८ वैशाख २०८१ शनिबार
राजनीति

अब संविधान संसोधन हुने आशा पलायो : अशोक राई

उदयपुर- संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले एक साताभित्र संविधान संशोधन हुने बताएका छन्। पार्टी कामको सिलसिलामा उदयपुर आइपुगेका राईले बिहीबार गाईघाटमा आयोजित पत्रकार सम्मेलनमा साता दिनभित्र संविधान संशोधन हुने आशा पलाएको बताए।

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनका लागि छलफल अघि बढाइरहेको भन्दै अब साँच्चै संविधान संशोधन हुने आशा पलाएको राईले बताए। 'प्रधानमन्त्रीले जुन ढंगले संशोधनको वातावरण बनाउन लाग्नुभएको छ। त्यसले हामीलाई आशा पलाएको छ,' उनले भने, 'संविधानका त्रुटि कमजोरी हटाउने प्रतिबद्धताका साथ प्रधानमन्त्री संशोधनमा लाग्नुभएको छ। त्यसैले संशोधन हुन्छ भन्ने विश्वास छ।'

नेकपा एमाले संविधान संशोधनको विपक्षमा रहेको भन्दै जसरी संविधान जारी गर्ने बेला सबै राजनीतिक दलहरु एकठाँउमा आएका थिए त्यसरी नै संशोधनका लागि पनि एकै ठाउँ आउनुपर्ने बताए। 'एमालेका नेताहरुमा मनगढन्ते निर्णय गर्ने बानी छ,' एमालेका पूर्व उपाध्यक्षसमेत रहेका राईले भने, 'तर, अन्ततः एमाले नेताहरु संविधान संशोधनको पक्षमा आएर संविधान कार्यन्वयनमा जुट्छन् भन्ने विश्वास छ।'

संशोधनमा एमाले बाधक बन्नु बेकार भएको भन्दै उनले एमाले असहत भए पनि सरकारले संशोधन प्रस्ताव संसदमा ल्याउने तयारी गरिरहेको बताए। संविधानप्रति असन्तुष्ट जातजाति भाषाभाषी, समुदाय, क्षेत्र र लिङ्गलाई समावेश गराउन संशोधनमा एमालेको पनि दायित्व भएको उनको भनाई थियो।

संविधान जारी भएपछि संक्रमणकालको अन्त्य गर्छ भन्ने आशा लिएकोमा थप अन्यौल र समस्या निम्तिएको भन्दै नेता राईले संविधान संशोधन जति छिटो भयो, उति छिटो संक्रमणकाल अन्त्य हुने बताए। उनले विद्यमान ७ प्रदेश बढाएर १० प्रदेश बनाउनुपर्ने, पहिचानसहितको पुनर्संरचना हुनुपर्ने, नेपालका सबै भाषाको अधिकार बराबर हुनुपर्ने आवश्यक्ता औंल्याए। जनचाहना र लोकतान्त्रिक जनआन्दोलनको भावना अनि देशको वस्तुगत परिस्थितिका आधारमा संविधान संशोधन गर्नुपर्ने उनको माग छ।

उनले एमालेले अहिले अंगिकृत नागरिताको नचाहिँदो हल्ला गरेर संविधान संशोधनलाई विषयान्तर गर्न खोजेको आरोप लगाए। अंगीकृत नागरिकलाई उच्च ओहदामा पुर्‍याउने मधेसी दलको माग नभएको प्रष्ट्याए। यो हल्लाको पछाडि संशोधनको बाधक बन्ने एमालेको दाउ भएको आरोप लगाउँदै यस्तो हल्ला एमालेकै लागि घातक हुने बताए।

 

प्रकाशित: ९ मंसिर २०७३ ०६:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App