coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘ट्रम्प–जेलेन्स्की फोन वार्ताको विवरण लुकाउन खोजियो’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

वासिङ्टन – ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपतिबीचको फोन वार्ताको सम्पूर्ण विवरण लुकाउन खोजेको आरोप लगाइएको छ। फोन वार्ताका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीलाई आफ्नो घरेलु राजनीतिक प्रतिद्वन्द्वी जो बाइडनमाथि अनुसन्धान गर्न आग्रह गरेको बताइएको छ।

राष्ट्रपति ट्रम्पविरुद्ध एकजना सुराकीले गरेको नयाँ उजुरीमा ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच भएको फोन वार्ताको विवरण सधैं राखिने कम्प्युटर प्रणालीमा नराखिएको जिकिर गरिएको छ। ट्रम्प र जेलेन्स्कीबीचको फोन वार्ता वर्गीकृत सूचना दिन प्रयोग गर्ने छुट्टै कम्प्युटर प्रणालीमा राखिएको बताइएको छ।

बाइडनलाई पराजित गर्ने आशामा रिपब्लिकन राष्ट्रपति ट्रम्पले विदेशी सहयोग खोजेको र सम्भावित बार्गेनिङ औजारका रूपमा युक्रेनलाई दिइने सैन्य सहायतालाई अघि सारेको आरोप लगाउँदै उनीविरुद्ध पार्टीले औपचारिक महाभियोग जाँचबुझका लागि अघि बढ्ने वरिष्ठ डेमोक्रेट नेत्री न्यान्सी पेलोसीले मंगलबार घोषणा गरेकी थिइन्।

बाइडन सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनका सम्भावित डेमोक्रेट उम्मेदवार हुन्। जेलेन्स्कीसँगको कुराकानीको बेला युक्रेनलाई करिब ४० करोड डलरको सैन्य सहयोग आफू स्वयंले नै रोकेको राष्ट्रपति ट्रम्पले स्वीकार गरेका छन् तर उनले युक्रेनी नेतालाई बाइडनको अनुसन्धान गर्न दबाब दिएको भन्ने विषय भने अस्वीकार गरेका छन्।

यस मुद्दामा राष्ट्रपति ट्रम्पका शीर्ष गुप्तचर अधिकारीले बोलेको कुरालाई अमेरिकी सांसदहरूले सुन्ने कार्यतालिकाकै बीच यस्तो उजुरी सार्वजनिक भएको हो। कार्यवाहक राष्ट्रिय अनुसन्धान निर्देशक जोसेफ मग्वाएरले सुरुमा अमेरिकी संसद्समक्ष उजुरी बाँड्न अस्वीकार गरेका थिए।

राष्ट्रपति ट्रम्पले महाभियोगको कारबाहीलाई एक ‘छलकपट’ र ‘नियतवश लखेट्न खाजेको’ भन्दै उजुरी सार्वजनिक रूपमै जारी भएकोमा आक्रोशपूर्ण ट्विट गरेका छन्।

सांसदले हेरे ट्रम्पविरुद्ध गरिएको उजुरी
अमेरिकी संसद्का सदस्यहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाभियोग लगाउन माग उठ्ने गरी परेको उजुरी पहिलो पटक हेरेका छन्। गुप्तचर विभागसँग सम्बद्ध एक गोप्य सूचनादाताले ट्रम्पले युक्रेनी राष्ट्रपतिसँग गरेको विवादास्पद फोन वार्ताबारे उजुरी गरेका थिए।

ट्रम्पविरुद्ध गरिएको उजुरी कंग्रेसलाई बुधबार हस्तान्तरण गरिएको थियो। डेमोक्रेट तथा रिपब्लिकन सांसदले ट्रम्पविरुद्धको उजुरी विचलित पार्ने खालको भएको बताएका छन्।

‘न्युयोर्क टाइम्स’का अनुसार उजुरी ट्रम्प–जेलेन्स्की फोन वार्ताबारे मात्र नभई ह्वाइट हाउसका कर्मचारीले कसरी दुई नेताबीच टेलिफोन वार्ता रेकर्ड गरे भन्नेबारे पनि छ। सो विषयमा अमेरिकी गुप्तचर विभागका कार्यवाहक निर्देशकले बयान दिन लागेको बेला यो नयाँ घटनाक्रम विकसित भएको हो। गुप्तचरीसम्बन्धी विषय हेर्ने संसदीय समितिमा बिहीबार जोसेफ मग्वाएरले भन्ने कुरालाई ध्यानपूर्वक सुनिनेछ।

विवादास्पद फोन वार्ताबारेको उजुरी अझै गोप्य राखिएको छ। अमेरिकी सिनेटका वरिष्ठतम सदस्य चक सुमरले त्यसलाई सार्वजनिक गर्न माग गरेका छन्। जुलाई २५ मा गरिएको फोनवार्ताको लिखित प्रतिलिपिमा राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई जो बाइडनका छोरा संलग्न भएको दाबी गरिएको एउटा विषयमा भ्रष्टाचारको मुद्दा चलाउन आग्रह गरेका व्यवहोरा देखिन्छ।

युक्रेनसम्बन्धी विषयमा बाइडन बाबुछोराले अनुचित काम गरेको हालसम्म कुनै प्रमाण सार्वजनिक भएको छैन। एउटा ट्विटमा बाइडनले राष्ट्रपति ट्रम्पले ‘शक्ति दुरुपयोग गरेको’ आरोप लगाएका छन्।

महाभियोगसम्बन्धी छानबिन के हुँदैछ ?
ट्रम्पले विदेशी सहयोग लिएर जो बाइडनलाई बदनाम गर्न खोजेको र अमेरिकाले गर्ने वैदेशिक सहयोगलाई आफ्नो मोलतोलको साधन बनाएको आरोप डेमोक्रेटहरुले लगाएका छन्। अमेरिकी संविधानअनुसार ‘देशद्रोह, घुसखोरी वा अन्य ठूला अपराध र मिस्डिमिनर भनिने अलि कम गम्भीर प्रकृतिको अपराधमा’ राष्ट्रपतिलाई महाभियोग लगाउन मिल्छ। संसद्का दुवै सदनबाट महाभियोग पारित भए राष्ट्रपति पदमुक्त हुन्छन्।

जुलाईमा ट्रम्पले युक्रेनलाई दिइने सैन्य सहायता रोकिदिएका थिए। तर उनले युक्रेनलाई दबाव दिन त्यसो नगरेको दाबी गरेका छन्।

कंग्रेसको अनुसन्धान ट्रम्पले राष्ट्रपतीय अधिकार दुरुपयोग गरे वा गरेनन् तथा विदेशी सहयोगमा बाइडनलाई कमजोर पारेर आफू पुनः निर्वाचित हुन खोजेका हुन् वा होइनन् भन्ने विषयमा केन्द्रित हुनेछ।

प्रकाशित: १० आश्विन २०७६ ०१:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App