७ वैशाख २०८१ शुक्रबार
समाज

वर्षाका कारण पूर्वाञ्चल गोल्डकप स्थगित

दमक – खराब मौसमका कारण झापाको विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने भनिएकोे अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप तत्कालका लागि स्थगित गरिएको छ। यही असोज ११ गतेदेखि १८ गतेसम्म गोल्डकप हुने मिति तय गरेर खेल तालिका सार्वजनिक गरिएको थियो।

निरन्तरको वर्षाका कारण खेल मैदानमा पानी र हिलो भएका कारण निर्धारित समयमा गोल्डकपका खेलहरु सञ्चालन गर्न असमर्थ रहेको भन्दै आयोजक जायोन स्पोटर््स क्लबले बिहीबार रंगशालामै पत्रकार सम्मेलन गरेर स्थगित भएको जनाएको हो। आयोजक क्लबका प्रवक्ता अविनाश राईले गोल्डकपको सम्पूर्ण तयारी सकिए पनि खराब मौसमकै कारण प्रतियोगिता स्थगन गर्नुपरेको बताए।

मैदानको अवलोकनपछि खेल प्राविधिकहरुको निचोड र मौसमविद्को पूर्वानुमानलाई मध्यनजर गरी खेल स्थगित गरिएको जानकारी दिँदै प्रवक्ता राईले खेल सञ्चालनका लागि कात्तिक २ गतेदेखि ९ गतेसम्म अर्को मिति तय गरिएको पनि बताए। उनका अनुसार अर्को मितिका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)लाई पत्राचार गरिएको छ।

प्राविधिकहरुका अनुसार मैदानमा पानी जमेकाले खेल सञ्चालन गर्दा हिलो हुने, खेलाडी लड्न गई चोटपटक लाग्ने सम्भावना बढी भएकाले पनि खेल स्थगित गरिएको उनको भनाइ थियो।

प्रतियोगिताको तयारी पूर्ण अवस्थामा भएर पनि खेल स्थगित गर्नुपर्दा दुःख लागेको उनले सुनाए। तर, कात्तिकमा खेल सञ्चालन गर्दा पनि दर्शक नघट्ने उनले दाबी गरेका छन्। तिहारअगाडि नै सक्नेगरी लक्ष्य लिइएको उनले बताए। प्रतियोगिताको फाइनल खेल कागतिहारको दिन पर्नेछ।

आयोजक क्लबका अध्यक्ष भक्त खवासले सबैको विश्वास जितेर तयारी सकिएको अवस्थामा खेल मौसमका कारण रोकिँदा नमज्जा लागेको बताए। अब अर्को मितिमा खेल हुने भएपछि केही आर्थिक क्षति व्यहोरेर भए पनि फेरि तयारी जुट्ने उनको भनाइ छ।

असोज ११ गतेदेखि हुने भनिएको गोल्डकपमा यसअघि चार वटा ए डिभिजन क्लब, मोफसलका दुई र भारतका दुई टिमले सहभागिता जनाउने खेल तालिका सार्वजनिक गरिएको थियो।

प्रकाशित: १० आश्विन २०७६ ०६:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App