coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

ढुक्क भएर लगानी गर्नुस् : दाहाल

बुटवल – नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नेपालमा लगानीमैत्री वातावरण निर्माण भएकाले ढुक्क भएर लगानी गर्न लगानीकर्तालाई आह्वान गरेका छन्।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको लगानी सम्मेलनको बिहीबार उद्घाटन गर्दै उनले लगानीको सुरक्षा र प्रतिफल प्राप्तिको स्वतन्त्रतालाई ग्यारेन्टी गरिने बताए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले सरकार र आफ्नो पार्टी लगानीमैत्री वातावणका लागि  नीतिगत सुधार, उपयुक्त ऐन, कानुन तथा पूर्वाधार निर्माणलाई गति दिइरहेको दाबी गरे। तिलोत्तमा नगरसँगै, रुपन्दहेही जिल्ला तथा प्रदेश ५ ले देशमै सबैभन्दा धेरै लगानीको सम्भावना बोकेको उनले बताए। ‘यहाँ विश्वले चिनेको बुद्ध जन्मस्थल लुम्बिनी र अन्य बुद्धस्थल छन्। पुरानो व्यापारीक नाका छ, दाहालले भने, ‘भैरहवामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल, भारत र चीन जोड्ने छोटो दूरीको भुगोल, ६ लेन सडकजस्ता पूर्वाधार छन्। त्यसैले यो लगानीका लागि सुरक्षित क्षेत्र हो।’

तिलोत्तमाले गरेको लगानी सम्मेलनले स्थानीय तहहरु आर्थिक विकासका लागि सही दिसामा लागेका छन् भन्ने सन्देश दिएको उनले बताए। लगानी भित्र्याउन पूर्वाधार विकास अति आवश्यक भएको भन्दै उनले यसका लागि तीनवटै सरकारको समन्वय र सहकार्यमा जोड दिए। लगानी सुरक्षा र उचित प्रतिफल प्राप्तिको अधिकार सुरक्षित गर्न सके विदेशी लगानी सजिलै भित्रने बताए। ‘विदेशीलाई तिम्रो लगानी सुरक्षित छ र त्यसबाट उचित प्रतिफल लिन सक्छौ भन्ने विश्वास दिलाउन सक्यौं भने उनीहरु यहाँ ओइरिएर आउछन्,’ अध्यक्ष दाहालले भने।

उनले दलाल पुँजी नियन्त्रण गर्दै राष्ट्रिय पुँजी प्रवद्र्धनमा आफ्नो पार्टी र सरकारको जोड रहेको बताए। निजी क्षेत्रलाइ निचोरेर खानुपर्छ भन्ने राणा र पञ्चायती शासकको जस्तो सोच लोकतान्त्रिक सरकारको हुन नहुँने उनको भनाइ छ। सरकार गठन भएको छोटो समयमै धेरै उपलब्धी हासिल गरेको दाबी गर्दै उनले केही भएन, बर्बादै भयो भनेर नकारात्मक सन्देश नफैलाउनसमेत आग्रह गरे। नकारात्मक टीका टिप्पणीले संघीय प्रणालीलाई धरापमा पार्ने भन्दै उनले यो प्रणाली असफल भए सबैभन्दा ठूलो अपजस आफूमाथि आइलाग्ने आशंका व्यक्त गरे।

