८ वैशाख २०८१ शनिबार
समाज

घर फर्कनेको लर्को, सीमानामा सास्ती

धनगढी - भारतका विभिन्न सहरमा मजदुरी गर्दै आएका सुदूरपश्चिमेली युवा धमाधम घर फर्कन थालेका छन्। महेन्द्रनगरको गड्डाचौकी र धनगढीको त्रिनगर नाकामा अहिले स्वदेश फर्कनेहरूको घुइँचो देखिने गरेको छ।

भारतमा वर्षभरि मजदुरी गरेर दसैं मनाउन घर फर्कने नेपालीले सीमामा भने निकै सास्ती खेप्नुपरेको छ। आफूहरूले कडा मिहिनेत गरेर कमाएको र खाईनखाई जोगाएको पैसा बाटोमै लुटिने गरेको नेपाल फर्कंदै गरेका युवा बताउँछन्। उनीहरूका अनुसार घर फर्कंदै गरेका नेपालीले सीमानाकामा दुव्र्यवहार त खेप्नुपर्छ नै, अनावश्यक पैसासमेत बुझाउनुपर्छ।

बिस्कुटमा विष खुवाएर लुटियो
गोदावरी नगरपालिका–४ का ३८ वर्षीय गोपाल बोहरा र ३२ वर्षीय गणेश नेपाली चेन्नईमा मजदुरी गर्थे। घरपरिवारसँगै दसैं मनाउने भनेर उनीहरू दुवै घर आउन हिँडे। भारतको गजरौलामा खाना खान गाडीबाट उत्रेपछि नेपाली भाषा बोल्ने एक व्यक्तिले परिचितजस्तै व्यवहार गरे र सँगै खाना खाने भन्दै होटलतर्फ लगे। तर दुवैजना मंगलबार बिहान गौरिफन्टा नाकामा गाडीभित्रै अर्धचेत अवस्थामा भेटिए। उद्धारपछि दुवैलाई सेती प्रादेशिक अस्पतालमा उपचारार्थ भर्ना गरिएको त्रिनगर प्रहरी चौकीका प्रहरी नायब निरीक्षक मदनबहादुर सिंहले बताए।

‘नेपाली भाषा बोल्ने र परिचितले जस्तै व्यवहार गर्ने एकजनाले एकएकवटा बिस्कुट खान दिएको थियो,’ सेती प्रादेशिक अस्पतालमा उपचारपछि होसमा आएका गोपालले भने, ‘त्यसपछि के भयो, केही थाहा भएन।’ उनका अनुसार दुवैजनाबाट ५०/५० हजार गरी १ लाख रूपैयाँ लुटिएको छ। ‘अस्पतालमा ल्याइपु¥याउँदा दुवै होसमा थिएनन्,’ आकस्मिक कक्ष प्रमुख कृष्ण बोहराले भने, ‘वर्षभरि कमाएको सबै पैसा लुटिएछ। उनीहरूको अवस्था देखेर निकै दुःख लाग्यो।’

भारतका विभिन्न सहरबाट मजदुरी गरेर फर्कने नेपाली मजदुर बीच बाटामै विष मिसाएको खानेकुरा खुवाएर लुटिने घटना बर्सेनि भइरहन्छन्। अर्काको ठाउँमा पसिना बगाएर सस्तोमा श्रम बेचेर कमाएको पैसा पनि घर पु-याउन नपाउने अवस्था अन्त्य गर्न सरोकारवालाबाट पहल नभएको उनीहरूको गुनासो छ।

‘प्रत्येक वर्ष विष मिसाएको खानेकुरा ख्वाएर लुट्ने गरिएको छ, न लुट्ने अहिलेसम्म पक्राउ परेका छन्, न लुटने कार्य बन्द भएको छ,’ स्थानीय प्रेमबहादुर बोहराले भने, ‘भारतमा मजदुरी गर्ने नेपालीको पीडा र दुःख कसैले हेर्ने गरेको छैन।’

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बिस्कुटमा विष खुवाएर लठ्याउने व्यक्तिको अनुसन्धान गरेर कारबाही गर्न भारतीय काउन्टर पार्टलाई आफूले अनुरोध गरेको बताएका छन्। ‘घर फर्कने नेपालीलाई लठ्याएर पैसा लुट्ने समसया पहिलेदेखिकै हो। अहिलेको घटनाबारे अनुसन्धान गरेर लुटपाटमा संलग्नलाई कारबाही गर्न काउन्टर पार्टसँग समन्वय गरेर लागिपरेका छौं।’

सीमामा सास्ती
विष मिसाएको खानेकुरा ख्वाएर लुट्ने, गाडीमै लुटपाट मच्चाउनेका कारण स्वदेश फर्कने नेपालीलाई समस्या त छँदै छ, सीमा नाकामा पनि उनीहरूले अनावश्यक सास्ती खेप्नुपर्ने स्थिति छ। ‘दसैंका लागि घर फर्कने बेला सीमामा सधैं दुःख भोग्नुपर्छ । वर्षभरि अर्काको ठाउँमा पसिना बगाएर कमाएको दुई पैसा घर पु-याउन निकै गाह्रो छ,’ भारतको बैंगलोरबाट मजदुरी गरी दसैंका लागि घर फर्केका कैलाली लम्कीका कपिल साउद भन्छन्, ‘गौरीफन्टा नाकामा भारतीय प्रहरीले त्रिपालले बनाएको टहराभित्र लगेर सय भारु मागे, नदिएसम्म जान पाइँदैन भनेर रोके।’

