७ वैशाख २०८१ शुक्रबार
विचार

चीनबाट के सिक्ने हामीले ?

‘मस्कोमा पानी पर्दा काठमाडौंमा छाता ओढाइ’ नेपालका कम्युनिष्टहरु प्रति छेडछाड गरिने यो एक अत्यन्त प्रचलित कथन थियो। कुरा सन पच्चास दशकतिरको हो। अन्तरराष्ट्रिय सर्वहारावादको वकलात गर्ने  तात्कालिन कम्यूनिष्टहरुले भने एकल अन्तरराष्ट्रिय केन्द्रलाई सिद्धान्ततः स्वीकार गर्दे आइरहेको कुरा थियो। विशेषतः दोस्रो विश्व युद्ध पश्चात पूर्वी युरोपका नयाँ स्वाधिन राष्ट्रहरुका लागि सोभियत रुसको सुरक्षा कवजको आवश्यकता रहेको त्यस कालखण्डमा एकल अन्तरराष्ट्रिय केन्द्रको मान्यतामा वार्सा सन्धी जस्ता सामरिक संरचनालाई अन्यथा ठानिएको थिएन। केवल राजनीति र रणनीतिमा मात्र होइन दैनिक शासन प्रशासनमा समेत क्रेमलिनको प्रत्यक्ष भूमिकालाई सहज ठानिन्थ्यो पूर्वी युरोपमा। केवल मार्सल टिटोको नेतृत्वमा रहेको पूर्वी युरोपको अंश युगोस्लाभिया मात्र त्यसमा अपवाद रहे। खु्रश्चोवसंगको माओको विवाद पछि भने स्थितिमा परिवर्तन आए। कम्यूनिष्ट अन्तरराष्ट्रिय केन्द्र त्यस पछि अस्तित्वमा रहेन।

फेरि पनि नेपाली परिपे्रक्षमा कम्यूनिष्टहरु एकातिर रुसी संशोधनवादका पक्षधर र माओका क्रान्तिकारीधारका अनुयायीका रुपमा विभाजित थिए। विशेषतः माओ पक्षधर नेपालका कम्यूनिष्टहरु चिनियाँ कम्यूनिष्ट पार्टीद्वारा ली शाव चिलाई गद्दार भन्दाखेरि उनीहरु पनि त्यसै भन्थे, तङ्ग सिया पिङ्गलाई संशोधनवादी र लिन पियाओलाई महान क्रान्तिकारी भन्दा त्यसरी नै अन्तरपार्टी प्रशिक्षण चलाउँथे। माओको नेतृत्वमा संचालित साँस्कृतिक क्रान्तिलाई एक मात्र सही बाटो भएको दावी गर्थे। एक समय यस्तो पनि आयो झापा विद्रोह चल्दै गर्दा सीमा पारि पश्चिम वंगालमा चारु मजुमदार र कानू सन्यालको नेतृत्वमा नक्सलवादी आन्दोलनको दवदवा थियो। अनि त्यही क्रममा बंगाली कामरेडहरु जसरी ‘चीनेर अध्यक्ष अमादेर अध्यक्ष ! चीनेर कम्यूनिष्ट पार्टी अमादेर पार्टी !! अर्थात चीनका अध्यक्ष हाम्रो अध्यक्ष ! चीनको कम्यूनिष्ट पार्टी हाम्रो पार्टी !! सम्म भन्न अघिसरे त्यसरी नै झापाली विद्रोहमा नेतृत्व गरिरहेकाहरुले पनि आफ्नो पार्टी पंक्तिभित्र यीनै कुरा घोकाए। कम्यूनिष्ट राजनीतिभित्रको अन्धानुकरणको यो एक परिच्छेद थियो।