‘स्थानीय तह र प्रदेशले राम्रो काम गरेनन् भने त्यतिबेला सबैभन्दा ठूलो चिन्ता मलाई हुन्छ। सबैले राम्रो काम गरेर व्यवस्था सफल भए त्यसको जस सबैमा जान्छ,’ उनने भने, ‘तर, सबैले गलत गर्दै गएर शासन व्यवस्थामाथि नै खतरा भयो भने त त्यसको पहिलो आरोप मैमाथि आउछ।’ राजनीतिक घोषणाले मात्रै परिवर्तन नआउने भन्दै उनले सरकार, जनप्रतिनिधि तथा राजनीतिक दलका नेताहरुको शैली र संस्कार भने बदलिनु पर्नेमा जोड दिए।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश ५ ले राजनीतिक सहमती र सहकार्यमै संघियता कार्यान्वनय र विकासमा फड्को मारिरहेको दाबी गरे। प्रदेशको आर्थिक वृद्धिदर र बजेट खर्चसँगै पूर्वाधार विकासमा उल्लेखनीय प्रगति गरिरहेको भन्दै उनले ढुक्क भएर लगानी गर्न लगानीकर्तालाई आह्वान गरे। वित्तीय, राजनीतिक तथा पूर्वाधारका हिसाबले पनि तिलोत्तमा नगरसहित रुपन्देही तथा सिंगो प्रदेश पर्यटन, औद्योगिक तथा व्यावसायिक लगानीका लागि प्रचूर सम्भावना रहेको बताए। तिलोत्तमाको लगानी सम्मेलनले प्रदेशकै आर्थिक विकासमा उल्लेखनीय योगदान दिने विश्वास व्यक्त गरे।

संघीय सरकारका अर्थमन्त्री युवराज खतिवडाले अर्थतन्त्रका सूचकहरुले नै लगानीको वातावरण बनेको पुष्टि गरिरहेको बताए। स्थानीय तहले  लगानी भित्र्याउँदा भू–उपयोग नीति अवलम्बन गरी व्यावसायिक, औद्योगिक तथा पर्यटकीय योजना बनाउनु पर्नेमा जोड दिए। अर्थमन्त्री खतिवडाले बुटवल, तिलोत्तमा र सिद्धार्थनगरलाई जोडेर मेघासिटी बनाउन सुझाव दिए। नगर विकास कोषलाई नगर विकास निगमका रुपमा अघि बढाउन खोजिएको उनले बताए।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले जनप्रतिनिधि भ्रष्टाचारमा डुबेको आरोप लागिरहेका बेला तिलोत्तमाले गरेको लगानी सम्मेलन अनुकरणीय भएको बताए। उनले बुद्ध जन्मस्थल लुम्बिनी पुग्दा त्यहाँको विकास र प्रवद्र्धनमा कुनै पनि सरकारको ध्यान पुग्न नसकेको वास्तविकता झल्किएको भन्दै लगानी भित्र्याउन देशका पर्यटकीय  सम्पदाको विकास र प्रवद्र्धनमा पनि ध्यान दिनुपर्ने बताए।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघियता आएको डेढ वर्षसम्म पनि केन्द्रिकृत मानसिकता नहट्दा लगानीको वातावरण नबनेको बताए। ऐन कानुन नै संघीयताको पक्षमा नरहेको टिप्पणी मुख्य मन्त्री राउतले गरे। कार्यक्रममा नेपाली कांग्रेस संसदीय दलका नेता बालकृष्ण खाँण, प्रतिनिधि सभाका सांसद बिष्णु पौडेल, घनश्याम भुसाल, छबिलाल बिश्वकर्माले बुद्ध जन्मस्थल लुम्बिनी, दोस्रो ठूलो व्यापारिक नाका बेलहिया, अन्तर्राष्ट्रिय विमानस्थल, सडकजस्ता पूर्वाधारका कारण तिलोत्तमामा गरिने लगानी दिगो र सुरक्षित हुने बताए।

सम्मेलनमा सहभागी सांसदहरुले नगरको विकासका लागि राजनीतिक तवरबाट कुनै बाधा अवरोध नगर्ने प्रतिबद्धता पनि जनाए। उत्पादनमूलक क्षेत्रमा आन्तरिक तथा बाहृय लगानी भित्र्याएर स्थानीय तहमा रोजगारी सिर्जना गर्ने उद्देश्यले लगानी सम्मेलनको आयोजना गरिएको तिलोत्तमाका नगर प्रमुख बाशुदेव घिमिरेले बताए। सम्मेलनमा तत्काल समझदारी गरेर आउने लगानीसँगै अप्रत्यक्ष रुपमा सम्मेलनपछि आउने लगानीलाई सम्मेलनको उपलब्धीका रुपमा हेरिएको उनले बताए।

प्रकाशित: १० आश्विन २०७६ ०२:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App