८ वैशाख २०८१ शनिबार
समाज

तंग्रामका महिला बाख्रापालनबाट आत्मनिर्भरतातर्फ

गलकोट– गाउँघरतिरको हिजोआज निराशाजनक र उदेक लाग्दो खबर बढी सुनिन्छ। गाउँ रित्तिएको छ। गाउँमा सम्भावना छैन। गाउँमा केही गर्ने वातावरण छैन। धेरैजान यस्तै भन्छन् तर, यथास्थिति यस्तै मात्र पनि होइन। विभिन्न पेशा, व्यवसाय र उद्यम गरेर आत्मनिर्भरताको गतिलो उदाहरण दिएका थुप्रै गाउँलेलाई पनि भेट्टाउन सकिन्छ।     
     
जिल्लाको काठेखोला गाउँपालिका वडा नं ४ तंग्रामका दुई सहकारीमा आवद्ध महिलाहरु यसैको एउटा उदाहरण हो। उनीहरुले बाख्रा बेचेर वार्षिक करीब डेढ करोड रुपैयाँ गाउँ भित्र्याइरहेका छन्। सप्तरङ्गी सामाजिक उद्यमी महिला विकास सहकारी संस्था र वसन्त सामाजिक उद्यमी महिला विकास सहकारी संस्थामा आवद्ध महिला शेयर सदस्यहरुले बाख्रा बिक्री गरेर आय आर्जन गरेका हुन्।     
     
आर्थिक वर्ष २०७५/७६ मा सप्तरङ्गी सहकारी मार्फत ७ सय १४ वटा खसी बिक्री गरी ७९ लाख ५२ हजार १ सय ७५ रुपैयाँ आम्दानी गरिएको संस्थाका प्रवन्धक मनकुमारी पुनले जानकारी दिए।     
     
वसन्त सहकारीका प्रवन्धक हेमा विकले दिएको जानकारी अनुसार संस्था मार्फत ५ सय ३९ वटा खसी बोका बिक्री गरी ६१ लाख १२ हजार २ सय रुपैयाँ आम्दानी भएको छ। दुईवटा सहकारी मार्फत तंग्रामका बाख्रापालक किसानहरुले वार्षिक १ करोड ५० लाख रुपैयाँ घर भित्र्याएका हुन्।     
     
सप्तरङ्गी सहकारीले गत आर्थिक वर्षमा १९ हजार ६ सय ३५ केजी बराबरको खसी बोका बिक्री गरेर ९८ हजार १ सय ५० रुपैयाँ नाफा गरेको थियो। त्यस्तै, वसन्त सहकारीले १५ हजार ९२ केजी खसी बोका बिक्री गरेर ७५ हजार ४ सय ६० रुपैयाँ नाफा कमायो।     
     
दुवै सहकारीले आफ्ना सदस्यहरुको खसी बोका प्रतिकेजी ४ सय रुपैयाँमा सङ्कलन गर्ने र ४ सय ५ रुपैयाँमा बिक्री गर्ने गरेका छन्। 'प्रतिकेजी जम्मा ५ रुपैयाँ बढी लिएर सदस्यहरुका उत्पादन सङ्कलन गरी बजारमा लगेर बिक्री गर्ने व्यवस्था मिलाएका छौं,' प्रवन्धक पुनले भने– 'महिला किसानको उत्पादनको बजारीकरण सहकारीमार्फत गर्दै आएका छौं। पुनका अनुसार उत्पादित खसी बोका बागलुङ बजारमा खपत हुने गरेका छन्।'   
     
हेफर इन्टरनेशनल मार्फत विवाइसी बागलुङले साविक तंग्राम गाविसमा विगत ७ वर्षदेखि साना किसान सबलीकरण परियोजना सञ्चालन गर्दै आएको छ। उक्त परियोजनाबाट सप्तरङ्गी सहकारी मार्फत २ सय ४३ जना र वसन्त सहकारी मार्फत ६ सय ११ जना सदस्यलाई आयआर्जनका काममा केन्द्रित गरिएको विवाइसीका सहकारी क्षमता विकास सहजकर्ता रीता शर्माले जानकारी दिइन्।

महिलालाई सदस्य बनाई आयआर्जनमा केन्द्रित गरेको र उनीहरुलाई परिवारका पुरुष सदस्यहरुले सहयोग गरेका कारण विगत ४ वर्षदेखि वार्षिक १ करोड भन्दा बढी रकम आम्दानी हुन थालेको छ। सहकारीका शेयर सदस्यहरुलाई बाख्रापालनमा केन्द्रित गर्ने र सहकारी संस्थाले खरिद गरेर बजारमा बिक्री वितरण गर्ने व्यवस्था गरिदिएपछि बाख्रापालन गर्नेको सङ्ख्या वार्षिक रुपमा वृद्धि हुँदै गएको छ। उपयुक्त चरन क्षेत्र भएको तंग्राम पछिल्लो समय बाख्रापालनको केन्द्र बन्दै गइरहेको छ।     
     
'प्रत्येक परिवारमा दुई-चार वटा बाख्रा अनिवार्य पाल्ने गरिएको छ, व्यावसायिक रुपमा बाख्रा पाल्नेहरुको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ,' स्थानीय यामबहादुर पुनले भने- 'तंग्राममा बाख्रा नभएको घर पाउनै मुश्किल छ।' चिसो हावापानीको चरन क्षेत्रमा हुर्केका खसी बोकाको मासु निकै स्वादिष्ट भएको भन्दै गाउँमै खसी बोका खरिद गर्न व्यापारीहरु तंग्राम पुग्ने गरेका छन्।     
     
घरका महिलाहरु सहकारीका सदस्य बनेका छन्। उनीहरुलाई पुरुषहरुले सहयोग र समन्वय गरेका कारण वर्षमा एक हजार वटा भन्दा बढी खसी बोका तंग्रामका दुईवटा सहकारी मार्फत बजारमा बिक्री हुने गरेका छन्। सहकारी मार्फत सदस्यको उत्पादन बिक्री गरेर उनीहरुको आय वृद्धि गराउन पाउँदा आनन्दको अनुभूति हुने गरेको सप्तरङ्गी सहकारीका अध्यक्ष थमकुमारी श्रीसले बताइन्।

'कुनै समय घर खर्च चलाउन समस्या हुने महिलालाई अहिले सजिलो भएको छ,' श्रीसले भनिन्– 'विस्तारै विस्तारै यहाँका महिलाहरु आर्थिक रुपमा सबल हुँदै गएका छन्।'    
     
दशैंका लागि बोका तयार  
   
दशैं र तिहार नजिकिंदै छ। यी पर्वका लागि हिमाली मुस्ताङबाट हजारौं खसी बोका ल्याइने गरिन्छ। तर, यसरी आयात गरिने च्याङ्ग्रा, खसी रोक्न यस वर्ष तंग्रामका महिलाले ७ सयभन्दा बढी खसी बोका गाउँमै तयार गरेको अध्यक्ष श्रीसले जानकारी दिइन्। यस पटक सप्तरङ्गी सहकारीले ३ सय १५ र वसन्त सहकारीले ४ सय ५ वटा खसी बोका बिक्री गर्ने लक्ष्य राखेका छन्। रासस

प्रकाशित: १० आश्विन २०७६ ११:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App