यद्यपि अहिले अन्तर्राष्ट्रिय राजनीतिक स्थिति र नेपालको आन्तरिक अवस्थामा निकै रुपान्तरण भइसकेकोछ। विशेषतः, विश्व राजनीतिक रङ्गमञ्चमा अन्धअनुकरण वर्तमानका लागि स्वीकार्य रहेन। शक्ति राष्ट्रहरुले कुनै निहुँमा वलात् अर्काको भूभागमा केवल आफ्नो अनुकुलता र प्रभावका लागि नीति, सिद्धान्त अन्धानुकरण गराउन खोजिएमा त्यो स्थीर र सफल हुंदैन भन्ने कुरा अनेकन अनुभवले सिद्ध गरिसकेकोछ।

सी विचारधाराको प्रशिक्षणको हालसालैको प्रकरणले कम्यूनिष्ट राजनीतिमा अन्धानुकरणका हिजोका तिक्ततापूर्ण अनुभवले वौद्धिक जगतलाई झकझक्याएको छ। यद्यपि, नेपाल कम्यूनिष्ट पार्टीको नेतृत्वपंक्ति यसलाई अनुभवहरुका आदान प्रदान मात्र हो, त्यो भन्दा पर अरु केही होइन भन्ने र स्पष्टिकरण दिनमा ब्यस्त छन्। आयोजक आफैले प्रशिक्षण भन्दै गरेको र चिनियाँ पक्षले सी विचारधाराको निर्यातको अर्थमा ब्याख्या गर्दै गरेको अवस्थामा नेपाली बौद्धिक समाज यसरी सजग र सचेत देखिएका हुन्। अनि यसमा केही अंश आशंका पनि मिसिनु अस्वभाविक होइन।

‘वेल्ट एण्ड रोड’ प्राचीन रेशम मार्गको नयाँ प्रारुप तथा ‘स्वपनील चीन’को परिकल्पनाकार सी जिङ्ग पिङ्ग चिनियाँ कम्यूनिष्ट पार्टीको नेतृत्वमा दोस्श्रो कार्यकालका लागि मात्र सफल भएका छैनन् पार्टीको निर्देशक सिद्धान्तका ब्याख्याताका रुपमा अध्यक्ष माओ र तङ्ग सिया पिङ्ग समकक्षमा आफुलाई उभ्याउन सफल भएका छन्। त्यही क्रममा अहिले सि विचारधाराको प्रसङ्ग चलेको छ। जग जाहेर छ, सीको नेतृत्वमा चीनभित्र आर्थिक तथा भौतिक प्रगति अनि गरीबीको न्यूनीकरणमा उल्लेख प्रगति गरे। एसिया, मध्यपूर्व, युरोपदेखि अफ्रिकासम्म चीनको कन्कटेभिटि लोभ लाग्दो छ। कुनै समय औपनिवेशिक शोषणका कारण गरीवी र पछौटीपनमा रहेको चीन अहिले विश्वको एक वलियो आर्थिक शक्ति बनेको छ। सैन्य र जनबलमा चीन त्यतिकै मजवूत स्थितिमा छ। सीकै परिकल्पना र योजना अनुसार चीन संभवत अर्को डेढ दशकभित्र एक मध्यमस्तरीय सम्पन्न देश बन्नेछ। जुन वेला गरीवी पूर्णतः उन्मूलन भइसकेको हुनेछ।

चीनले प्राप्त गरेका आर्थिक भौतिक प्रगति, उनको विकास अनि विश्व रङ्गमञ्चमा हासिल गरेका प्रतिष्ष्ठबाट नेपाल जस्तो विकासोन्मुख राष्ट्रले प्रेरणा लिनु पर्दछ, सिक्नु पर्दछ।  के त्यसको अर्थ सि विचारधाराको नेपालीभूमिभित्र आयात वा चीनको अन्धअनुकरण हो ? आखिर चीनबाट हामीले सिक्ने के हो त ?

