६ वैशाख २०८१ बिहीबार
अर्थ

बजारभरि अखाद्य वस्तु

बजार अनुगमनबाट बरामद सामग्रीको चाङ। तस्बिर : शिखर जंग श्रेष्ठ/नागरिक

सोलुखुम्बु – सोलुखुम्बुको सल्लेरीमा चाडपर्व लक्षित बजार अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय, सोलुदूधकुण्ड नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालयको समन्वयमा सोलुदूधकुण्ड नगरपालिकाको वडा नं ४ फाप्लु, वडा नं ५ सल्लेरी र वडा नं ६ जेरो प्वाइन्ट क्षेत्रमा किराना पसल तथा मासुपसलमा गरिएको अनुगमनबाट ठूलो परिमाणमा अखाद्य वस्तु बरामद गरिएको हो।

सोलुदूधकुण्ड नगरपालिकाकी उपमेयर कल्पना राई, जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी शाही, प्रहरी प्रशासन, उपभोक्ता हकहित संरक्षण मन्च, नेपाल पत्रकार महासंघलगायत अन्य विषयगत कार्यालयका प्रतिनिधिको टोलीले ४५ वटा किराना पसल तथा मासु पसलमा गरिएको अनुगमनबाट २१ प्रकारका म्याद गुज्रिएका खाद्य सामग्री बरामद गरिएको हो।

पेयपदार्थ, दालमोठ, बिस्कुट, ससेज, मिट मसला, पिनट, किम्स अचार, सलाद क्रिम, चकलेट, तेल, बेडजाम, जुस, फेन्टा, अजिना, चिउरा, भुजा, थुप्पालगायतका अखाद्य सामग्री बरामद गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी शाहीले जानकारी दिइन्। अखाद्य वस्तु बढीजसो फाप्लु क्षेत्रका किराना पसलबाट बरामद गरिएको छ। बरामद सामग्री प्रक्रिया पु-याएर नष्ट गरिनेछ। अनुगमनका क्रममा मासु व्यवसायी नभेटिएकाले प्रभावकारी अनुगमन गर्न नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी शाहीको भनाइ छ।

उपभोक्ताको हितलाई ध्यानमा राख्दै चाडपर्वलक्षित अनुगमनलाई निरन्तरता दिइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। स्थानीय सरकारको समन्वयमा जिल्लाका अन्य बजारमा पनि अनुगमन गर्ने तयारी भइरहेको बताइएको छ।

प्रकाशित: १० आश्विन २०७६ ०२:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App