coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

फ्रान्सको पूर्वराष्ट्रपति ज्याक्स सिराकको निधन

पेरिस – फ्रान्सका पूर्वराष्ट्रपति ज्याक्स सिराकको ८६ वर्षको उमेरमा निधन भएको छ। ‘राष्ट्रपति ज्याक्स सिराकको आफ्नो परिवारका सदस्यहरुकै बीचमा आज बिहान स्वभाविक निधन भएको छ,’ उनका ज्वाइँ फ्रेडेरिक सलात बरोक्सले फ्रान्सेली समाचार एजेन्सी एएफपीसँग बताए।

जीवनको अन्तिम समयमा भ्रष्टाचारको मुद्दा खेपेका पूर्वराष्ट्रपति सिराकले युरोपेली संघको समेत नेतृत्व गरेका थिए। एक राजनीतिक योद्धाका रूपमा फ्रान्सको राजनीतिमा छाएका सिराक सन् १९८१ र १९८८ को राष्ट्रपतीय निर्वाचनमा पराजित भए पनि सन् १९९५ मा एलिसी दरबारको नेतृत्व लिन सफल भएका थिए भने सन् २००२ मा उनी पुनः राष्ट्रपतिमा निर्वाचित भएका थिए।

दुई पटकसम्म फ्रान्सको राष्ट्रपति र प्रधानमन्त्रीका रूपमा काम गरेका सिराकको पहलमा युरोपमा एकल मुद्रा प्रचलनमा ल्याइएका थियो। उनले अमेरिकाद्वारा सन् २००३ मा इराकमा गरेको आक्रमणलाई सशक्त विरोध गरेकोले वासिङ्टनसँगको सम्बन्धमा समेत समस्या आएको थियो।

पूर्वराष्ट्रपति सिराकको निधनप्रति फ्रान्सको राष्ट्रिय सभाले उनको सम्झनामा एक मिनेट मौन धारण समेत गरेको छ।
युरोपेली आयोगका अध्यक्ष एवं लक्जेमबर्गका पूर्वप्रधानमन्त्री जाँ–क्लाउन जन्करले फ्रान्सका पूर्वराष्ट्रपति सिराकको निधनको खबरले आफू ‘स्तब्ध र मर्माहत’ भएको बताएका छन्।

‘युरोपले एक महान् राजनेता गुमाएको मात्रै छैन अध्यक्षले एकजना महान् मित्र पनि गुमाइरहेको छ,’ जन्करले जारी गरेको विज्ञप्ति उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।आफ्ना दिवंगत पूर्ववति राष्ट्रपति सिराकप्रति श्रद्धाञ्जली व्यक्त गर्न वर्तमान फ्रान्सेली राष्ट्रपति म्याक्रोंले बिहीबार स्थानीय समयअनुसार राति ८ बजे टेलिभिजनमार्फत सम्बोधन गर्ने छन्।

फ्रान्सका पूर्वराष्ट्रपति फ्रान्सिस अल्यान्डले पनि दिवंगत पूर्वराष्ट्रपति सिराकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। ‘फ्रान्सेली जनताका जे जस्ता विचार भए पनि उनीहरुले एउटा राम्रा मित्र  गुमाएका छन्,’ पूर्वराष्ट्रपति अल्यान्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

त्यसैगरी फ्रान्सका अर्का पूर्वराष्ट्रपति निकोलस सार्कोजीले पनि सिराकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। ‘मेरो जीवनको एउटा अंश आज लुप्त भएको छ,’ सिराकले फ्रान्सको मान्यतालाई विश्वव्यापी मान्यता बनाउन भूमिका खेलेकोबारे स्मरण गर्दै सार्कोजीले बताएका छन्।

प्रकाशित: १० आश्विन २०७६ ०१:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App