बाटो र सीमामा हुने लुटपाट र ज्यादतीले मजदुरी गर्ने कतिपय नेपालीलाई दसैंमा घर फर्कनै नसकिने अवस्थामा पु-याएको व्यापक गुनासो हुने गरेको छ। ‘हामी गरिबसँग आफ्नै लुगफाटााको गुन्टा हुन्छ, ठाउँठाउँमा त्यही गुन्टाको पैसा नदिई अगाडि बढ्न सकिँदैन,’ भारतबाट फर्केका राजेन्द्र सुनारले भने, ‘भारतीय कस्टम ९भन्सार० का कर्मचारी र एसएसबीले झोलाको शुल्क भन्दै एक/एक सय भारतीय रूपैयाँ मागे।’

रिक्सा चालक पनि लुट्छन्
 भारतीय नाका गौरीफन्टा बस स्टेसननजिक ५÷६ वटा रिक्सा हुने गर्छन्। ती रिक्साचालकले दसैंका लागि भारतबाट मजदुरी गरी घर फर्कनेहरूलाई झोलाझम्टीसहित रिक्सामा राख्छन्। त्यहाँबाट करिब सय मिटर वरको नाका पार गरेर नेपालतर्फ पु-याउँछन। त्यसबापत करिब सय भारुसम्म असुल्छन्। रिक्सा लगेर भारतीय प्रहरी, वनका कर्मचारी र भन्सारका कर्मचारी अघि रोक्ने गर्छन् । ‘पुराना आफ्नै लुगाकपडा थिए, अन्य सामान खासै थिएन,’ भारत सुरतबाट फर्केका डोटीका दिनेश नेपालीले भने, ‘पारिबाट वारि ल्याएर छाडिदिए अनि सय रूपैयाँ भारु नदिउन्जेल मानेनन् ।’ डोके बजारबाट करिब डेढ किलोमिटर दूरीमा रहेको चौराहसम्म २० रूपैयाँ भाडा लाग्नेमा रिक्साले १ सय ५० रूपैयाँसम्म लिने गरेको उनीहरू बताउँछन्।

‘अर्काको देशमा पसिना बगाएर मजदुरी गर्नुपर्ने बाध्यता छ । त्यसैमा चाडपर्वका बेला घरमा आउँदा बाटोमा लुटिनुपर्छ,’ उनले भने। आफूसँग भएको जमिनको उब्जनीले ६ महिना पनि खान नपुग्ने र अन्य आयस्रोत नहुँदा सुदूरपश्चिमका लाखौं युवा भारतका विभिन्न सहरमा मजदुरी गर्ने गर्छन्। बेरोजगारीका कारण घरपरिवारको दुई छाक जोहो गर्न भारतका विभिन्न ठाउँमा उनीहरू सस्तो श्रम बेच्न बाध्य छन्। ‘थोरै तलबमा कठिन काम गर्नुपर्छ,’ कैलालीका भीम चौधरीले भने, ‘यहाँ रोजगार पाइँदैन, त्यहाँ गएपछि थोरै पैसामा पनि जस्तो कठिन काम पनि गर्नैप-यो।’

सीमामा सहायता कक्ष
दसैंका लागि घर फर्कने नेपालीमाथि सीमामा सास्ती भएको खबर आएपछि उनीहरूको सहायताका लागि सीमामा सहायता कक्ष स्थापना गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले बताएका छन्।‘सीमामा नेपालीमाथि कुनै किसिमको दुःख र सास्ती नहोस् भनेर हामीले भरमग्दुर प्रयास गरेका छौं,’ उनले भने, ‘उनीहरूका समस्या सुन्न सशस्त्र प्रहरी, नेपाल प्रहरी रहेको सहायता कक्ष खोलेका छौं।’ ई–रिक्साबाट पनि बदमासी भएको सुनिएकाले सहायता कक्षमा यातायात समितिको प्रतिनिधि, ई–रिक्साको प्रतिनिधि पनि राख्ने तयारी भइरहेको उनले बताए। सहायता कक्षमा दररेट पनि राखिएको उनको भनाइ छ।

भारतीय नाकामा पनि एसएसबी, भारतीय कस्टम प्रमुख, वन विभाग प्रमुख सबैसँग समन्वय गरेर दसैंका लागि घर फर्कने नेपालीहरूमाथि हुने ज्यादती हुन नदिन आग्रह गरिएको उनले बताए । एकपटक आफू अनुगमनमा पनि गएको उनले बताए । नेपाल पक्षका प्रहरीलगायतलाई पनि घर फर्कने नेपालीमाथि कुनै दुःख नदिन कडाइका साथ निर्देशन दिएको उनले बताए।

प्रकाशित: १० आश्विन २०७६ ०२:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App