासको दन्त्यकथा धेरै सुन्नु छैन। नाफाका लागि हाम्रो भविष्य खराब नगर।’

पुँजीवादी उत्पादन प्रणाली नै जलवायु संकटको मूल कारण भएको वास्तविकताको नजिक पुग्दैछिन्, ग्रेटा। पश्चिमा सञ्चारमाध्यमले आज ग्रेटालाई प्राथमिकतामा राखी प्रचारमा ल्याएको राखेको देखिन्छ। त्यसको कारण जलवायुको विषयमा अमेरिकी राजनीतिक र आर्थिक नेतृत्व तथा अन्य पश्चिमा देशका नेतृत्वबीचको अन्तर्विरोध पनि हुनसक्छ। ट्रम्पलाई जी–७ का अन्य सदस्य देशका नेताहरूले पनि पटक–पटक सम्झाउने प्रयास सार्थक बन्न नसक्दा स्विडेनकी जलवायु अभियन्ता ग्रेटालाई अघि सारेर ट्रम्पको घमण्डलाई चकनाचुर बनाउन खोजिएको पनि हुन सक्छ। पश्चिमा सञ्चारमाध्यमहरू कुनै पनि विषयमा आदर्श वा नमुना स्थापना गर्न सामान्यतः निकै हतारिने गर्छन्। मदर टेरेसा, मलाला, फ्लोरेन्स नाइटिङ्गेल आदि यसका केही उदाहरण हुन्।

तथापि जलवायु संकट आजको वास्तविकता हो। ग्रेटाको उदयले यो विषयमा संसारको ध्यान अझ गाढा गरी परेको छ। संसारले फेरि एकपल्ट विश्वमा देखिएको जलवायु संकटको चर्चा गर्न थालेको छ। जलवायु संकटका दोषी खोज्ने मनसाय सर्वत्र व्यक्त भएको छ। सबभन्दा महत्वपूर्ण कुरा यो अभियानमा किशोरकिशोरी र युवाहरूकै सर्वाधिक उपस्थिति छ। विशेषतः विद्यालयका विद्यार्थीको व्यापक सहभागिताले जलवायु संकटबारे अब कुरा नगरी राजनीतिक नेतृत्वलाई सुखै छैन।

स्कुलका कक्षा छोडेर आएका केटाकेटीहरू भन्दैछन्, ‘जलवायु परिवर्तन वास्तविकता हो।’ उनीहरू ग्रेटाकै शब्दमा परिवर्तनका उभार बन्न आतुर छन्। उनीहरू आफ्नो भविष्यमा निराशाको चिसो पानी खन्याउनेलाई चेतावनी दिन व्यग्र छन्। ग्रेटा भन्छिन्, ‘आजका मानिसहरू केटाकेटी जस्तो व्यवहार गरिरहेका छन्। त्यसकारण हामी वयस्कहरूको जिम्मेवारी पूरा गर्नतिर लागेका छौँ।’

प्रकाशित: ११ आश्विन २०७६ ०८:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App