६ वैशाख २०८१ बिहीबार
समाज

चाडबाड नजिकिँदा चोरी–लुटपाट बढ्दो

इलाम - दसैं, तिहारलगायतका चाडबाड नजिकिँदै जाँदा सदरमुकामका विभिन्न स्थानमा चोरी र लुटपाटका घटना थपिँदैछन् । रातको समयमा चोरी र सार्वजनिक सम्पत्ति क्षति गर्ने व्यक्ति सक्रिय भएका छन् ।

बुधबार राति सदरमुकामको आदर्श बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको ढोका फोरेर नगद चोरी भएको छ । इलाम बजारको मालापथबाट कुलधारा जाने सडकमा भर्खरै बनेको भवनको ढोका फोरेर नगद साढे ३ लाख रुपैयाँ चोरी भएको संस्था अध्यक्ष महेश श्रेष्ठले बताए । ‘अनुहारमा कपडा बाँधेर क्यामेरामा नचिनिनेगरी आएको व्यक्तिले चोरी गरेको सिसी टिभीको फुटेजमा देखिन्छ,’ उनले भने, ‘बुधबार राति करिब १ बजेतिर यो घटना भएको हुनसक्छ ।’ कसले सहकारीको नगद चोरी ग¥यो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मंगलबार र बुधबार राति सदरमुकामकै कुलधारास्थित मेची राजमार्गको छेउमा गाढिएका सोलार डोनिएटर पोस्ट (खम्बामा राखिने ट्राफिक बत्ती) हराएका छन् । केही बत्ती फुटाइएकोस्थानीय प्रवीण घिमिरेले बताए । ‘अघिल्लो दिन राखिएका बत्तीसहित धातुका पोल राति नै हराएछन्,’ उनले भने, ‘अरू बत्ती पनि खम्बा हल्लाएर चोरी गर्न तयार पारेजसरी छाडिएको छ ।’ उनले सार्वजनिक सम्पत्तिमा क्षति गर्नेमाथि अनुसन्धान गरी कारबाही गर्न माग गरे । करिब साताअघि इलाम बजारमै डिँडिरहेकी महिलाले लगाएको सिक्री अज्ञात व्यक्तिले लुटेर लगेको थियो । मोटरसाइकलमा आएको व्यक्तिले महिलाको घाँटीमा लगाएको सिक्री थुतेर भागेको पीडितले बताइकी थिइन् ।

सदरमुकाममा पर्ने मेची राजमार्ग र इलाम बजारमा चोरी–लुटपाटका घटना भएपछि स्थानीय त्रसित छन् । केही महिनाअघि इलाम बजारकै भानुपथका दुई पसल चोरी भएका थिए । त्यसको साता दिनअघि साविक महिला विकास कार्यालयकी प्रमुख स्किम श्रेष्ठको कोठा फोरेर ल्यापटप र अन्य सामान चोरी भएको थियो । तर, अधिकतर घटनामा संलग्न व्यक्ति पक्राउ पर्न सकेका छैनन् ।

सदरमुकाममा भइरहेका चोरी र लुटपाटका घटनाबारे अनुसन्धान भइरहेको भन्दै प्रहरीले चाडबाडलक्षित सुरक्षा योजनासमेत लागू गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी हेमन्त भण्डारी क्षेत्रीले राजमार्ग र वित्तीय संस्थालाई प्राथमिकता दिएर सुरक्षा योजना ल्याएको बताए । ‘चाडबाडका बेला फटाइँ गर्नेहरू सक्रिय हुन्छन्,’ डिएसपी क्षेत्रीले भने, ‘तर, हामीले चाडबाडलक्षित सुरक्षा योजना ल्याएका छौं । ठाउँ–ठाउँमा प्रहरी टोली सक्रिय बनाएका छौं ।’ वित्तीय संस्थाका ३० कर्मचारीलाई प्रहरीले चाडबाडका बेला हुनसक्ने घटनाबाट सतर्क रहनेबारे एकदिने सुरक्षा कक्षा पनि सञ्चालन गरेको छ ।

उनले मनोरञ्जनस्थल, व्यावसायिक काम गर्ने स्थानलगायतको सुरक्षा व्यवस्था पनि कडा बनाइएको बताए । ‘जुवा, तास, चिठ्ठा उडाउनेलगायत प्रतिबन्धित खेलमा विशेष निगरानी गरिनेछ,’ उनले भने, ‘अत्यावश्यक उपभोग्य वस्तुको मूल्य र सवारी साधनको भाडा बढाउनेलाई पनि कानुनी दायरामा ल्याइनेछ ।’ यात्रुहरूको सहजताका लागि फिक्कल र सदरमुकामको बसपार्कमा यात्रु सहायता कक्ष राखिएको, मंगलबारे र पशुपतिनगरमा पनि केही दिनभित्रै राखिने प्रहरीले जनाएको छ ।

प्रहरीले भारतीय सीमा पशुपतिनगरमा पनि गस्ती बढाएको छ । चाडबाडका बेला सीमा क्षेत्रमा हुनसक्ने घटना न्यूनीकरण गर्न सीमा क्षेत्रमा पनि निगरानी बढाएको उनले जनाए । ‘चाडबाडका बेला ठगिएको, आफूमाथि अन्याय भएको वा असुरक्षित भएको अनुभूत भए नजिकैको प्रहरीमा खबर गर्न अनुरोध गरेका छौं,’ डिएसपी क्षेत्रीले भने, ‘अवस्था हेरेर स्कर्टिङसमेत गर्नेछौं ।’
 

प्रकाशित: १० आश्विन २०७६ ०६:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App