coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

६ लेन सडकः पुलको ठेक्का लगाउन विभागबाटै ढिलाई

निर्माणाधिन मोहनापुल–अत्तरिया ६ लेन सडक खण्ड । तस्बिरः पुष्पराज/नागरिक

कैलाली– बहुप्रतिक्षित योजनाको रुपमा रहेको मोहनापुल–अत्तरिया ६ लेन सडकमा रहेका तीन वटा ठूला पुल निर्माणका लागि ठेक्का आह्वान हुन सकेको छैन्। ६ लेन सडकको भौतिक निर्माणको कार्य ५५ प्रतिशत सम्पन्न भइसक्दा पनि सडकमा पर्ने तीन वटा ठूला पुल निर्माण कार्यका लागि अहिलेसम्म काम अगाडि बढ्न सकेको छैन्। जसले गर्दा सडक निर्माण कार्य पूरा भइसक्दा पनि पुल निर्माणमा ढिलाइ हुने भन्दै स्थानीय आक्रोसित बनेका छन्।

मोहनापुल–अत्तरिया जोड्ने ६ लेन सडक आयोजना अन्तर्गत निर्माण हुने मोहना पुल, गेटास्थित मनहरा पुल र गेटी खोलामा निर्माण गरिने पुलको ठेक्का अझै हुन नसकेको हो। २०७४ जेठमा ६ लेन सडक निर्माण कार्य सुरु भए पनि त्यसमा पर्ने तीन वटा पुलको ठेक्का आह्वान नहुँदा मोहनापुल–अत्तरिया सडकखण्डको पूर्ण निर्माण कार्य सम्पन्न हुन ढिलाई हुने स्थानीय रोज ओझाले बताए।

सडक निर्माण कार्य भइरहँदा पुल निर्माणका लागि कुनै पहल नहुँदा ६ लेन सडकको आकर्षण घट्ने उपभोक्ता हक हित संरक्षण मञ्चका अध्यक्ष हरि रेग्मी बताउँछन्। ‘भारतको सीमा जोड्ने मोहना पुल साँघुरो र पुरानो हुनु र त्यसबाट नेपालतर्फको सडक ६ लेनको बन्नु आफैमा अमिल्दो भयो,’ उनले भने,‘सडक चौडा देखिनु र पुराना पुल सिंगल लेनका हुनुले सडकको शोभा नै घटाउने छ।’ उनले सडक निर्माणसँगै चाँडै पुल निर्माण गरिनुपर्ने उनी बताउँछन्।

कन्सलटेन्टले निर्माण गरेको तीन वटा पुलको सर्भे र डिजाइनलाई सडक विभागले अध्ययनमै राखेका कारण ठेक्का प्रक्रिया लम्बियो ।

करिब एक अर्ब ६८ करोड रुपैयाँको लागतमा सम्पन्न हुने मोहनापुल–अत्तरिया १४ किलोमिटर ६ लेन सडकमा तीन वटा पुल निर्माण गरिनुपर्ने छ। आयोजना कार्यालयका अनुसार कन्सलटेन्टले निर्माण गरेको पुलको डिजाइनलाई सडक विभागले अध्ययनमै राखेका कारण पुलको ठेक्का प्रक्रिया लम्बिएको मोहनापुल–अत्तरिया ६ लेन सडक आयोजनाका योजना प्रमुख इञ्जिनियर होमबहादुर एसीले बताए।

उनका अनुसार यहाँबाट डिजाइन र सर्भे भएको रिपोर्ट सडक विभागको पुल महाशाखाले चेक गरी स्वीकृति गरिसकेपछि मात्रै हो पुल बन्नेछ। तर, यहाँबाट पठाएको रिपोर्टमा अहिलेसम्म अध्ययनमै राखेका कारण पुलको ठेक्का आह्वानमा ढिलाई भइरहेको उनले बताए। ‘म यहाँ आउने बित्तिकै जेठमै सर्भे र डिजाइन रिपोर्ट विभागमा पठाएको थिएँ,’ उनले भने,‘त्यो बेला पठाएको सर्भे र डिजाइन रिपोर्ट अहिलेसम्म स्वीकृति भएन।’ आफूले पटक–पटक लिखित र मौखिक रुपमै पुलको रिपोर्ट चाँडै स्वीकृति गरी ठेक्का आह्वान प्रक्रियामा सहयोग पु-याइदिन विभागमा अनुरोध समेत गरिसकेको उनी बताउँछन्।

‘खै के प्रक्रिया नमिलेर अहिलेसम्म रिपोर्ट स्वीकृत भएर आउन सकेको छैन,’ उनले भने, ‘यही रिपोर्ट स्वीकृतको आशमा बस्दा बस्दै समय गुज्रिन थालेको छ।’ आफूले जतिसक्दो चाँडै विभागलाई डिपिआर तयार गर्न दबाब दिई रहेको समेत उनले बताए । पुलको डिपिआर नै तयार नभइसकेका कारण लागत कति लाग्ने भन्ने बारेमा पनि प्रष्ट नभएको उनी बताउँछन्।

मोहनापुल–अत्तरिया ६ लेन सडक खण्ड तीन प्याकेजमा निर्माण थालिएको हो। मोहना पुलदेखि बोराडाँडीसम्मको ४ दशमलव ५ किलोमिटर सडक शर्मा–अमर–नागार्जुन जेभी, बोराडाँडीदेखि गेटाको आरपी प्लोर मिलसम्मको ४ दशमलव ५ किलोमिटर सडक लामा–राजेन्द्र–डाँफे जेभी र फ्लोर मिलदेखि अत्तरिया बजारसम्मको ५ दशमलव १९ किलोमिटर सडकलाई पनि लामा–राजेन्द्र–डाँफे जेभीले निर्माणले ठेक्का पाएको थियो। २०७४ जेठबाट सुरु भई दुई वर्षभित्र काम सक्नेगरी सम्झौता भएको सडकको अहिलेसम्म भौतिक प्रगति ५५ प्रतिशत मात्रै हुन सकेको आयोजनाले जनाएको छ।

प्रकाशित: १० आश्विन २०७६ १०:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App