coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

उपरथि शर्माको पदावधि थप

काठमाडौं – सरकारले उपरथि प्रभुराम शर्माको पदावधि १ वर्ष २ महिना १५ दिन थप गरेर उनलाई भावी प्रधानसेनापति बन्ने बाटो खोलिदिएको छ।

उनको पदावधि थपिएपछि रथिद्वय शरद गिरी गौरव तण्डुलको अवकाशपछि उनी रथिमा बढुवा हुने र त्यसपछि प्रधानसेनापति हुने बाटो खुल्नेछ। सुचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले उपरथि शर्माको पदावधि थप गरिएको बिहीबार नियमित पत्रकार सम्मेलनमा जानकारी दिए। मन्त्रिपरिषद् बैठकले मोरङ जिल्ला प्रशासन कार्यालयबाट जारी भएको शम्भुप्रसाद मण्डलको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरेको छ भने चितवनको भरतपुर महागरपालिका वडा नं. १६ को वडाध्यक्षको रिक्त पदपूर्तिका लागि मंसिर १४ गते शनिबार उपनिर्वाचन गर्ने निर्णय गरेको छ।

यसैगरी, सरकारले पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई भारतको चण्डीगढस्थित अस्पतालमा उपचार गराउँदा लागेको उपचार खर्च दिने निर्णय गरेको छ। उपचारसँग सम्बन्धित बिलबमोजिमको रकम नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट भुक्तानी गर्ने निर्णय गरेको हो। त्यसैगरी सरकारले एसिड आक्रमणका घाइते जेनी खड्का र मुस्कान खातुनको उपचार खर्चका लागि जनही तीन लाख रुपैयाँ दिने भएको छ। मन्त्रिपरिषद्को बैठकले नेपाल ट्रस्ट (पहिलो संशोधन) नियमावली, २०७६ स्वीकृत गरेको छ भने नारायणप्रसाद अर्जेल र महासेनानी रामजी थापालाई विदेशी मुलुकबाट पदकग्रहण गर्न स्वीकृति दिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान र इजरायलको हिब्रु लेखक संघबीच वाङ्मय आदानप्रदान तथा सहकार्य गर्नेसम्बन्धी प्रस्तावित समझदारीपत्रमा नेपालको तर्फबाट हस्ताक्षर गर्न नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपतिलाई स्वीकृति दिएको छ।

नेपाल सरकार र अष्ट्रेलिया सरकारबीच हवाई सेवा सम्झौतामा प्रारम्भिक हस्ताक्षर गर्ने निर्णय गरेको छ। यस्तै सहरी पूर्वाधार विकास निगमको स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ। राजकीय अतिथि गृह निर्माण गर्न तयार गरिएको गुरूयोजना स्वीकृत भएको छ भने सूचनाको हक कार्यान्वयनसम्बन्धी अनुगमन निर्देशिका, २०७५ स्वीकृत, एकल महिला सुरक्षा कोष (सञ्चालन) (पहिलो संशोधन) नियमावली, २०७६ पनि स्वीकृत भएको मन्त्री बाँस्कोटाले बताए।

प्रकाशित: १० आश्विन २०७६ ००:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App