अर्ध औपनिवेशिक चीनलाई जापनी हस्तक्षेपबाट मुक्त गराए, त्यसका लागि दीर्घकालीन गृह युद्ध गरे। माओले नेतृत्व गरेको त्यो राष्ट्रिय स्वाधिनताको आन्दोलनको आधार चिनियाँ कम्यूनिष्ट पार्टी थियो, निर्दिष्ट सिद्धान्त माक्र्सवाद लेनिनवाद थियो। सीमा पारिको सोभियत रुसको सत्ता त्यसै अनुरुप पे्ररणाको श्रोत वनेको थियो। सोभियत कम्यूनिष्ट पार्टी र तीनका नेता चिनियाँहरुका लागि असल मित्र र आधार थिए। तर पनि अध्यक्ष माओले सोभियत कम्यूनिष्ट पार्टीको नीति, कार्यक्रम र सिद्धान्तको अन्धअनुकरण गरेन। चिनियाँ विशेषता, राष्ट्रिय आवश्यकता अनुसार चिनियाँ जनवादी क्रान्तिलाई मौलिक स्वरुप दिए, चिनियाँ आर्थिक विकासका क्रममा पनि राष्ट्रिय संस्कृति र इतिहासलाई मुख्य आधार बनाए। माक्र्सवाद–लेनिनवाद तथा अन्तरराष्ट्रिय अनुभव एउटा पाटो रह्यो भने अर्को पाटो चिनिया समाज विकासक्रम र विशिष्ट सभ्यताको लामो अनुभवलाई राष्ट्रिय पहिचानको अर्थमा समायोजन गर्दै अगाडि बढन् सफल भए।

माओदेखि तेङ्गसम्म अनि डा.सनयात सेनदेखि सी जिङ्ग पेङ्गसम्मको चिनिया नेतृत्वको विशेषता भनेको आफ्नो देसमा हजारौं बर्षदेखि स्थापित सामाजिक मूल्य–मान्यताको अनुसरण हो। तीनलाई नै निर्देशक सिद्धान्तका रुपमा रुपान्तरण गर्ने सक्ने क्षमता हो। माओ यद्यपि मूलतः माक्र्सवादी थिए तर चिनिया सामाजिक परिपे्रक्षमा ब्यवहारिक रुपान्तरणको क्रममा उनले ईसापूर्व दोस्श्रो शताव्दिका कन्फ्यूसिसका सूत्रहरुलाई कहिल्यै विर्सेन।  तङ्ग सियाव पिङ्गले आर्थिक सुधारको पहल गर्दा छैठौं शताव्दिका महान दार्शनिक लाओत्सेका ८१ बुंदे ताओ त चिङ्ग (मार्ग तथा सदगुण)ले देखाएको आदर्शलाई गुरु मन्त्र माने। सी जिङ्ग पिङ्गकै वेल्ट एण्ड रोड अहिले हामीलाई नविनतम सोच जस्तो लागि रहेको छ, तर यो पनि ईसा पूर्व २०६ तिर हान वंशका सेनापति चाङ्गछ्यानले शुरु गरेको पश्चिमतिरको महान अभियानको वर्तमान पदचाप हो, नयाँ संस्करण हो। पूर्खाले स्थापित संस्कार, सभ्यता तथा मूल्य मान्यतामा गर्व गर्ने र त्यसलाई युगानुकुल अनुशिलन गर्ने चिनियाँ नेतृत्वको जुन खुवी र शैली छ, त्यसैले चीनलाई आजको अवस्थासम्म पु¥याएको हो। चिनियाँहरु स्थापित राष्ट्रिय मूल्य, मान्यता र पहिचान ठम्याउन सक्छन् अनि त्यसलाई समाज र समयको आवश्यता अनुसार अनुवाद गर्न पनि सक्षम छन्। पूर्खा प्रति अनुग्रहित हुने र उनीहरुले स्थापित मूल्य मान्यतालाई मार्ग दर्शन ठान्ने परिपक्कताले नै चीनको राष्ट्रियता दरिलो छ। अनि त्यसले आज  आश्चर्यजनक आर्थिक तथा भौतिक विकास  गर्न सकेकोछ। वास्तवमा नेपालका नेतृत्व पंक्तिले चीनबाट सिक्नु पर्ने कुरा यीनै हुन। वैचारिक अन्ध अनुकरण होइन छिमेकी र मित्रहरुको अनुवभ र इतिहासका आधारमा हाम्रै राष्ट्रिय मौलिकता अनुकुल रुपान्तरण आजको आवश्यकता हो।

