coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भारतीय ‘मोस्ट वान्टेड’ अभियुक्त वीरगन्जमा पक्राउ

वीरगन्ज– सीमा क्षेत्रमा भएका अनेकौं अपराधमा जिम्मेवार रहेको आरोप लाग्दै आएका र प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका एक भारतीय अभियुक्तलाई पर्सा प्रहरीले बिहीबार वीरगन्जबाट पक्राउ गरेको छ।

प्रहरीका अनुसार हत्या, बलत्कार र चोरीका गाडी किनबेचजस्ता क्रियाकलापमा संलग्न रहेका भारत बिहार पूर्वी चम्पारण जिल्लाको ढाका सिकन्दरापुरको फेनाहरा गाँउ बस्ने ३७ वर्षे महम्मद समीम अख्तर पक्राउ परेका हुन्। अख्तरलाई प्रहरीले वीरगन्जको पानीट्यांकी टोलबाट बिहीबार बिहान करिब ३ बजे पक्राउ गरेको हो।

अख्तरलाई आधुनिक हतियारसहित पक्राउ गरिएको हो। मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडाको सुूनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले अख्तरलाई पक्राउ गरी बिहीबार साँझ हतियारसहित सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार अख्तरको साथबाट स्वचालित पेस्तोल एक थान, त्यसमा लाग्ने गोली १८ राउण्ड, म्याग्जीन दुई थान, कटुवा पेस्तोल एक थान, त्यसमा लाग्ने गोली पाँच राउण्ड, खैरो हेरोइन १९ ग्राम, लागु औषध स्पास्मो पोक्ससीभोन क्याप्सुल १६ थान बरामद भएको छ ।

उनीसँग मोबाइल सेट ६ थान, नेपाली नम्बरको सीम कार्ड पाँच थान, भारतीय सिम कार्ड नौ थान, छुट्टा छुट्टै नाम तर फोटो एकै व्याक्तिको भएको भारतीय निर्वाचन आयोगको कार्ड तीन थान, भारतीय चार पाङग्रे गाडीको खाली ब्लु बुक चार थान, एउटै व्याक्तिको फरक फरक नाम राखेर बनाइएको भारतीय सवारी साधन चालक अनुमतिपत्र चार थान, भारतीय सवारी साधनको ब्लु बुक पाँच थान, स्मार्ट लाइसेन्स एक थान, भारतीय स्टेट बैंकको एटिएम कार्ड एक थान, २४ हजार ४० नेपाली रुपैयाँ, नौ हजार तीन १० भारतीय रुपैयाँसमेत बरामद भएको पर्साका प्रहरी उपरीक्षक  राजुबाबु श्रेष्ठले बताए ।

अख्तरबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए । सडकमा हिँडिरहेका बेला पक्राउ परेका अख्तरको बयानको आधारमा तुरुन्तै उनको वीरगन्ज १५ मुर्लीबगैचा टोलमा रहेको डेरामा छापा मार्दा हतियार र अरु सामानहरु बरामद भएको प्रहरी उपरिक्षक श्रेष्ठले बताए।

उनी सो ठाउँमा करिब दुई महिनादेखि डेरागरी बस्दै आएका थिए। पर्सा प्रहरीका अनुसार पक्राउ परेका अख्तर भारतीय प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका अपराधी हुन् ।

प्रकाशित: ९ मंसिर २०७३ १३:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App