६ वैशाख २०८१ बिहीबार
समाज

जनप्रतिनिधि नै ठेकेदार, दुई वर्षसम्म मजदूरले पाएनन् ज्याला

जाजरकोट– नलगाड नगरपालिका– १० का अनक नेपाली पारिश्रमिक माग्दै र ठेकेदार खोज्दै धाउन थालेको दुई वर्ष भयो। तर उनले काम गरेबापतको पारिश्रमिक पाएका छैनन्।

यो अवधिमा न त उनले काम गरेको पैसा पाए न त काम लगाउने ठेकेदारलाई नै भेट्न पाएन्।  अनक मात्रै होइनन्, एउटै गाउँका ५० जनाभन्दा बढी मजदूरले काम गरेको ज्याला पाएका छैनन्।

नलगाड नगरपालिकामा निर्माण भएको चौखा–रजिक–बानियाँ गाउँ सडकका मजदूरले पैसा पाएका छैनन्। निर्माणको जिम्मा भने जिल्ला समन्वय समिति जाजरकोटका सदस्य तेजविक्रम शाह र वीरबहादुर सिंह कसले पाएका थिए। उनीहरु मध्ये पैसा कसले दिने भन्ने टुङ्गो नलागेपछि मजदूर चिन्तित बनेका हुन्।

२६ लाखको ठेक्का सात लाखमा झारियो

नलगाड नगरपालिकामा निर्माण भएको चौखा–रजिक–बानियाँ गाउँँ सडकको कूल लागत २६ लाख ३४ हजार ६२६ रुपैयाँ रहेको छ। ठेकेदारले पैसा नै नदिएर आलटाल गर्दै आएका छन्।

पछि स्थानीयवासीले प्रहरीमा उजुरी दर्ता गरेपछि सात लाख दुई हजार ८०७ रुपैयाँ दिने सहमतिमा गत साउन ४ गते ठेकेदारले प्रहरी कार्यालयमा कागज गरेका थिए। 

प्रहरी कार्यालयमा गरिएको कागजमा साउन ५ गते तीन लाख ५० हजार रुपैयाँ र साउन मसान्तमा तीन लाख ५२ हजार ८०७ रुपैयाँ ठेकेदार वीरबहादुर सिंहले अनक नेपालीलाई बुझाउने सहमति भएको प्रहरी प्रमुख श्यामबहादुर खत्रीले जानकारी दिए।  

प्रहरी कार्यालयमा गरिएको कागजअनुसार सडकको रकम कमिशनमा बढी खर्च भएको उल्लेख गरिएको छ। कागज गरेको दुई महीना बित्दा पनि ठेकेदारको पैसा दिने कुनै सुरसार गरेका छैनन्। सडक डिभिजन कार्यालय चौरजहारीले २०७५ असार २५ गते २६ लाख ३४ हजार ६२६ सडकको लागत भएको मूल्याङ्कन गरेको थियो।

घटनाबारे जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले संबन्धित ठेकेदारसंग कुरा गरिने बताएका छन्।

‘लेनदेनको कारोवार प्रशासनले हेर्न नमिल्ने भए तापनि कामदार ठगिएको गुनासो आएकाले ठेकेदार तेजविक्रम शाहलाई बोलाएर छलफल गर्नेछौँ’ उनले भने। जनता ठगिएको महसुस गरेर प्रशासनले एक चरणमा छलफल गर्ने निर्णय गरेको प्रजिअ पन्तको भनाइ छ।

प्रकाशित: १० आश्विन २०७६ ०७:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App