coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

फरार अभियुक्त धमाधम पक्राउ, एकै दिन १३ जना खोरमा

उदयपुर– विभिन्न आपराधिक गतिबिधिमा संलग्न भई जिल्ला अदालतबाट दोषी करार भए पनि फरार रहेका उदयपुरका दर्जन बढी अभियुक्तलाई प्रहरीले एकैदिन पक्राउ गर्न सफल भएको छ। लागू औषध, वन, जालसाजी, सार्वजनिक अपराध, जुवातास र कुटपिटलगायत अभियोगमा अदालतबाट वर्षौंअघि दोषी सावित भए पनि सजाय भुक्तान नगरी फरार सूचीमा रहेका १३ जनालाई २४ घण्टाभित्र पक्राउ गरी अदालतको जिम्मा लगाएको उदयपुर प्रहरीले जनाएको छ।

बुधबार रातिदेखि बिहीबार साँझसम्म पक्राउ पर्नेमा सबभन्दा बढी जुवातास खेलेको अभियोगमा जरिवाना तोकिएकाहरु ६ जना रहेका छन्। जालसाजीका दोषी २ जना, ज्यान मास्ने बेच्ने १ तथा कुटपिट र वन मुद्दाका दोषी १÷१ जना रहेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए। उनका अनुसार पक्राउ पर्नेमा त्रियुगा ६ का ३३ वर्षीय तिलकबहादुर खपाङगी वन मुद्दामा ०७१ कात्तिक ९ गतेको फैसला अनुसार १७ हजार जरिवानाका भागीदार हुन्। 

त्यस्तै जुवातास खेलेको अभियोगमा अदालतले दोषी करार गरी जनही २ सय रुपैंया जरिवाना तोकेकाहरु त्रियुगा नगरपालिका ८ का ३४ वर्षीय राजकुमार राउत, सोही ठाउँका ३६ वर्षीय होमराज दनुवार, ३७ वर्षीय शेखरनाथ पोखरेल, ३८ वर्षीय सन्तोष खड्का, ३६ वर्षीय देवराज कार्की र ३६ वर्षीय नरेन्द्रकुमार सार्की रहेका छन् । उनीहरुलाई ०७२ चैत २१ गतेको इजालसले दोषी करार गर्दै सजायको भागीदार बनाएको एसपी मगरले बताए। 

त्यसैगरी अर्का पक्राउ त्रियुगा ६ का २४ वर्षीय मनोजकुमार सदा लागू औषध अपराधमा दोषी ठहर भएका हुन्। उनलाई २ हजार जरिवानाको फैसला अदालतले सुनाएको छ। उनी ०७२ जेठ १ गतेको अदालती फैसला बमोजिम दोषी करार भएका हुन्। त्रियुगा १० का २० वर्षीय अबिलाश राई सार्बजनिक अपराधमा २०७३ साउन ९ गते अदालतबाट दोषी ठहर भई २ हजार जरिवानाको फैसलाका भागीदार भएको बताइएको छ।

त्रियुगा १० कै ४२ वर्षीय सुशान्त खिलुङगे जालसाजी मुद्धामा ०६८ भदौ ५ गतेको फैसलाबाट २ सय ७७ रुपैया ८८ पैसा जरिवानाको भागीदार रही फरार थिए भने जालसाजी मुद्दामै त्यत्ति नै जरिवानाको भागिदार भएका त्रियुगा १० का ५५ वर्षीय मानबहादुर सार्की पनि ०६८ भदौ ५ गतेको फैसलाका दोषी हुन्। 

२०६२ चैत १४ गते जिल्ला अदालतले ५० रुपैंया जरिवाना तोक्ने गरी फैसला गरेको ज्यान मास्ने बेच्ने अभियुक्त त्रियुगा ६ का ५८ वर्षीय घमानसिंह राउतलाई पनि प्रहरीले सोही जेरमा पक्राउ गरेको जनाएको छ। त्यस्तै कुटपिटको अभियोगमा अदालतले ०७१ जेठ १४ गते ६ सय जरिवाना तोके पनि भाग्न सफल त्रियुगा ६ कै ३२ वर्षीय कपिल चौधरी पनि बिहीबारै पक्राउ परेको एसपी मगरले बताए। पक्राउ सबैलाई बिहीबारै जिल्ला अदालतमा बुझाएर सजाय भुक्तानीको व्यवस्था मिलाउन प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। 

प्रकाशित: ९ आश्विन २०७६ १५:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App