तर हाम्रा दलीय नेताहरुले सी विचारधाराद्वारा प्रशिक्षित हुंदै गर्दा नेपालको आफ्नै राष्ट्रिय मूल मान्यता तथा गौरवका कुराहरुलाई स्मृतिमा उजागर गरिरहेका छन् त ? प्रश्न यहाँ निर हो। के हुन्  त हाम्रा राष्ट्रिय मूल्य र मान्यता ? कुन दार्शनिक धरातलमा हाम्रा पाइला अघि बढन खोज्दै छन्। ब्यक्ति, समाज, राष्ट्रलाई बुझ्ने हाम्रा साझा अनि मौलिक सोच के हुन ? नेपालकै भावभूमिमा विकसित कुन चिन्तनद्वारा हामी अभिपे्ररित भइरहेका छौं ? माओ, तङ्गसिया पिङ्ग वा सी जिङ्ग पिङ्गले चीनको आफ्नै भूमीभित्र पूर्वज कन्फूसियस, लाओत्से वा चाङ्गछ्यानलाई मार्ग निर्देशक रुपमा भेट्टाए जस्तै के नेपालका राजनीतिक नेतृत्ववर्गले नेपालको इतिहासमा त्यस्ता प्रतिभासंग समागमन गर्न सक्दैन र ? के नेपालको अर्वाचीन, प्राचीन वा आधुनिक इतिहासमा त्यस्ता पात्रहरुका अभाव छन् र ?

राजा जनक जसले प्राचीन मिथिला राज्य मात्र बसालेन जीवनमा भौतिकी उपलब्धी होइन भने एउटा उन्नत खाले मानवीय सोचलाई नै विकास गरे। उनको जीवन दर्शन, मूल्य मान्यताकै आधारमा विद्वान उनलाई विदेह मान्थे। अनि उबाट अभिप्रेरित भएर त्यस वेला कहलिएका दार्शनिक मैत्रयी, गार्गी जस्ता जनकको दरवारमा संधै बौद्धिक मन्थनका लागि झुमिन्थे। के जनकले स्थापित मूल्य मान्यता हाम्रालागि अनुकरणिय बन्न सक्दैन र ?

सिद्धार्थ गौत्तम कपिलवस्तुका राजकुमार जो पछि तथागत बुद्धत्व प्राप्त गरे। बौद्ध दर्शनकै रुपमा एउटा नयाँ मूल्य मान्यता स्थापना गरे। ‘वहुजन हितायः, वहुजन सुखाय’ के यस प्रति हामी अपनत्व प्रकट गर्न सक्दैनौ र ? करुणा, मुद्दिता, अहिंसाका कुरा त छंदै छ, एक नेपाली सन्तती बुद्धले स्थापित पञ्चशिल अनुसरण गर्दै कमसेकम राजनीतिवृतभित्र मिठ्या वचन, पाप कर्म, ब्यभिचार नियन्त्रणका कुरालाई आधारभूत मान्यताको रुपमा स्थापित गराउन सक्दैनौ ?
प्राचीन नेपालमण्डलकै एक आम नागरिक नेपालसंवत्का प्रवर्तक शंखधर साख्वालले जसरी आफ्ना सम्पूर्ण श्रोत, साधन र सम्पत्ति अर्पण गरेर लोकमुक्ति र लोक कल्याणको अभिलाषा देखाए, के त्यो हाम्रो राष्ट्रिय मूल्य र मान्यता बन्न सक्दैन र ?

सी विचारधाराको प्रशिक्षण शिविरबाट निस्केकाहरुले पनि इमान्दारीपूर्वक चीनबाट केही सिक्ने हो राजनीतिक अन्धअनुकरणको उत्ताउलोपनामा अलमलिनु छैन।  चिनियाँ नेतृत्वले जस्तेै सवभन्दा पहिले नेपालकै आफ्ना गौरव गाथा, राष्ट्रिय मौलिकता र मूल्य मान्यता अनुसरण गर्न सिक्नु पर्दछ।

प्रकाशित: १० आश्विन २०७६ ०२:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App