coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

पेनाल्टीमा युनाइटेड भाग्यमानी

लन्डन – म्यानचेस्टर युनाइटेड रोचडेलेविरुद्ध पेनाल्टी सुटआउटमा भाग्यमानी ठहरिँदाको दिन बुधबार वेस्ट ह्याम लिग कप फुटबलमा अक्सफोर्डसँग पराजित भएको छ। निर्धारित समय युनाइटेडले रोचडेलेसँग १–१ को बराबरीमा सकेपछि पेनाल्टीबाट लिइएको निर्णयमा युनाइटेड ५–३ ले विजयी भएको थियो। वेस्ट ह्याम ४–० ले अक्फोर्डसँग स्तब्ध भएको हो। युनाइटेडले ६८औं मिनेटमा लिएको अग्रतालाई रोचडेलले ७६औं मिनेटमा बराबरीको अवस्थामा ल्याएको थियो। रोचडेलका लागि १६ वर्षीय लुके म्याथेसनले बराबरी गोल फर्काएका थिए। यसअघि युनाइटेडका लागि मासोन ग्रिनउडले ६८औं मिनेटमा गोल गरेर अग्रता दिलाएका थिए।

युनाइटेड घरेलु मैदान ओल्ड ट्राफोर्डमा अधिकांश सयम बल नियन्त्रणमा राखे पनि पाएका राम्रा अवसरलाई सदुपयोग गर्न असफल भएको थियो। झन्डै बाहिरिने संघारमा रहेको युनाइटेडलाई पेनाल्टीमा सफलता मिल्दा चौथो चरणको यात्रा सम्भव भएको हो। पहिले पेनाल्टी प्रहारको अवसर पाएको युनाइटेडका सबै खेलाडीले पेनाल्टी सदुपयोग गरेका थिए। रोचडेलेका लागि जिम्मी केइहानेको प्रहारलाई युनाइटेडका गोलकिपर सर्जियो रोमेरोले बचाउ गरेका थिए। उनले प्रहार गरेको पेनाल्टी टोलीको दोस्रो पेनाल्टी थियो। युनाइटेडको लज्जास्पद बहिर्गमन जोगिँदा प्रशिक्षक ओले गनर सोल्सजायरलाई चौथो चरणमा थप चुनौती थपिएको छ। 

प्रिमियर लिगअन्तर्गत शनिबार वेस्ट ह्यामसँग २–० ले पराजित भएको युनाइटेड प्रिमियर लिग तालिकाको आठौं स्थानमा छ। सम्पन्न ६ खेलमध्ये युनाइटेडले दुई खेलमा जित निकाल्दै ८ अंक बटुलेको छ। ‘अग्रता लिएपछि थप गोलका लागि अवसर खोजिरहेका थियौं। खेलाडीले पनि सोही अनुसार खेलिरहेका थिए,’ प्रशिक्षक सोल्सजायरले भने, ‘यस्तै क्लबसँग हामी रक्षात्मक बन्दै खेल्नु घातक हुन्छ। अगाडि बढेर नै खेल्नुपर्छ। हाम्रो सामान्य तालमेल नमिल्दा बराबरी गोल फर्काउन सफल भयो।’

यस्तै लिग कपअन्तर्गत बुधबारै भएको अर्को खेलमा चेल्सीले चौथो डिभिजनको क्लब ग्रिम्सबीमाथि ७–१ को फराकिलो जित  निकालेको छ। यससँगै प्रशिक्षक फ्रान्क लाम्पार्डले चेल्सीलाई घरेलु मैदानमा पहिलो जित दिलाउन सफल भएका छन्। चेल्सीलाई फराकिलो जित दिलाउन मिचे बात्सुआईले दुई गोल गरे भने रोस बाक्र्ली, पेड्रो रोड्रिगेज, कुर्ट जौमा, रिसी जेम्स र कलुम हड्सनले समान एक गोल गरे। ग्रिम्स्बीका माथ्यु ग्रिनले सान्त्वना गोल फर्काएका थिए। चेल्सीले पहिलो हाफमा ३ तथा दोस्रो हाफमा ४ गोल थपेको थियो।

‘नतिजामा खुसी छ। केही डेब्यु गरेका युवा खेलाडीले उत्कृष्ट खेल देखाए। राम्रो भविष्य देखाएका छन्। सँगै टिम पनि बलियो बन्दै आएको छ,’ प्रशिक्षक लाम्पार्डले भने, ‘घरेलु मैदानमा हात पारेको पहिलो जितले म खुसी छु।’ यस्तै अन्य खेलमा उल्भसले रिडिङलाई पनि पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दा बुर्टोनले बर्नमाउथलाई २–० ले, एस्टन भिल्लाले ब्राइटनलाई ३–१ ले, लिभरपुलले एमके डन्सलाई २–० ले हराउँदै चौथो चरणको यात्रा तय गरेका छन्।

चौथो चरणका खेल अक्टोबर २९ मा हुनेछन्। त्यसका लागि बुधबार राति नै ड्र सार्वजनिक भएको छ। जसअन्र्तगत लिभरपुलले आर्सनलको, चेल्सीले म्यानचेस्टर युनाइटेडको, एभर्टनले वार्टफोडको तथा म्यानचेस्टर सिटीले साउथ ह्याम्पटनको सामना गर्नेछन्।

प्रकाशित: १० आश्विन २०७६ ०१:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App